साँखु- काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको विषयलाई लिएर तनाव उत्पन्न भएको छ। मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुर अस्पताल पुगेकी थिइन्।
सुत्केरी गराउने क्रममा चिकित्सकको लापरवाही र असावधानीका कारण आमा र बच्चा दुबैको मृत्यु भएको आरोप लगाउँदै आफन्तले अस्पताल परिसरमा जम्मा भएर विरोध गरिरहेका छन्। आफन्तले लापरवाही गर्ने चिकित्सकलाई तत्काल कारवाही गर्नुपर्ने र क्षतिपूर्तिको माग राखेका छन् ।
अस्पतालले आमा र बच्चाको मृत्युपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाएको थियो। शङ्खरापुर अस्पतालमा मृत्यु भएपछि आफू पन्छिनको लागि अस्पतालले शिक्षण अस्पताल पठाएको भन्दै स्थानीयवासी र आफन्तजनको भीड अस्पताल परिसरमा जम्मा भएको हो।
शिक्षण अस्पताल महाराजगञ्ज पुग्नेबित्तिकै अस्पतालले मृत घोषणा गरेको आफन्त बताउँछन्। अहिले पीडित र अस्पताल व्यवस्थापनबीच छलफल भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। रासस