रुपन्देही– कपिलवस्तुको थुन्हिया स्वास्थ्य चौकी, बर्थिङ सेन्टरमा कार्यरत अनमीमाथि गरिएको आक्रमण निन्दनीय भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले बताएका छन्।
अनमी उषा केसीमाथि पुस ९ गते राति ११ बजे ड्युटीको क्रममा आक्रमण भएको थियो। राती करिब ११ बजे स्थानीय मोहबुज मुसलमानले स्वास्थ्य चौकीको ढोका फोरेर कुटपिट गरेको पीडित केसीले बताएकी छन्।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आएर आक्रमण गर्नेलाई कडा कारबाही गर्नुपर्ने मन्त्री बरालले बताए।
यस्ता घटनामा राजनीतिक हस्तक्षेप हुन नदिने बताउँदै पीडितलाई न्याय दिलाउन आफू र सरकार लागि पर्ने आश्वासन दिए।
घटनको अनुसन्धान गर्न मन्त्री बरालले प्रहरीलाई निर्देशन समेत दिएका छन्।
पीडित केसीसँग गएको टोलीले भेटेपछि मन्त्री बरालले कडा कारबाही गर्ने र कर्मचारीलाई काम गर्ने वातावरण श्रृजना गर्ने बताए।
शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले घटनाको विरोध गर्दै पीडकलाई कारबाहीको माग गरेका छन्।