१५ वर्षदेखि बेलायत बस्दै आएका बालाजु, काठमाडौंका विनोदविकास सिंखडा डेन्टल नर्स हुन्। नेपलिज नर्सिङ एसोसिएनका अध्यक्ष सिंखडा हाल नेसनल हेल्थ सर्भिस, सेन्ट्रल लन्डनमा डेन्टल पब्लिक हेल्थको प्रोजेक्ट म्यानेजरको रुपमा काम गरिरहेका छन्। हाल नेपाल आएका सिंखडासँग लन्डनमा रहेका नेपाली नर्सको वर्तमान अवस्था र भविष्यका विषयमा केन्द्रित रहेर स्वास्थ्यखबरका लागि बुनु थारुले गरेको कुराकानीः
लन्डन कहिले र किन जानुभएको हो?
म लन्डन पसेको १५ वर्ष भइसक्यो। प्लस टु सिद्धिएपछि २००४ सेप्टेम्बरमा पढाइको सिलसिलामा म त्यहाँ गएको हुँ।
नर्सिङ पढ्ने सोच कसरी आयो? अहिले केमा कार्यरत हुनुुहुन्छ?
म प्लस टुपछि लन्डन गएँ । त्यहाँ गएर के विषय पढ्ने द्विविधामा परें। मेरो दाइ त्यहाँ डेन्टल विषय पढ्दै हुनुहुन्थ्यो। उहाँले नै मलाई नर्सिङमा करिअर राम्रो छ भनेर सुझाव दिनुभयो। नर्सिङ मेरा लागि एकदमै नौलो विषय थियो। यसै पनि नर्स महिलाले मात्र पढ्ने विषय भनेर बुझिन्छ। तर, नर्सिङ पुरुषले पढ्ने विषय होइन भन्ने मलाई कहिल्यै महसुस भएन। त्यसैले यही पढ्ने निर्णय गरें। यो एकदमै प्रतिष्ठित, सम्मानजनक तथा मिहिनेती पेसा हो।
२००४ मा सेन्ट मेरिज हस्पिटल, लन्डनमा नर्सिङ पढ्न थालेँ। पढ्दै जाँदा यो विषय मलाई झनै मन पर्न थाल्यो। मैले डेन्टल नर्सिङको दुई वटा विषयमा विशेषज्ञता हासिल गरेको छु। एउटा फ्लोराइड भर्निस र दोस्रो ओरल हेल्थ एजेकुसन। ४ वर्षको अवधिमा विभिन्न क्लिनिकमा काम गरेँ। त्यसपछि मलाई क्लिनिकभित्र बसेर बिरामी मात्र हेर्न त्यति मन गएन।
मैले २००८ मा युनिभर्सिटी अफ एबार्डिनबाट पब्लिक हेल्थमा ब्याचलर्स गरेँ। त्यसपछि २००९ मा युनिर्भसिटी अफ साउथ वेल्सबाट सेफ्टी हेल्थ एन्ड म्यानेजमेन्टमा मास्टर्स सिध्याएँ। अहिले म डेन्टल जनस्वास्थ्यको क्षेत्रमा कार्यरत छु। बेलायतको सरकारी सेवा नेसनल हेल्थ सर्भिसमा डेन्टल हेल्थको प्रोजेक्ट म्यानेजरको रुपमा काम गरिरहेको छु। यो १० वर्षे प्रोजेक्ट हो। अहिले चौथो वर्षमा लागेको छ। सेन्ट्रल लन्डनको ३ वटा वडामा हुने यो विद्यालयसँग सम्बन्धित कार्यक्रम हो। बच्चाको डेन्टल चेकअप, ब्रस कसरी गर्ने, सरसफाइ कसरी राख्ने भनेर सिकाउने गरेका छौँ।
अहिले बेलायतमा लगभग ३ हजार नेपाली नर्स कार्यरत छन्, जसमा ५ प्रतिशत मात्र पुरुष नर्स होलान्। युकेमै पढेकाभन्दा नेपालबाट नर्सिङ पढेर जाने धेरै छन्। डेन्टल, एडल्ट नर्सिङ केयर, केयर एन्ड म्यानेजमेन्ट, जेनेरल नर्सिङ आदिमा नेपाली नर्स कार्यरत छन्।
नेपलिज नर्सिङ एसोसिएसन, युके कहिले गठन भएको हो? यसले के काम गर्छ?
