काठमाडौं– नेपाल जनस्वास्थ्य संघले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत रहने केन्द्रिय जनस्वास्थ्य विभागको गठन प्रक्रियाको पूर्णतामा ढिलाई भएकोमा ध्यानाकर्षण गरेको छ।
संघले उपकुलपति तीर्थ खनियाँलाई ध्यानाकर्षण पत्र बुझाउँदै विभागको पूर्णताको माग गरेका छन्। ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष श्रीकृष्ण भट्टले विभागको गठन प्रक्रियामा त्रिवि पदाधिकारी र डिन कार्यालयले वेवास्ता गरेमा देशव्यापाी विरोधका कडा कार्यक्रम गर्ने चेतावनी दिए।
यसैबीच संघको टोलीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीश प्रसाद अग्रवाललाई समेत भेट गरी यस विषयमा गम्भीर भएर लाग्न ध्यानाकर्षण गराएको छ । अध्यक्ष भट्टसहित महासचिव महेश्वर श्रेष्ठ लगाएतको टोलीले डीन अग्रवाललाई भेटेका थिए।
त्रिवि कार्यकारी परिषदबाट जनस्वास्थ्य केन्द्रिय विभाग गठन गर्ने निर्णय भएको ४ महिना वितिसकेको छ। कार्यकारी परिषद्को निर्णय अनसार विभाग गठनमा डिन अग्रवालले प्रक्रिया अगाडि नबढाएको भन्दै महाराजगञ्ज मेडिकल क्याम्पस स्ववियूले डीन कार्यालयमा तालाबन्दी समेत गरेको छ।