रुपन्देही- मुलुकभरका जनप्रतिनिधिहरु गाडीमोहका कारण आलोचित भइरहेका बेला मदाने गाउँपालिकाले जनताको स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै दुई वटा एम्बुलेन्स खरिद गरेको छ। गाउँपालिका अध्यक्षको सुविधाका लागि गाडी किन्न छुट्याइएको बजेट २२ लाख ९४ हजार रुपैयाँ लागतमा गाउँपालिकाले दुईवटा एम्बुलेन्स किनेको गाउँपालिकाले जानकारी दिएको छ।
जनतालाई सेवा दिनु पहिलो प्राथमिकता भएको भन्दै गाउँपालिकाले एम्बुलेन्स किनेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए। 'गाउँपालिकाबासीले दुःख पाएकाले एम्बुलेन्स खरिद गरिएको हो' अध्यक्ष केसीले भने।
गाउपालिका अन्तर्गतका ६ वटा वडाका बासिन्दाले एम्बुलेन्स नहुँदा समस्या भोग्नु परेको गुनासो गरेपछि हालै एम्बुलेन्स किनेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए। 'एम्बुलेन्सबाट गाउँपालिकाकै दुर्गम गाउँ अग्लुङसहित बाँझकटेरी, सिर्सेनी, मलागिरी, म्यालपोखरी र भनभने क्षेत्रका स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ। सदरमुकामबाट धेरै टाढाको स्थानीय तह हो हाम्रो गाउँपालिका,' भण्डारीले भने।
विपन्न परिवारलाई निःशुल्क सेवा पुर्याउने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताईन्। प्रत्येक वडामा दररेट तोकेर एम्बुलेन्स सेवा पुर्याइने खड्काले बताईन्।