काठमाडौं - यतिखेर ललितपुरको पुल्चोकस्थित मोक्ष रेष्टुरेण्टमा क्यान्सरसँग सङ्घर्ष गरी निको भएका २२ महिला र पाँच पुरुष र्याम्प शोको तयारी गरिराखेका भेटिन्छन्। उनीहरुको अनुहारमा गजबको चमक देखिन्छ, साँच्चै लडाइँ जितेर आएका वीरयोद्धा जस्तो।
हाउभाउ, स्वस्थ तथा जोशिलो शरीर, दृढ आत्मविश्वास र उज्यालो अनुहार देख्दा कसैले पनि उनीहरुलाई यसअघि क्यान्सर रोग लागेको थियो भनेर कसैले पनि विश्वासै गर्न सक्दैन। यही पुस २७ गते अर्थात् ११ जनवरीमा नेपालमा पहिलोपल्ट आयोजना हुन लागेको सन्देशमूलक ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’ कार्यक्रमका लागि क्यान्सर विजेताहरू कोरियोग्राफर डली गुरुङसँग र्याम्पमा कसरी हिँड्ने भनेर सिक्दैछन्। त्यसो त गुरुङ पनि क्यान्सरलाई जित्न सफल एक दृढ, साहसी र सफल व्यवसायीमात्रै नभई एक ‘मोडल’ पनि हुन्।
मुहारमा चमक र दृढ विश्वास लिएर लिएर ‘र्याम्प वाक’ गरिराखेका २७ जनालाई एकपछि अर्को गर्दै हिँडेको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले अवलोकन गर्दै आएकी छिन्। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोग तथा नेपाल क्यान्सर सर्भाइभर ग्रुपको आयोजनामा ललितपुरकै सानेपास्थित हेरिटेज गार्डेनमा पुस २७ गते आयोजना गर्न लागिएको सन्देशमूलक उक्त ‘र्याम्प शो’मा क्यान्सरलाई जितेर दोस्रो जीवन पाएकाहरुको सहभागिता हुन लागेको हो।
मानिस सडक दुर्घटनादेखि विभिन्न रोग लागेर अकालमै मरिराखेका छन्। झाडापखाला, निमोनिया, जण्डीस, हेपाटाइटिस, एचआइभी एड्स, उच्च रक्तचाप, हृदयाघात, डायबिटिज र मिर्गौला खराबका कारण पनि मरिराखेका छन्। तैपनि सबैले क्यान्सरमात्रै ठूलो रोग हो, यो रोग लागेपछि मानिस बाँच्दैन, उपचारका लागि घरबार नै सिद्धिन्छ भन्ने खालको भ्रम समाजमा व्याप्त छ।
यस्तो भ्रम र गलत धारणा अन्त्य गर्न नेपालमै पहिलोपटक क्यान्सर जितेकाहरुलाई सहभागी गराई सन्देशमूलक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक नेपाल क्यान्सर सर्भाइभर ग्रुपकी सदस्य तथा कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठ बताउँछिन्। 'समयमै उपचार गर्नसके क्यान्सर भनेको ग्याष्ट्रिक, उच्च रक्तचाप, चिनीरोग र अरु साधारण रोगजस्तै साधारण हो', उनी भन्छिन्, 'तर समयमै रोग पत्ता लगाएर उपचार गराउन सकिएन भने मानिस झाडापखाला, साधारण ज्वरो, निमोनिया र रुघाखोकी बिग्रेर पनि मरिराखेको सबैले देखेका छन्।'
'समयमै क्यान्सरको उपचार गरी बाँचेका नेपालमा धेरै छन् तर तिनीहरु आफूलाई कुनै बेला क्यान्सर लागेको थियो भनेर भन्न पनि चाहँदैनन्, जसका कारण अहिलेसम्म क्यान्सर मात्रै ठूलो रोग हो कि भन्ने गलत सन्देश समाजमा गइराखेको छ', कार्यक्रम संयोजक श्रेष्ठ भन्छिन्।
'त्यसैले क्यान्सर निको भएकाहरुलाई अगाडि ल्याएर उनीहरुमार्फत क्यान्सर अरुजस्तै सामान्य रोग हो, नियमित उपचार गरे क्यान्सर निको हुने मात्रै हैन, क्यान्सरपछि पनि जीवन छ भनेर हामीले सन्देश फैलाउन खोजेका हौँ', उनी जोड दिन्छिन्।
क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन भनेर सन्देश दिनु नै यो शोको मुख्य उद्देश्य हो। धेरैले यो रोग निको भइसकेपछि पनि लुकाएर बसेका हुन्छन्। 'जसरी चिनीरोग, उच्च रक्तचाप, ग्याष्ट्रिक, मुटुरोग छ भनेर खुलेर कुरा गरिन्छ त्यसैगरी क्यान्सर छ वा निको भयो भन्नलाई हिच्किचाउनु पर्दैन' भन्न खोजिएको हो ।
‘र्याम्प शो’को तयारीमा जुटेका सहभागीहरु पनि आफूलाई कुनै बेला क्यान्सर लागेको थियो भनेर भन्न हिच्किचाँउनाको साटो खुलेर भन्छन्, 'हो हामीलाई क्यान्सर लागेको थियो निको भइसक्यो।' समाजमा क्यान्सरमात्रै ठूलो रोग हो भन्ने भ्रमका कारण आफूलाई क्यान्सर भएको बेलामा ठूलो पीडा, तनाव र आर्थिक समस्या खेप्नुपरेको अनुभव सुनाउँदै उनीहरू जोड दिन्छन्, 'अबका दिनमा यस्तो गलत धारणा र भ्रमका कारण क्यान्सर लागेका अरु बिरामीले तनाव लिन नपरोस् भन्ने हाम्रो प्रयास हो।'
‘र्याम्प शो’का सहआयोजक रहेको उक्त रिसर्च सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा सुदीप श्रेष्ठ समयमै रोग पत्ता लागेर उपचार भएमा सबै प्रकारका क्यान्सरको उपचार नेपालमै हुने बताउँछन्।
विगतमा जस्तो क्यान्सर रोगको उपचारका लागि कुनै पनि नेपाली विदेश जानु नपर्ने गरी ‘नेपालीको क्यानसर उपचार नेपालमै सम्भव छ’ भन्ने उद्देश्यका साथ सबैथरि क्यान्सरको उपचारका लागि यो अस्पताल सक्रिय रहेको उनी बताउँछन्। रासस