वालिङ - स्याङ्जामा हाल २६१ एचआइभी सङ्क्रमितले एआरटी औषधि नियमित सेवन गर्दै आएका छन्।
जिल्ला अस्पतालमा विगत आठ वर्षदेखि र गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा विगत दुई वर्षदेखि उक्त सेवा सञ्चालनमा रहेको एआरटी परामर्शकर्ता शङ्कर जिसीले बताए। उनका अनुसार गह्रौँ घ्याङलिङबाट हाल ७८ महिला, ७२ पुरुष, पाँच बालिका, चार बालक गरी १५९ जना छन्।
यस्तै जिल्ला अस्पतालबाट ६५ महिला, ३७ पुरुषसहित १०२ गरी कूल २६१ जनाले नियमितरुपमा एआरटी सेवन गर्दै आएका छन्। सो तथ्याङ्क हेर्र्दा जिल्लामा एआरटी सेवन गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको छ । सो दुई ठाउँका साथै पोखरा, पाल्पा, बुटवल तथा काठमाडौँसम्म पनि पुगेर एआरटी सेवन गर्नेको सङ्ख्या झण्डै २०० कै हाराहारीमा रहेको उहाँले जानकारी दिए।
“एचआइभी सङ्क्रमितहरु बिस्तारै खुल्ने र नियमित औषधि सेवन तथा परामर्शका लागि आउने गर्नुहुन्छ”, परामर्शकर्ता जिसीले भने, “गत आर्थिक वर्षमा मात्रै १७ जना नयाँ सङ्क्रमित भेटिएका थिए ।” सिडिफोर र भाइरल लोड परीक्षणका लागि काठमाडौँ नै पु¥याउनुपर्ने समस्या रहेको छ।
औषधि सेवन तथा परामर्शका लागि टाढाटाढाबाट आउने सङ्क्रमितहरुलाई एचआइभीकै क्षेत्रमा काम गर्दै आइरहेको सङ्कल्प सहयोग समूहले वालिङ नजीकै खान, बस्नका लागि ‘केयर होम’ को व्यवस्था गरेको छ। रासस