चिप्लेढुङ्गा– पोखरा महानगरपालिकाले किशोरीको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएको छ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला अधिकारको कुरा चलिरहँदा प्रजनन स्वास्थ्य अधिकारलाई जोड दिँदै महानगरका प्रवक्ता एवम् वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएका हुन्।
वडाको शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा वडा नम्बर ५ का सम्पूर्ण शैक्षिक संस्थालाई पहिलो सेनिटरी प्याडयुक्त घोषणा गरिएको छ।
प्रवक्ता नेपालीले रजस्वला, किशोरीको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले महानगरले अब सबै वडामा सेनिटरी प्याडयुक्त शैक्षिक संस्था बनाउन पहल गर्ने बताए। उनले भने, ‘यो देख्दा सानो होला यद्यपि यसले किशोरीको स्वास्थ्य र मनोविज्ञानमा ठूलो असर पारेको छ, किशोरीको पढाइमा समेत असर पुर्याउने संवेदनशील विषय भएकाले सेनिटरी प्याड व्यवस्थापनमा महानगरले ध्यान दिनेछ।’
उनले वडाले ३० हजार रकम विनियोजित गरी वडा नम्बर ५ का सम्पूर्ण शैक्षिक संस्थाका स्नानगृह र शौचालयमा सेनिटरी प्याड बक्स राखिने बताए।
सामाजिक अभियन्ता सुष्मा पौडेलले महानगरलाई निःशुल्क रुपमा शौचालयमा प्याड व्यवस्थापन गर्न अनुरोध गरेकी थिइन्। उनले सफा शौचालय तथा स्वच्छ खानेपानीको व्यवस्थापनमा विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिइन्।
वडा नम्बर ५ कै सदस्य एवम् सामाजिक अभियन्ता अञ्जु केसीले यस वडा सेनिटरी प्याडयुक्त गर्ने पहिलो वडा भएको दाबी गरिन्।