काठमाडौं—नेपाल नेत्र ज्योति संघले पाँच लाख बालबालिकाको आँखा जाँच गरी आवश्यक पर्ने चस्मा वितरण र विशेष उपचार गर्ने भएको छ । आगामी तीन वर्षमा विद्यालय जाने बालबालिकाको आँखा जाँच गरिनेछ।
संघले बालबालिकामा हुने दृष्टिदोष कार्यक्रम (रिच) नमूना जिल्लाका रुपमा सुनसरी र झापामा शुभारम्भ गरेको छ । ती जिल्लामा सम्पूर्ण विद्यालय जाने बालबालिकाको आखाँ जाँच गरी आवश्यक उपचारबाट अन्धोपन हुने जोखिमबाट जोगाउन सहयोग गरिने छ।
अर्विस इन्टरनेशनलको सहयोगमा सञ्चालन भएको कार्यक्रमले बालबालिकाको समयमै आखाँ जाच र उपचार गरी अन्धोपन हुनबाट जोगाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको सोमबार शुभारम्भ गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बाल अन्धोपन निवारणमा कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।
उनले भने, ‘नेपालको स्वास्थ्य सेवा र गुणस्तर अपेक्षाकृत छैन तर आखाँ स्वास्थ्यको क्षेत्रमा भने हामीले राम्रो सेवा दिएका छौँ।’
अन्य रोगको उपचारका लागि भारतलगायतका अस्पतालमा धाउनु परेपनि आँखा स्वास्थ्यका लागि बाहिरी देशका नागरिकलाई पनि उल्लेख्य रुपमा सेवा दिनुसक्नु गर्वको विषय भएको उनले बताए।
उनले सरकारले स्वास्थ्य सेवालाई सबै नागरिकसम्म पु¥याउन स्वास्थ्य बीमा ल्याएको भन्दै स्वास्थ्य बीमा सफल भएमात्र विपन्न नागरिकले समेत गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच राख्ने धारणा राखे।
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा सुशिल प्याकुरेलले बालबालिका हुने अन्धोपनका अन्य कारणहरु बारेपनि उपचार र सेवा बढाउनुपर्ने बताए।
उनले भने, ‘पछिल्लो समय बढ्दो प्रविधि र उपकरणले बालबालिकाको आँखामा असर परिरहेको छ । जसले मायोपियाको समस्या बढाएको छ, यसबारे पनि अभिभावक, शिक्षक सबैले सोच्नुपर्छ।’
नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले बालबालिकाको आँखाको जाँच गरी उनीहरुलाई आवश्यक पर्ने सबै खाले उपचार गर्ने बताए । उनले भने, ‘नमूना जिल्लाका रुपमा सुनसरीको विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पताल झापाबाट यो सेवा दिइनेछ।’
अर्विस इन्टरनेशनलका निर्देशक डा राहुल अलीले बालबालिकाको दृष्टिमा समस्या भएमा उनीहरुले कक्षामा सिकाइएका विषयमा पनि ध्यान दिन नसक्ने हुँदा वृत्तिविकासमा समस्या आउने बताए।
‘प्रत्येक बालबालिकाको लागि गुणस्तरीय आँखा जाँच, हेरचाह र शिक्षा पाउनु उनीहरुको मौलिक हक हुन् । यो हक उनीहरुलाई उपलब्ध गराउनु हाम्रो कर्तव्य हो,’ उनले भने।
अर्विस इन्टरनेशनलले सन् २०१६ देखि सञ्चालनमा छन् । अहिलेसम्म विद्यालय जाने उमेर समुहका ४० लाख बालबालिका लाभान्वित भएसइसको डा अलीले बताए।
नेपालमा बालबालिकासम्बन्धी बाल नेत्र विशेषज्ञ उत्पादन, तालिम, आँखा अस्पतालमा बाल नेत्र विभाग स्थापनालगायतका क्षेत्रमा अर्विसले गर्दै आएको छ।