काठमाडौं – चोटपटक नियन्त्रण तथा उपचारका लागि आवश्यक सार्वजनिक सुरक्षा मापन, नीति र प्राथमिकता सम्बन्धी राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ।
नेपाल इन्जरी रिर्सच सेन्टर ९एनआईआरसी० को सहकार्यमा स्वतन्त्रता अभियान नेपालले राजधानीमा एक दिने गोष्ठी गरेको हो। गोष्ठीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल रेडक्रस, मिरा, काठमाडौँ मेडिकल कलेज, प्याब्सन नेपाल लगायतका संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।
कार्यक्रममा काठमाडौं मेडिकल कलेजका प्राध्यापक तथा एनआईआरसीका निर्देेशक प्रा डा सुनील कुमार जोशीले नेपालमा चोटपटक सम्बन्धिको अवस्था र सो सम्बन्धी नीति नियमका बारेमा विस्तृत प्रस्तुतीकरण गरेका थिए।
उनले प्रस्तुतीकरणमा राष्ट्रिय स्वास्थ नीति २०१४, किशोर स्वास्थ्य रणनीति, एम्बुलेंस सेवा सञ्चालन निर्देशिका, स्वास्थ्य क्षेत्र लिंग एकता र सामाजिक समावेश रणनीति २००९, स्वास्थ्य सेवा, प्रविधि नीति २००६, नेशनल हेल्थ रिसर्च नीति २००३, मौखिक स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्य ऐन, दोस्रो दीर्घकालीन स्वास्थ्य योजना १९९७(२०१७, समावेश शिक्षा नीति, श्रम तथा रोजगार नीति, सवारी साधन र यातायात व्यवस्थापन नियम १९९७ (तेस्रो पटक संशोधित २०१०), नेशनल युवा नीति २००४, श्रम एैन २०१७ र श्रम नियमावली २०१८ मा प्रकाश पारे ।
स्वास्थ्य तथा जनसंख्याको मन्त्रालयको प्रतिनिधित्व गर्दै चुडामणी भण्डारीले नेपाल इन्जरी रिर्सच सेन्टरको चोटपटक रोकथाममा दिएको योगदानको प्रशंसा गरेका थिए। उनले सरकारले चोटपटक रोकथामको लागि चालेका कदम र प्रयासका विषयमा पनि जानकारी दिए।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य विभागका प्रमुख बरुन झाले व्यवसाय स्वास्थ्य तथा सुरक्षाको बारेमा नेपालमा भएका प्रयत्नहरुको बारेमा छलफल गरेका थिए।
शिक्षा मन्त्रालयका उदय खरेलले शिक्षा मन्त्रालयले विद्यालय स्तरमा स्वास्थ्य सुरक्षा लागू गर्ने तयारीमा रहेको जानकारी दिए।