काठमाडौं– संघीय संरचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई ओझेलमा पारिएको भन्दै तीन वटा संगठनले आज उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई भेटी ध्यानाकर्षण गराएका छन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका नेपाल आयुर्वेद चिकित्सक संघ, सिभिल आयुर्वेद चिकित्सक संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले संयुक्त रुपमा ९ बुँदे मागसहितको ध्यानाकर्षण पत्र पनि स्वास्थ्यमन्त्री यादवलाई बुझाएका हुन्र् ।
उनीहरुले स्वास्थ्य सेवाको वर्तमान पुनःसंरचित दरवन्दी संरचनामा आयुर्वेद क्षेत्र र जडिबुटीको महत्वलाई नजरअन्दाज गरिएको भन्दै ध्यानाकर्षण गरेका हुन्।
ध्यानाकर्षण पत्र बुझ्दै स्वास्थ्यमन्त्री यादवले आयुर्वेद संगठनहरुले उठाएको माग जायज भएको भन्दै त्यसतर्फ पहल गर्ने आवश्वासन दिएको नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले बताए ।
तीनवटै संगठनले संयुक्त रुपमा ९ बुँदे माग स्वास्थ्य आइतबार स्वास्थ्य राज्यमन्त्री र सचिवलाई समेत बुझाएका थिए। उनीहरुले सबै स्थानिय तहमा कम्तीमा एक वटा दरवन्दी सृजना गर्नुपर्ने, सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५र ६र७ तहको दरवन्दी काटिएकाले पुन कायम गर्नुपर्ने, प्रदेश स्वास्थ्य निर्देशनालयमा ८ औँ तहको आयुर्वेद चिकित्सकको दरवन्दी थप गर्नुपर्ने लगायतका माग राखेका छन्।