२००८ मा गठन भएको नेपलिज नर्सिङ एसोसिएसन, युके नेपालबाट गएर बसेका नर्सहरुको संगठन होे। यसमा ९५ प्रतिशत महिला नर्स सदस्य छन्। हामी अहिले १ सय ५० जना सदस्य छौं। यहाँका नर्सलाई समस्या पर्दा सहयोग गर्ने, व्यक्तिगत समस्या वा पेसागत हिसाबले दुःखमा परेका नर्सलाई सहायता गर्ने काम गर्छ यस संस्थाले। यो हाम्रो च्यारिटेबल संस्था हो। यस संगठनले रकम संकलन अभियान पनि गर्ने गर्छ।
हामीले एक्सन वर्क्स नेपालसँगको सहकार्यमा जुम्लाको पत्थरखोला गाविसमा बर्थिङ सेन्टर पनि स्थापना गर्ने तयारीमा छौँ। यसको लागत ६५ लाख रहेको छ। निर्माणको काम चलिरहेको छ। त्यसका साथै सिन्धुपाल्चोकमा भूकम्पपश्चात् नयाँ स्कुल भवन बनायौँ। गोरखामा एउटा भत्केको स्कुल हामीले पुनर्निर्माण गरिदियौँ।
नर्सहरुको वार्षिक सम्मेलन गर्छौं। साथै नेपालीले आयोजना गर्ने नेपाली इभेन्टमा वर्षको १२ देखि १५ वटा निःशुल्क हेल्थ चेकअपको व्यवस्था पनि गर्छौँ। नेपाली दूतावासमा आएका नेपालीसँग सम्बन्धित विषयमा सल्लाहकारको भूमिका पनि निभाउने गरेका छौँ।
बेलायतमा कार्यरत नेपाली नर्सको संख्या कति छ?
अहिले बेलायतमा लगभग ३ हजार नेपाली नर्स कार्यरत छन्, जसमा ५ प्रतिशत मात्र पुरुष नर्स होलान्। युकेमै पढेकाभन्दा नेपालबाट नर्सिङ पढेर जाने धेरै छन्। डेन्टल, एडल्ट नर्सिङ केयर, केयर एन्ड म्यानेजमेन्ट, जेनेरल नर्सिङ आदिमा नेपाली नर्स कार्यरत छन्।
थुप्रै राम्रा तथा ठूला अस्पतालमा नेपाली नर्स कार्यरत छन्। ९५ प्रतिशत स्वास्थ्य सेवा यहाँ सरकारबाट नै उपलब्ध हुन्छ। धेरै जना सरकारी अस्पतालमा नै रहेका छन्। उच्च तहमा काम गर्नेहरु पनि छन्। इलिङ हस्पिटल, वार्टफोर्ड जेनेरल हस्पिटल, सेन्ट जर्ज हस्पिटल, सेन्ट थोमस हस्पिटल, क्विन एलिजाबेथ हस्पिटल आदिमा धेरै नेपाली नर्स कार्यरत रहेका छन्।
बेलायतकै जनसंख्या हेर्ने हो भने पनि ५ देखि १० प्रतिशत मात्र छन् पुरुष नर्स। हाम्रो एसोसिएसनमा ७–८ जना मात्र पुरुष नर्स सदस्य छन्। बेलायतमा भने ५० देखि ५५ जना पुरुष नर्स कार्यरत छन् होला।
नेपाली नर्सका लागि बेलायत कसरी आकर्षक गन्तव्य बन्न सक्छ? सेवा–सुविधा कस्तो छ?
