गाईघाट—नेत्रज्योति सङ्घ उदयपुर गाईघाटको निर्माण हुँदै गरेको नयाँ भवनको लागि जापानी राजदूतावासले रु ९० लाख ५० हजार आर्थिक सहयोग गरेकाे छ ।
नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउत र जापानी राजदूत मासामिची साइगोबीच नेत्रज्योति सङ्घ उदयपुरको निर्माण भइरहेको नयाँ भवनको लागि दूतावासको तर्फबाट आर्थिक सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको हो ।
जापानले ८१ हजार १९२ अमेरिकन डलरअर्थात् रु ९० लाख ५० हजार आर्थिक सहयोग गर्ने सहमति भएको नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष राउतले बताए ।
जापानी दूतावासको आर्थिक सहयोगबाट नेत्रज्योति सङ्घको तिन तले भवन निर्माण हुनेछ । २८ कोठासहितको उक्त भवन यसै वर्षको चैतसम्ममा निर्माण सम्पन्न भई आगामी वर्षदेखि सञ्चालनमा आउने नेत्रज्योति सङ्घ उदयपुरका उपाध्यक्ष सृजना दनुवारले बताइन्र ।
नयाँ भवन निर्माण भएपछि आगामी वर्षदेखि जलबिन्दु, मोतियाबिन्दु जस्ता रोगको समेत शल्यक्रिया सेवा सञ्चालन गर्ने तयारीमा रहेकाे नेत्रज्योति सङ्घ उदयपुर सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहमति र सहयोगमा २०६५ सालदेखि स्थापना भई सञ्चालन हुँदै आएको छ । हालसम्ममा एक लाख २६ हजार ८३२ आँखाको बिरामीको उपचार गरिएकाे सङ्घकाे भनाइ छ ।
त्रियुगा नगरपालिकाको पुरानो भवनमा भाडामा सञ्चालन हुँदै आएको सङ्घले उदयपुर खोटाङ, भोजपुर क्षेत्रका सोवग्राहीले आँखा उपचारको सेवा दिदैँ आएको प्राविधिक प्रमुख डाक्टर डुल्लीराज तिमल्सिनाले बताए ।
भवन निर्माणको लागि मञ्जुकुमारी चौधरीबाट रु ४० लाख, नेपाल सरकारबाट रु ५० लाख, त्रियुगा नगरपालिका र अन्य दाताबाट रु एक करोडसहित जापानी दूतावासको आर्थिक सहयोगसहित सङ्घको नयाँ भवन निर्माणको लागि रु तीन करोडभन्दा बढीको आर्थिक सहयोग भएको छ । रासस