लमही- दाङको लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ। यस क्षेत्रमा सर्पदंशका घटना धेरै हुने भएपनि उपचारका लागि जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा धेरैको मृत्यु हुने गरेको भन्दै लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न लागिएको हो।
देउखुरी उद्योग वाणिज्य सङ्घको पहलमा बसेको बैठकले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी पुसबाट केन्द्र निर्माण शुरु गरिने निर्णय भएको सङ्घका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिए।
सर्पदंश उपचार केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षमा लमही नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ। त्यस्तै केन्द्र स्थापनाका लागि देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवबाट रु पाँच लाख ९५ हजार सङ्कलन भएको सङ्घका अध्यक्ष श्रेष्ठले बताए।
प्रदेशसभा सदस्य रेवतीरमण शर्माले सर्पले डसेपनि तत्काल उपचार पाएपछि बिरामीलाई सञ्चो हुने भन्दै लमहीमा सर्पदंश उपचार केन्द्र आवश्यक रहेको बताए। केन्द्र स्थापनाका लागि प्रदेशबाट समेत पहल थाल्ने प्रतिबद्धता जनाए।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले केन्द्र स्थापनाका लागि लमहीमा केन्द्र स्थापनाका लागि लामो समयदेखि कसरत थालिएको छ। लमहीमा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई गोरुसिङ्गे तथा बाँके लैजानुपर्ने अवस्था छ। अधिकांश बिरामीको त्यसतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु हुने गरेको छ। रासस