बेलायतमा नर्सिङ पेसामा विभेद हुँदैन। भर्खर गएका नर्सहरुलाई त्यहाँ एकदम राम्रो छ। सजिलो पनि छ। तर पहिले गएका नर्स दिदीहरुलाई भने भाषाको समस्या अझै पनि रहेको छ। नर्सको रुपमा राम्ररी काम गरिरहेको भए पनि कहिलेकाहीँ भाषा समस्या बन्न पुग्छ। सेवा–सुविधा भनेको तहअनुसार नै दिइन्छ। ब्रिटिस नर्सहरुको जति पैसा हुन्छ नेपालीको लागि पनि त्यही नै छ। त्यसमा केही अन्तर छैन। वार्षिक छुट्टी, पेन्सनको स्किम एकदमै राम्रो छ। वर्किङ कन्डिसन राम्रो छ। वर्किङ आवर भनेको ३७.५ घन्टा हो। क्लिनिक वार्डमा ५० देखि ५५ घन्टा काम गर्छन् नर्सहरुले।
मेट्रोनदेखि म्यानेजर तथा नर्सिङ प्रोफेसर, क्लिनिकल नर्स आदिको रुपमा नर्सले काम गरिरहेका छन्। युकेमा नर्सको वार्षिक आम्दानी ४० देखि ८० लाखसम्म हुन्छ, जुन तह र अनुभवका आधारमा फरक पर्छ।
त्यहाँ राम्रो भनेको पेपर वर्क हो। यसमा एकदमै कडाइ हुन्छ। बिरामीको डकुमेन्टेसनको लागि एकदमै कडा नियम बनाइएको छ। लिखितममा धेरै ध्यान दिइन्छ। नर्सको काम त जहाँ पनि उस्तै हो। खट्नु परिहाल्छ। जनशक्ति अभाव, वार्डमा कम जनशक्ति राखेर धेरै बिरामी हेर्न लगाउने व्यवस्थापन पक्ष जहाँ पनि उस्तै–उस्तै हो। पेपर वर्कमा कडाइ हुने भएकाले नेपालको काम गराइ तथा अनुभवले त्यहाँ अलि पुग्दैन।
प्रक्रिया के रहेको छ? कत्तिको सहज छ?
नर्सिङ रेजिस्ट्रेसनपछि एक वर्षको नर्सिङ अनुभव चाहिन्थ्यो। अहिले त्यो एनएमसी (नर्सिङ एन्ड मिडवाइफ्री काउन्सिल रेजिस्टे«सन) बेलायत सरकारले हटाएको छ। सुरुमा त अंग्रेजी भाषाकै आवश्यकता हो। आइइएलटिएस वा अप्टोमेट्री एडमिसन टेस्ट (ओएटी) गर्नुपर्छ। आइइएलटिएसमा एकाडेमिकमा ७ ल्याउनुपर्छ। रिडिङमा ६.५ ल्याउनुपर्छ अरुमा भने ७ ल्याउनुपर्छ। ओएटीमा बी ल्याउनुपर्छ।
त्यसपछि त्यहाँ एनएमसी लिनुपर्छ। त्यो लिएपछि परीक्षा दिनुपर्छ। पार्ट वन एक्जाम दिनुपर्छ। त्यो नेपालबाट पनि दिन मिल्छ। त्यसलाई सिबिटी (कम्प्युटर बेस्ड टेस्ट) भनिन्छ। त्योपछि चाहिँ कुनै हस्पिटलसँग मिलेर वर्क पर्मिट लिएपछि युकेको भिसाको लागि आवेदन दिन पाइन्छ।
त्यहाँ गएपछि पार्ट टु एक्जाम दिनुपर्छ। पार्ट टु अब्जेक्टिभ स्ट्रक्चर्ड क्लिनिकल इक्जामिनेसन (ओएससिई) दिनुपर्छ। त्यो परीक्षा पास भएपछि मात्र त्यहाँ आरएन (रेजिस्टर्ड नर्स) भइन्छ। आरएन भएपछि सरकारी अस्पतालमा ब्यान्ड ५ बाट जागिर सुरु गर्न पाउँछन् नर्सहरुले। ब्यान्ड ५ देखि ब्यान्ड ८ सम्म हुन्छ। ब्यान्ड भन्नाले तह भनेर बुझ्न सकिन्छ।
नेपाली नर्सले विदेशमा आफ्नो भविष्य स्थापित गर्न नसक्नुका कारण के–के हुन्?
