बागलुङ– जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको पैयुँपाटा स्वास्थ्य चौकीको स्तरोन्नतीका लागि आवश्यक जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको छ। अस्पताललाई आवश्यक पर्ने जग्गा खरिदका लागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष एवं युवा उद्यमी चन्द्र ढकाल १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
प्राथमिक अस्पताल निर्माणका लागि ७ रोपनी क्षेत्रफलको जग्गा आवश्यक हुने र उक्त जग्गा खरिद गर्नका लागि ढकालले आर्थिक सहयोग गरेका हुन्। जग्गा व्यवस्थापन पछि सुविधा सम्पन्न तीन तले भवन निर्माणको काम अगाडि बढ्नेछ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले आफू जन्मेको ठाउँमा निर्माण हुन थालेको प्राथमिक अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन्। ‘आफू जन्मेको ठाउँका जनता स्वास्थ्य सेवा प्राप्त गर्न बाहिर जान नपरोस् भनेर सहयोग प्रदान गरेको हुँ,’ ढकालले भने, ‘म जस्तै सहयोगीको रकमबाट नै सुविधा सम्पन्न अस्पातल निर्माण हुनेछ।’
स्वास्थ्य चौकीलाई तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाको कार्यकालमा उनका प्रमुख सल्लाहकार प्रताप पौडेललको सहयोगमा स्तरोन्नती गरी प्राथमिक स्वास्थ्य अस्पताल निर्माणको लागि सुचीकृत गरिएको थियो।
जग्गा व्यवस्थापनमा केही ढिलाई भएसँगै निर्माण प्रक्रियामा पनि ढिलाई भएको वडाअध्यक्ष नारायण शर्मा पौडेलले बताए। वडाअध्यक्ष पौडेलका अनुसार १३ लाख रुपैयाँमा खरीद गरिएको जग्गामा अपुग भएको रकम वडा कार्यालयले व्यवस्थापन गर्नेछ।
स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार सुविधा सम्पन्न भवन निर्माण हुने स्वास्थ्य चौकी प्रमुख सुशील पौडेलले बताए। अस्पतालको रुपमा स्तारोन्नती भएसँगै मेडिकल अधिकृत दरबन्दी सहितको सेवा सुविधाहरु थपिने छन्। अस्पताल निर्माणसँगै बलेवा क्षेत्रका तीनवटै वडाहरुलाई सहज हुने जनाइएको छ।