रुपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ दल्कामा सहरी स्वास्थ्य केन्द्र भवनको शिलन्यास गरिएको छ। सात कोठा रहने एक तले उक्त भवन ८५ लाख रुपैयाँको लागतमा बन्ने जनाइएको छ।
भवनको एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव घिमिरेले शिलन्यास गरेका हुन्।
आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको सो भवन निर्माणको ठेक्का कृष्ण निर्माण सेवाले पाएको छ।
भवन निर्माणपछि सामान्य चिकित्सा सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, खोप तथा पोषण सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ।
२०७४ असोजदेखि वडा नं. ७ भलबारीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ। झण्डै सात कठ्ठा क्षेत्रफलमा स्वास्थ्य केन्द्र निर्माणको काम अघि बढेको हो। शिलन्यास कार्यक्रममा नगर प्रमुख घिमिरेले भवन निर्माणपछि स्थानीय बासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सकिने विश्वास व्यक्त गरे।
वडाध्यक्ष दुर्गा प्रसाद पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख जागेश्वरी चौधरी, जिल्ला समन्वय समिति सदस्य जमुना लम्साल, नगर प्रवक्ता सुरेन्द्र श्री, राजेन्द्र सुवेदी स्वास्थ्य इकाई प्रमुख काशिनाथ बञ्जाडेलगायतले बोलेका थिए।