नेपाली नर्समा अल्छीपना र छिटो परिणाम खोज्ने प्रवृत्ति देखिन्छ। आइइएलटिएसको लागि मिहिनेत गर्न कोही पनि तयार नै छैनन्। तयारीबिना आइइएसटिएसमा नम्बर आउँदैन। ६ महिना टुप्पी कसेर, घुँडा धसेर नपढेमा राम्रो नम्बर आउँदैन। त्यहाँ जागिर नपाएर यत्तिकै २–३ वर्ष बसिरहेका नर्स पनि त्यति मिहिनेत गर्न तयार छैनन्। त्यसकारण मैले अल्छी भनेको हुँ। त्यो अल्छीपनाले गर्दा हाम्रा धेरै नर्सलाई डुबाएको छ।
नेपाली नर्समा अल्छीपना र छिटो परिणाम खोज्ने प्रवृत्ति देखिन्छ। आइइएलटिएसको लागि मिहिनेत गर्न कोही पनि तयार छैनन्। बेलायतमा जागिर नपाएर यत्तिकै २–३ वर्ष बसिरहेका नर्स पनि त्यति मिहिनेत गर्न तयार छैनन्। त्यो अल्छीपनाले गर्दा हाम्रा धेरै नर्सलाई डुबाएको छ।
नेपालमा अहिले ५५ हजार नर्स बेरोजगार भएर बसेको तथ्यांक बाहिर आइरहेको छ। तथ्यांकअनुसार वर्षको १३ हजार नर्स उत्पादन हुन्छन्। नेपालमा जागिर पाउने सम्भावना कति छ? पाए पनि सोचेजस्तो पैसा छैन। यहाँ संस्थाहरुले दिने पैसा यातायात र खानाको लागि पनि पुग्दैन। त्यही भएर नेपाली नर्सहरु अहिले अस्ट्रेलिया, क्यानडा, युके लगायतका देशमा गइरहेका छन्। जुन देशमा गए पनि आइइएलटिएस त अनिवार्य चाहिन्छ। त्यसकारण अल्छी गर्नुहुँदैन।
दोस्रो, एकदम छिटो परिणाम खोज्ने प्रचलन पनि हो। पैसाले सबै कुरा किन्न सकिँदैन। मिहिनत गरेपछि मात्र राम्रो परिणामको आशा गर्न सकिन्छ। युकेका लागि आइइएलटिएसमा पास भइसकेपछि ४ देखि ६ महिना लाग्छ प्रक्रिया पुर्याउन। पहिला गाह्रो हुन्थ्यो विदेश जान, धेरै मिहिनेत गर्नुपर्थ्यो। तर अहिले सूचना प्रविधिको विकासले एकदम सजिलो भएको छ। तर दृढ इच्छाशक्ति र प्रतिबद्धता हामीसँग कम छ। सबैकुरा अरुलाई दोष दिने चलन छ।
नेपाली नर्स धैर्य गर्न सक्दैनन्। ६ महिना पनि उनीहरुलाई लामो लाग्छ। कुरा नबुझी छिटो जान खोज्ने चाहनाले पछि अप्ठ्यारोमा पार्छ। सुरुमा मिहिनेत ग¥यो भने परिणाम राम्रो हुन्छ। त्यहाँ पुग्न समय लाग्ला तर गएर नर्स बन्न सजिलो छ। युकेमा काम गर्न सजिलो छ। तलिमको क्रममा पनि सुरुको दिनदेखि नै पैसा दिन थाल्छ। वर्क पर्मिट छ र ३–४ महिनामा परीक्षा पास भयो ३ देखि ६ महिनाभित्र आरएन बन्न सकिन्छ। जुन अरु देशमा अलि झन्झटिलो छ।
युकेमा अहिले २५ हजार नर्सको लागि भ्याकेन्सी खुला छ। नेपालमा यति धेरै नर्स बेरोजगार छन्। उनीहरु त्यसमा भिड्न क्छन्। हतार गर्ने प्रवृत्ति र मिहिनेत गर्न नखोज्ने नर्सको जमातलाई लक्षित गरेर अहिले विभिन्न कन्सल्टेन्सीले विना कामको युनिर्भसिटीमा कोर्स मिलाएर पठाउन थालेका छन्। जसले गर्दा नर्सहरुले दुःख पाइरहेका छन्।
नबुझेर जाँदा नेपाली नर्सले कस्तो दुःख पाउन सक्छन्?
