धनगढी- प्रतिजैविक (एन्टिवायोटिक) प्रयोगबारे सचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन्। एन्टिवायोटिक औषधिको प्रतिरोधात्मक क्षमताले काम गर्न छोडेपछि आम नागरिकमा यसबारेमा सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको उनीहरुले बताएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा सोमबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले भनिन् ‘मासुदेखि खाद्यान्नसम्म एन्टिवायोटिकको प्रयोग हुन थालेपछि अहिले रोग निको पार्न बनाईएका औषधीहरुले पनि काम गर्न छोडेको छ।’ उनले औषधि चिकित्सकको राय सल्लाह अनुसारनै सेवन गर्नुपर्छ भन्नेबारे जनचेतना फैलाउनुपर्ने बताईन्।
उनले औषधि पसलबाट आफूखुसी मनलाग्दी औषधि खरिद गरेर सेवन गर्न नहुने बताइन्।
कैलाली स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईंले भने ‘औषधि चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्छ भन्ने आम नागरिकलाई जानकारी भएपनि व्यवहारमा लागु गर्दैनन्।’ उनले यस विषयमा सबै पक्ष सावधान हुन जरुरी रहेको बताए।
क्षेत्रीय पशु स्वास्थ्य तालिम केन्द्रका पशु चिकित्सक केशवदत्त पाण्डेले सबैभन्दा बढी पोल्ट्री फर्ममामा एन्टिवायोटिकको प्रयोग भइरहेको बताए। ‘किसानले कुखुराको तौल बढाउन एन्टिबायोटिकको प्रयोग गरिरहेका छन्’ उनले भने, 'यसले मानव स्वास्थ्यमा गम्भिर असर गरिरहेको छ।' उनले अहिले देशमा तीन तहको सरकार भएकाले स्थानीय तहले यस्ता कुराको नियन्त्रण र अनुगमनमा जोड दिनुपर्ने सुझाव दिए।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका शिक्षा स्वास्थ्य प्रशासक डाक्टर भक्तबहादुर केसीले विश्वभर अहिले वर्षभरी सात लाख जनाको औषधिले काम नगरेका कारण मृत्यु भइरहेको तथ्यांक रहेको जानकारी दिए।
उनका अनुसार सन् २०५० मा यस्तै अवस्था रहेमा विश्वभरी प्रति वर्ष एक करोडको औषधिले काम नगरेका कारण मृत्यु हुने अनुमान रहेको जानकारी दिए।