धरान– नेपालभरका मेडिकल विद्यार्थीहरुबीच मित्रता र अनुभव आदान प्रदान र प्रतिभा पहिचान गर्ने उद्देश्यले बीपी प्रतिष्ठानका विद्यार्थीले आयोजना गर्दै आएको कार्यक्रम ‘साईन्याप्स’ यसपटक मंसीर २९ बाट हुने भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंसीर २९ देखि पुस ७ सम्म चल्ने ‘साईन्याप्स २०१८’ खेलकुद, साहित्यिक र सांस्कृतिक कार्यक्रम हुने छन्। सन् २००६ देखि सुरु भएको साईन्याप्समा देशभरका मेडिकल विद्यार्थीहरु सहभागी हुने र विभिन्न कार्यक्रममा प्रतिष्पर्धा गर्ने गरेका छन्।
यसपटक साईन्याप्समा खेलकुद तर्फ फुटबल, क्रिकेट, बास्केटबल, भलिबल, टेबल टेनिस, फुटसल, क्रिक्सल, चेस, एथ्लेटिक्स र मोबाईल तथा कम्प्युटर गेमहरुको प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।
त्यसैगरी साहित्यिक कार्यक्रम तर्फ क्विज, निबन्ध लेखन, फोटोग्राफी, पेन्टिङ, सर्ट स्टोरी लेखन, वादविवाद, हिज्जे प्रतियोगीता, वक्तृत्वकला, पुस्तक समिक्षा लेखन र स्ल्याम कविताका प्रतियोगीता हुने छन्।
त्यस्तै हरेक दिन सांस्कृति तथा सांगीतिक कार्यक्रम हुनेछन्। कार्यक्रमको सातौं दिन सांस्कृतिक साँझ, ब्यान्ड ब्याट्ल, नृत्य र गायन प्रतिष्पर्धा तथा फेशन शो हुनेछन् भने आठौं दिन गायक सविन राईको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
प्रायः पढाईमा व्यस्त रहने मेडिकल विद्यार्थीहरुलाई मनोरञ्जन, साहित्य र खेल क्षेत्रमा सक्रिय गराएर उनीहरुमा भएको प्रतिभा प्रदर्शन गर्न र उनीहरुलाई किताबी संसारबाट केही समय टाढा लैजान साईन्याप्स सफल भएको आयोजक समितिका अध्यक्ष राजन सिंहले बताए।