युकेमा केहीकेही युनिर्भसिटीले झुक्याउने काम पनि गरिराखेका छन्। नेपालबाट १०–१२ हजार पाउन्ड तिरेर आइइएलटिएस नगरी जाने र उता गएर १ वर्षको कोर्स गर्ने धेरै छन्। त्यस्तो कोर्ष गर्नेलाई बिएससी अनर्स भनेर दिन्छ। बिएससी डिग्री आउँछ भनेर धेरै नर्सहरु गएका छन्। तर युकेको नर्सिङ रेजिस्ट्रेसन दिँदैन। भित्तामा झुन्ड्याइने एउटा प्रमाणपत्रभन्दा केही पनि आउँदैन।
मैले धेरै नर्स यसरी पुगिसकेको देखेको छु। त्यहाँ गएपछि एजेन्टले दुःख दिएको, सूचना राम्ररी नबुझेर धेरैको लाइसेन्स गएको, कति जनालाई सिनियरले दुःख दिएको आदि गुनासोहरु मैले भेटेको छु। त्यसैले यति भन्न चाहन्छु, सूचना राम्ररी बुझेर जानुस्, जसले गर्दा दुःख पाइँदैन। विदेश जाने ट्रेन्डले गर्दा हतारोमा पैसा बढी नै खर्चिएर जाने पनि धेरै छन्।
यति धेरै नर्स बेरोजगार छन्। जागिर नै नपाउने स्थिति आइरहेको छ। नीतिगत रुपमा नै परिवर्तन गरेर यसलाई व्यवस्थित बनाउनुपर्छ। नयाँ नर्स उत्पादनमा सरकारले सोच्नुपर्ने अवस्था आइसकेको छ।
पैसाको कुरा गर्दा त्यति खर्चिलो छैन बेलायत जान। जसले पनि प्रोसेस गर्न सक्छ। सबै खुला छ। ३ लाखमा मज्जाले बेलायत जान सकिन्छ। तर, मान्छे १५ लाखसम्म तिरेर जान तयार छन्। हावामा पैसा नउडाऊँ। त्यहाँ नर्सिङ पढ्न लागि गाह्रो छ, खर्चिलो पनि हुन्छ। सकेसम्म ब्रिटिसलाई नै पढाउँछ। नेपालबाट नर्सिङ पढेकाहरुलाई बेलायतमा राम्रो भविष्य छ। ९५ प्रतिशत पिसिएल गरेका छन् भने बिएन गरेका अलि कम छन्। नेपाली नर्सहरुको ज्ञान र सिप राम्रो छ। राम्रो काम गरिरहेका छन्।
नर्सिङ क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ?
यति धेरै नर्स बेरोजगार छन्। जागिर नै नपाउने स्थिति आइरहेको छ। नीतिगत रुपमा नै परिवर्तन गरेर यसलाई व्यवस्थित बनाउनुपर्छ। नयाँ नर्स उत्पादनमा सरकारले सोच्नुपर्ने अवस्था आइसकेको छ। केही वर्षको लागि नर्सिङ पढ्न वा पढाउन नै रोक्ने पो हो कि? अथवा विदेश नै पठाउने हिसाबले सोच्ने हो भने त्यसका लागि पनि तयारी गराइदिनुपर्छ। नर्सिङको तेस्रो वर्षको पाठ्यक्रममा आइइएलटिएस नै राख्ने हो कि?
शिक्षित बेरोजगार देशको लागि ठूलो समस्या बन्नसक्छ। त्यसैगरी पाठ्यक्रमा आइएसटिएस वा अंग्रेजी क्लास राख्ने हो कि त्यसतर्फ पनि ध्यान दिइनुपर्छ। यस्तो हो भने केही वर्षको लागि नर्सिङ पढ्न बन्द नै गर्नुपर्छ। शिक्षित बेरोजगार मात्र बनाएर के गर्ने? यसको संख्या दिनानुदिन बढ्दैछ। नर्सिङ पढ्न सस्तो पनि त छैन। पिसिएल गर्न ६ देखि ७ लाख खर्च लाग्छ। साथै बिएन गर्न थाल्यो भने १२ देखि २५ लाख खर्च हुन्छ। त्यति खर्च गरेर पनि राम्रो जागिर पाइँदैन।
संस्थागत रिक्रुटमेन्ट कम्पनी तथा संस्थाबाट नै बेलायत जानुपर्छ भन्ने छैन। अनलाइनमै प्रक्रियाको लागि हेर्न सकिन्छ। आफंैले गर्दा कम खर्चमा राम्ररी सुरक्षित तरिकाले जान सकिन्छ। बेलायत नेपाली नर्सको एकदमै राम्रो गन्तव्य हो। तर बेलायत जान केही समस्या छन्, प्रक्रियाको लागि सल्लाह–सुझाव तथा सहयोग चाहियो भने हामी दिन तयार छौँ। हाम्रो संस्थाले गाइड गर्ने काम गर्छ।