बैतडी- केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन्। बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन्।
यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाका पनि रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन्। दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा अवस्थित श्रीकोट स्वास्थ्यचौकीमा पनि पहिलेको भन्दा यो समयमा रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यचौकीका इञ्चार्ज वीरसिंह भाटले बताए।
यस्तै दशरथचन्द नगरपालिकाको देहीमाडौँ स्वास्थ्यचौकीमा पनि मौसमी रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढेका स्वास्थ्यचौकीकी अनमी हीरा बोहराले बताइन्। जिल्लामा भाइरलकै रुपमा ज्वरो, रुघाखाकी नदेखिए पनि मौसमी प्रभावले अधिकांश मानिसमा यो समयमा ज्वरो आउनुका साथै रुघाखोकी लागिरहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्टको भनाइ छ। साथै यो समयमा दम र निमोनियाका बिरामीको सङ्ख्या पनि पहिलेको तुलनामा बढिरहेको छ।
चिसोबाट बच्न न्यानो लुगा लगाउन, तातो ठाउँमा बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। तातोपानीसँगै तातो खानेकुरा खायो भने पनि चिसोबाट बच्न सकिने उनीहरुको भनाइ छ। चिसोमा बालबालिका र वृद्धवृद्धाको अझै धेरै ख्याल गर्नुपर्ने उनीहरुको सुझाव छ। रासस