हरेक वर्ष मार्च २४ तारिखका दिन विश्वभरि मनाइने विश्व क्षयरोग दिवस नेपालमा पनि यस वर्ष ‘समय अबको : क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै छ।
क्षयरोग अथवा टिबी माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुवाट अत्यन्त छिटो सर्ने रोग हो। क्षयरोग जुनसुकै उमेरका व्यक्तिलाई पनि लाग्न सक्छ। तर रोगसँग लड्ने क्षमता कम भएकालाई सजिलै आक्रमण गर्छ। क्षयरोगले शरीरको रोगसँग लड्ने क्षमता घटाउँछ। रोगसँग लड्ने क्षमता नष्ट भएपछि जुनसुकै रोगको संक्रमण भई ज्यान समेत लिनसक्छ। अझ क्षयरोगसँगै एचआइभीको समेत संक्रमण भएमा निको हुन गाह्रो हुन्छ, दीर्घरोगी हुनुका साथै सानै उमेरमा अकाल मृत्यु हुनसक्छ।
सन् १८८२ मा डा रबर्ट कोच नाम गरेका वैज्ञानिकले ‘माइकोब्याक्टेरियम ट्युबरकुल’ नामक किटाणुवाट क्षयरोग लाग्ने तथ्य पत्ता लगाएका हुन्। त्यसकारण माइको ब्याक्टेरियम ट्युबरकुललाई ‘कोच ब्यासिलस’ पनि भनिन्छ।
क्षयरोगका किसिम
१. पल्मोनरी टिबी (फोक्सोमा हुने क्षयरोग) फोक्सोमा मात्र लाग्ने क्षयरोग हो, जसमा रोगका किटाणुले फोक्सोमा संक्रमण गरेमा पल्मोनरी अथवा फोक्सोको क्षयरोग हुन्छ।
२.एक्स्ट्रा पल्मुनरी टिबी फोक्सो बाहेकका अंगमा लाग्ने क्षयरोग हो, जसमा मस्तिष्क, मिर्गौला, हाड, जोर्नी,मुत्र प्रणाली, रगत, जनेन्द्रीय प्रणाली इत्यादि पर्छन्।
सर्ने तरिका
क्षयरोग संक्रमित व्यक्ति स्वस्थ्य व्यक्तिसँग लामो समयसम्म बस्दा श्वास–प्रश्वास गर्दा, खोक्दा, हाच्छिउँ गर्दा, बोलचाल गर्दा हावाका माध्यमबाट स्वस्थ्य व्यक्तिमा क्षयरोग सर्छ। क्षयरोगबाट संक्रमित व्यक्तिले श्वास फेर्दा क्षयरोगका किटाणु हवामा फैलिन्छन् र श्वास–प्रश्वासको माध्यमद्वारा स्वस्थ्य व्यक्तिका शरीरमा प्रवेश गरेमा क्षयरोग सर्न सक्छ।
चिह्न र लक्षण
निम्न प्रमुख चिह्न तथा लक्षणबाट क्षयरोगको संक्रमण भएको शंका गर्नुपर्छ, तर एक्सरे, छालामा गरिने क्षयरोग परीक्षण (मन्टु टेस्ट), खकार तथा रगत परीक्षण नगरी क्षयरोग ठह¥याउन सकिंदैन। वास्तवमा रगत, खकार परीक्षणबाटै क्षयरोगको निदान गर्न सकिन्छः
– दुई हप्ताभन्दा बढी समयसम्म खोकी लाग्नु।
– ज्वरो (साँझपख बढी) आउनु।
– खकारमा रगत वा रगतका छिटा निस्कनु।
– खान मन नलाग्नु, विना कारण शरीरको तौल घट्नु।
– कमजोरी हुनु।
– रातिमा पसिना आउनु।
– छाती दुःख्नु।
– परीक्षणमा क्षयरोगका किटाणु पत्ता लाग्नु।
– उपचार नभए मृत्यु समेत हुनु।
रोकथाम/नियन्त्रण
क्षयरोेग बालबालिकादेखि सबै उमेरकालाई, घरमा, स्कूलमा काम गर्ने कार्यालय वा स्थानमा र भीडभाड हुने सार्वजनिक स्थानमा संक्रमण गर्ने जटिल सरुवा रोग भए पनि निम्नलिखित उपाय अपनाएमा यसलाई सजिलै रोकथाम/नियन्त्रण गर्न सकिन्छः
– सूर्तिबाट बनेका कुनै पनि पदार्थ, मदिरा, लागुपदार्थ वा औषधि सेवन नगर्ने र सुरु गरेको भए तुरुन्तै छोड्ने।
– शिशु जन्मनासाथ सकेसम्म चाँडै एक वर्षभित्र बिसिजी खोप दिने।
– दुई हप्ताभन्दा लामो समयसम्म खोकी र ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्ने
– स्वास्थ्यकर्मीको परामर्शमा नियमित रुपमा नबिराइकन ६ देखि ८ महिनासम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने।
– औषधि सेवन सुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समय–समयमा परीक्षण गर्ने।
– स्वस्थ जीवनका लागि क्षयरोगीले अनिवार्य रुपमा एचआइभी परीक्षण गर्ने र एचआइभी संक्रमितले अनिवार्य रुपमा क्षयरोगको परीक्षण गर्ने।
– क्षयरोगका बिरामीलाई घरपरिवार, आफन्त वा स्याहारकर्ताले राम्रोसँग स्याहार, मायाँ–ममता र सरसफाइमा ध्यान दिने।
– घरमै तयार गरेका खाद्यपदार्थ, हरिया तरकारी, दूध, फुल, गेडागुडीका रस खाने।
