नेपालमा विभिन्न जाति तथा समुदायले माघे संक्रान्ति पर्वलाई विभिन्न ढंगबाट विशेष रुपमा मनाउने गर्दछन्। समुदायगत रुपमा यसलाई मनाउने तरिका र महत्वसमेत फरक–फरक छन्।
खासगरी यस दिनमा खाइने परिकारको समेत आफ्नै महत्व रहेको छ। विशेषगरी माटोमुनि फल्ने तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु, खिचडी पनि खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे संक्रान्तिमा खाइने यी आहारहरुले शरीरलाई आवश्यक शक्ति दिई रोगसँग लड्ने क्षमतासमेत बढाउँछ।
आयुर्वेद चरक संहिता, शिशिर ऋतुचर्याका अनुसार यस समयमा सीत वायुको सम्पर्क शरीरसँग हुने भएकोले अग्नि शरीरभित्रै रोकिएर तिक्ष्ण हुन जान्छ। त्यसैले यस समयमा गुरु द्रव्य पाचन गर्ने सामर्थ्य शरीरमा रहन्छ र भोजन नपाउँदा रस आदिको क्षय हुनजान्छ।
यस समयका सात्म्य(हित) रसमा स्निग्ध, अम्ल, लवण पर्दछन् भने सात्म्य(हित) आहारमा गोरस, इक्षुविकृति तेल, नयाँ अन्न आदि पर्दछन्।
तिलमा पर्याप्त क्याल्सियम र भिटामिन ‘बी’ रहन्छ र यसले शरीरलाई उर्जा दिइराख्छ। सखरखण्डमा अधिक मात्रामा कार्बोहाइड्रेट हुने हुनाले शक्तिवर्दक रहन्छ। सखरखण्डमा फाइवरसमेत प्रसस्त पाइने हुनाले कब्जियतको समस्या पनि कम गर्छ।
रक्तचाप नियन्त्रण गर्न भूमिका खेल्ने सखरखण्डले पाचन प्रकियालाई समेत बलियो बनाउँदछ। भिटामिन ‘ए’ र भिटामिन ‘डी’ समेत उल्लेख्य पाइने हुनाले सखरखण्ड स्वस्थ आँखा र हड्डीका लागि उपयोगी रहन्छ।
गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा नहुने हुनाले सखरखण्ड मधुमेह रोगीका लागि पनि हितकर मानिन्छ। सखरखण्डले मानिसको अनावश्यक तौल घटाउनसमेत मद्दत पुर्याउँदछ।
यसरी माघे संक्रान्ति पर्वमा खाइने आहार, स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छन्।