कैलाली- कैलालीका एचआइभी संक्रमितहरूले सरकारले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ताबाट आफूहरू वञ्चित भएको गुनासो गरेका छन्।
'एचआइभी संक्रमितहरूका सवाल' विषयक एक दिने जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै अधिकांश एचआइभी संक्रमितले सरकारले समाजिक सुरक्षा भत्ता कार्यक्रममा आफूहरुलाई समेट्न नसकेको गुनासो गरेका थिए।
'नेपालको संविधान २०७२'ले सामाजिक सुरक्षाको हक अन्तर्गत आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका एकल महिला, अपाङ्गता भएका बालबालिका, आफनो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था गरेको छ।
उनीहरुले सामाजिक सुरक्षाको हक अन्तर्गत एचआइभी संक्रमित पनि उल्लेख गर्नुपर्ने माग गरेका छन्।
एचआइभी संक्रमित जगत भण्डारीले सामाजिक सुरक्षा भत्ताको व्यवस्थाका लागि सरकारलाई दबाब दिन आवश्यक रहेको बताए।
कार्यक्रममा एचआइभी संक्रमितहरूको जिल्ला स्तरीय पैरवी समूहसमेत गठन गरिएको छ। जगतबहादुर भण्डारीको संयोजकत्वमा गठित समूहमा ११ सदस्य छन्।
जसमा धनीराज जैसी, गोरख विक, ईश्वरी भण्डारी, महेन्द्र खड्का, गौरी मिजार, पार्वती विक, शिवा शाही, पहलसिंह विक र आराधना श्रेष्ठ छन्।
समूहले एचआइभी संक्रमितहरूका पक्षमा विभिन्न काम गर्ने संयोजक भण्डारीले बताए।