काठमाडौं– राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले मानसिक स्वास्थ्य सेवालाई सहज बनाउन सरकारसँग माग गरेको छ।
संगठनले मानसिक स्वास्थ्य सेवालाई सरकारको विद्यमान स्वास्थ्य सेवा भित्र समावेश गर्न ढिलाइ नगर्न पनि सरकारसँग आग्रह गरेको छ। विश्व अपांगता दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संगठनका कार्यकारी निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्य सेवालाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराए।
उनले मानसिक रोगीहरुलाई सामाजिक सुरक्षा दिन नसकेको भन्दै सरकारको चर्को आलोचनासमेत गरे।
संगठनले समयमै उपचार नपाएका कारण मनोरोगीहरुले आत्महत्या गर्न पुगेको निष्कर्षसमेत निकालेको छ। संगठनका कार्यकारी निर्देशक देवकोटाले मानसिक स्वास्थ्य समस्या हल गर्दै जान सबै तहको सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।
नेपालमा हाल २० लाख मानिसहरु मानसिक रोगको शिकार भएको संगठनको दाबी छ।