काठमाडौं– पोखराकी २६ वर्षीय एक युवतीको शल्यक्रियामार्फत योनिमार्ग बनाइएको छ। जन्मजात नै योनिमार्ग नभएकी ती युवतीको समस्यालाई ‘मेयर रोकितान्स्की कस्टर हसर सिन्ड्रोम भनिन्छ।
इसान बाल तथा महिला अस्पतालमा उनको ‘भेजाइनल रिप्लेसमेन्ट सर्जरी’ गरी योनिमार्ग बनाइएको हो। चिकित्सकहरुले उनको ठूलो आन्द्राको भाग काटेर योनिमार्ग बनाइदिएका हुन्। योनिमार्ग नै नभएकी ती युवतीको पाठेघर समेत राम्रोसँग विकसित भएको थिएन। उनको शरिरमा विकसित नभएको दुई वटा पाठेघर थिए।
शल्यक्रियाको क्रममा उनको पाठेघर निकालेर फलिएको छ। योनिमार्ग बनाउने शल्यक्रिया गर्न ६ घन्टाभन्दा बढी समय लागेको थियो। उनलाई शल्यक्रियापश्चात ७औं दिनमा डिस्चार्ज गरिएको छ।
चिकित्सकका अनुसार यस किसिमको जटिल शल्यक्रियामा लामो समयसम्म चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ।
इसान बाल तथा महिला अस्पतालमा गरिएको शल्यक्रिया डा. आशा सिंह, प्राडा आरपी चौधरी, डा सुमनबिक्रम अधिकारी र एनेस्थेसिया डा छन्दबहादुर बुढाथोकीको टिमले सफल शल्यक्रिया गरेको हो।
यो सिन्ड्रोम ४ हजारदेखि ५ हजार महिलामध्ये एक जनामा देखिने चिकित्सकहरु बताउँछन्।
१०–१२ वर्षको उमेरमा यो समस्याको पहिचान भएपनि ती युवती अस्पताल गएकी थिइनन्। करिब ३ वर्ष अगाडि उनी अस्पतालमा परामर्श लिन आएको अस्पतालकी स्त्री तथा प्रजनन् रोग विशेषज्ञ डा आशा सिंह बताउँछिन्।
डा आशा भन्छिन्, ‘उनको अल्ट्रासोनोग्राफी, एमआरआई र हर्मोनल परीक्षण गर्दा यौनांग र शारीरिक बनोट महिलाको भएतापनि यति वर्षको उमेरसम्म उनको महिनावारी भएको थिएन। सम्पूर्ण परीक्षणपछि उनलाई दुर्लभ र जटिल स्थिति रहेको पत्ता लाग्यो। त्यसपछि शल्यक्रिया गरिएको हो।'
मेयर रोकितान्स्की कुस्टर होजार सिन्ड्रोम समस्या भनेको आमाको गर्भमा हुँदा १२ देखि १८ हप्ताको बीचमा बच्चाको विकास हुने क्रममा विभिन्न कारणले गर्दा अवरोध हुन गई यौनांगको विकास नहुने समस्या हो।