गौशाला- एक महिनादेखि गायब भएका कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख (स्वास्थ्य सहायक) एचए चन्दनकुमार साह कार्यालयमा हाजिर भएका छन्। गत ५ गते साह विगत २० दिनदेखि अचानक गायब रहेको समाचार आएपछि उनी कार्यालयमा हाजिर भएका हुन्।
स्वास्थ्य प्रमुख साह २० दिनसम्म स्वास्थ्य चौकीमा नआएको तथा उनी कहाँ कुन अवस्थामा रहेको बारेमा कसैलाई कुनै जानकारी नगराएको बताउँदै सो वडाका वडाध्यक्ष शेराजुद्दिन अन्सारीले जानकारी गराएपछि एक साताअघि समचार प्रकाशित भएको थियो। सो समाचारकै प्रभावले स्वास्थ्य सहायक साह हाजिर भएको अन्सारीले बताए।
स्वास्थ्य सहायक साहले आफू मौखिक रुपमा स्वास्थ्य संयोजक श्यामदेव महासेठलाई जानकारी गराएर अचानक घरायसी कामकाजको सिलसिलामा कार्यालय छोडेर जानु परेको बताए। तर लिखित रुपमा बिदा वा अन्य कुनै कुरा कसैलाई भन्न नसक्दा वडाध्यक्ष तथा आफ्नै साथीहरुले पनि आफू गायब भएको सञ्चारकर्मीलाई बताएको उनले स्पष्ट पारे।
स्वास्थ्य सहायक साहले आफू समाचार प्रकाशित भएपछि तत्काल कार्यालयका लागि हिँडिहालेको र अहिले आफू कार्यालयमा नियमित रहेको बताए। दैनिक ७०/८० जना बिरामी उपचारका लागि आउने गरेका त्यस स्वास्थ्य चौकीमा स्वास्थ्य प्रमुख साह गायब रहेको अवस्थामा उपचार सेवा प्रभावित भएको थियो।
साथै स्वास्थ्य प्रमुख साहको अनुपस्थितिले गर्दा त्यस स्वास्थ्य चौकीमा अन्य कर्मचारीहरु पनि नियमित नआउने र औषधिसहित बिरामीका लागि चाहिने अन्य आवश्यक वस्तुको अभावको अवस्था समेत सृजना भएकाले बिरामीहरुलाई निक्कै सास्ती व्यहोर्नुपरेको वडाध्यक्ष अन्सारीले बताए।
स्वास्थ्य प्रमुख साहको अनुपस्थितिमा त्यस स्वास्थ्य चौकीमा बिरामीको चेकजाँच भएको थिएन भने त्यहाँ कार्यरत अनमीहरुले रोगको लक्षणको आधार र अन्दाजकै भरमा औषधि दिने गरेका थिए। रासस