काठमाडौं– स्वास्थ्यकर्मी फोरम नेपालको प्रदेश ३ स्तरीय प्रथम अधिवेशन सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा शुक्रबार बानेश्वरमा अधिवेशन भएको हो।
कार्यक्रममा राज्यमन्त्री यादवले देशको स्वास्थ्य प्रणालीको जग स्वास्थ्यकर्मीहरु रहेको उल्लेख गर्दै स्वास्थ्यको सूचकांक सुधार गर्न चिकित्सा सेवामा आवद्ध सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा–सुविधालाई न्यायोचित पुनर्विचार गरिने बताए।
छात्रवृत्ति प्राप्त स्वास्थ्यका विद्यार्थीमध्ये ९० प्रतिशत विदेशिने गरेको प्रसङ्ग जोड्दै राज्यमन्त्री यादवले यसलाई रोक्नका लागि नीति महत्वपूर्ण भएको बताए। 'नीतिका विषयमा अहिले विभिन्न निकायसँग छलफल भइरहेको छ,’ उनले भने।
स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बालकिशोरप्रसाद यादवले अहिले सरकारले ल्याएको समायोजन विधेयक स्वास्थ्य क्षेत्रका कर्मचारीको हितमा नरहेकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए। उनले प्रशासन क्षेत्रका कर्मचारीले पाएसरहको सुविधा स्वास्थ्यका कर्मचारीलाई पनि उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
प्रदेश ३ स्तरीय सर्वसम्मत अध्यक्ष चुनिएका अरुणकुमार महतोले देशका सम्पूर्ण आम स्वास्थ्यकर्मीलाई स्वास्थ्यकर्मी फोरमसँग जोडिन अह्वान गरे।
अधिवेशनले ५१ सदस्य कार्यसमिति चयन गरेको छ।