काठमाडौं– लुम्बिनीका धर्मेन्द्र पलले तिहारका बेला आफ्नै मोटरसाइकल सफा गर्ने क्रममा चेनले औंला चुडिन पुग्यो। बिहान करिब १० बजे बायाँ हातको दुईवटा औंला चुडिएका पल काठमाडौं आइपुग्दा झण्डै ४ बजेर ३० मिनेट भएकोे थियो।
डा. ज्योति रायमाझी र डा. संगम रायमाझीको नेतृत्वमा सोही दिन ५ बजे शुरु भएको शल्यक्रिया राति १ बजे अर्थात् अर्कोदिन सम्पन्न भएको थियो। डा रायमाझी भन्छन्, ‘औंलाको शल्यक्रिया आफंैमा जटिल हुन्छ । धर्मेन्द्र पलको औंलाको चोट र शल्यक्रिया नेपालको हकमा जटिल नै हो।’
८ घण्टा लगाएर जोडिएको औंलाको हड्डीलाई के–वायरले जोडिएको र दुइटा डिजिटल आर्टरी, दुइटै डिजिटल भेन र दुईटा डिजिटल नशा मर्मत गरिएको हो। औला चुडिएपछि उनी एक साता अस्पताल भर्ना भएका थिए।
यसअघि ५ महिना अघि पाटन औद्योगीक क्षेत्रभित्र काम गर्ने क्रममा औंला चुडिएर ‘फिंगर रिप्लान्ट’ गरिएकी महिला अहिले कलम समाएर लेख्न सक्ने भइसकेको उनी बताउँछन्।