चितवन- चितवनको ग्रामिण भेग माडीमा निःशुल्क मुटु रोग विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन भएको छ। शिविरबाट ७ सय ६५ जना लाभान्वित भएका छन्।
चितवन मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको मनमोहन काडियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, जयन्ती मेमोरियल ट्रष्ट र माडी नगरपालिकाको संयुक्त आयोजनामा शिविर आयोजना गरिएको थियो।
शिविरमा मुटुसगैँ जनरल मेडिसिन, जनरल सर्जरी, हाडजोर्नी तथा नासा रोग, बालरोग, स्त्री तथा प्रसुती, नाक, कान तथा घाँटी रोग, छाला रोग, मनोरोगसगैँ भिडियो एक्स रे र मुटुको ईसिजि सेवा समेत निःशुल्क गरिएको चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अप्रेशन म्यानेजर पारस अधिकारीले जानकारी दिए ।
शिविरमा डा भगवान कोइराला, डा ज्योतेन्द्र शर्मा, चितवन मेडिकल कलेजका डा दयाराम लम्सालसहितका दुई दर्जनभन्दा बढी चिकित्सकले बिरामीको जाँच गरेका थिए।