रुपन्देही– रुपन्देही जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ। लुम्बिनीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी देशकै ६१ औं र प्रदेशको ५ औं जिल्लाको रुपमा रुपन्देहीलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो।
प्रदेश नम्बर ५का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा १६ वटै स्थानीय तहका प्रमुख, उप्रमुखको उपस्थिति रहेको थियो।
उनीहरूले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्दै पूर्ण कार्यान्वयनका लागि प्रतिवद्धतासमेत जनाएका छन्।
मन्त्री चौधरीले रुपन्देही जिल्ला भौतिक पूर्वाधारले विकसित जिल्ला भए घोषणमा ढिलाइ भएको बताए। खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिए पनि यसको कार्यान्वयन चुनौतिपूर्ण रहेको मन्त्री चौधरीले बताए। १६ वटै स्थानीय तहलाई कार्यान्वयनमा जोड दिन मन्त्री चौधरीले सुझाव दिए।
जिल्लामा १ लाख ६३ हजार ८ सय ३५ घरधुरीमा शौचालय रहेको जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले जानकारी दिए।
रुपन्देहीमा तिलोत्तामा नगरपालिकाको साविक शंखरनगर गाविस पहिलो खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको थियो।