– क्षयरोग नियन्त्रण कार्यक्रममा समय–समयमा सुपरिवेक्षण/अनुगमन गरी प्राप्त प्रतिवेदनका आधारमा प्रभावकारी सुधार गर्दै लैजाने।
क्षयरोगको उपचार
– क्षयरोग लागेको शंका लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी निःशुल्क खकार÷रगत परीक्षण गर्ने।
– क्षयरोगको उपचारमा जम्मा ४ किसिमका औषधि सेवन गराइन्छ। औषधि महँगो भए पनि सरकारले क्षयरोगीलाई आवश्यक पर्ने पूरा अवधिका लागि पूरा मात्रामा औषधिहरु निःशुल्क वितरण गरेको छ। स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी(डट्स) पद्घतिमा रहेका यी औषधि नियमित रुपमा बीचमा नछुटाई ६ देखि ८ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुन्छ। घरबाट टाढा जानु परेमा पनि औषधि लिएर गई सेवन सुरु गरेपछि बिरामीलाई आराम हँुदै जान्छ, तर निको भयो भनी औषधि खान छोडेमा जटिल समस्या आउन सक्छ।
– स्वास्थ्यकर्मीको परामर्श लिई औषधि सेवन र समय समयमा सम्पर्क राख्नुपर्छ। किनभने औषधि सेवन सुरु गरेपछि समय–समयमा परीक्षण गर्नुपर्ने हुन्छ।
– सूर्तिजन्य पदार्थ, लागुऔषधि वा पदार्थ र मादक पदार्थ सेवन गर्नु हुँदैन।
– स्वास्थ्यकर्मीको सल्लाह अनुसार क्षयरोगको औषधिसँगै अन्य रोगका औषधि सेवन गर्न सकिन्छ।
क्षयरोग नियन्त्रणमा समस्या
नेपालमा सरुवा रोगबाट देखिएका जनस्वास्थ्य समस्यामध्ये क्षयरोग छैठौं स्थानमा छ। विश्व स्वास्थ्य संगठनले नेपालमा बर्सेनी ४४ हजारभन्दा बढी व्यक्ति क्षयरोगबाट संक्रमित हुने अनुमान गरेको छ भने २० हजार ५ सयभन्दा बढी व्यक्तिमा फोक्सोको क्षयरोग संक्रमण भएको अनुमान गरेको छ।
स्वास्थ्य सेवा विभागको २०७३÷७४ को प्रतिवेदन अनुसार क्षयरोगबाट झन्डै ३२ हजार जति फोक्सोका क्षयरोगी पाइएका छन्। सन् २०१६ सम्ममा क्षयरोगबाट झन्डै ६ हजार जति बिरामीको मृत्यु भएको छ। तर क्षयरोगको निदान ७० प्रतिशत र ८५ प्रतिशत मात्र उपचार सफल हुने गरेको पाइएकोले पहिचान हुन बाँकी संक्रमितहरुको संख्या अति धेरै भएको सजिलै अड्कल गर्न सकिन्छ। सन् २००१ देखि देशभरि प्रत्यक्ष निगरानीमा औषधि गरिने (डट्स) प्रणाली लागू भइसके पनि क्षयरोगका बिरामीको पहिचान, परीक्षण, उपचार व्यवस्थामा कमी छ।
संंगठनात्मक संरचना र कार्यक्रमः नेपालमा क्षयरोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत राष्ट्रिय क्षयरोग केन्द्रको स्थापना गरी कार्य सञ्चालन गरिएको छ भने दक्षिण एशियाली राष्ट्रहरुको सहयोग संगठनस्तरीय क्षयरोग नियन्त्रणमा काम गरे पनि शंकास्पद बिरामीको गुणस्तरीय परीक्षण तथा पूर्ण उपचारको कमी नै देखिन्छ।
क्षयरोग नियन्त्रणमा जनचेतनाको कमीः देशका विभिन्न तहका अधिकांश नागरिकलाई शंकास्पद बिरामीले निःशुल्क परीक्षण तथा उपचार सुविधा कहाँ र कसरी पाउन सकिन्छ भन्ने जानकारी नै छैन। क्षयरोगबारे स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार कार्यक्रममार्फत व्यापक जनचेतना पुग्न सकेको छैन।
क्षयरोगका बिरामीलाई सुविधाको कमीः भौगोलिक दुर्गम स्थानका क्षयरोगीमैत्री डट्स उपचार केन्द्रको कमी छ, यसले गर्दा बिरामीलाई धेरै टाढा–टाढा पुगेपछि मात्र परीक्षण तथा उपचार पाइने हुनाले पनि पूर्ण रुपले उपचार गर्न अप्ठ्यारो भएको छ।
क्षयरोगका किटाणुले औषधिमाथि शक्ति बढाउने (मल्टी ड्रग रेसिस्टेन्ट टिबी): क्षयरोग नियन्त्रणमा मल्टी ड्रग रेसिस्टेन्ट क्षयरोग हुनु ठूलो चुनौती हो। किनभने क्षयरोगको उपचारमा दिइने रिफाम्पिसिन, आइसोनियाजाइड, पाइरिजिनामाइड र इथाम्बुटोल गरी ४ किसिमका औषधिमध्ये रिफाम्पिसिन र आइसोनियाजाइड कम्तीमा दुई किसिमका औषधिमाथि क्षयरोगका किटाणुले शक्ति पैदा गरेमा त्यसलाई ‘मल्टी ड्रग रेसिस्टेन्ट क्षयरोग’ भनिन्छ र निको पार्न मुश्किल पर्छ। यदि क्षयरोगका बिरामीले स्वास्थ्यकर्मीको सल्लाह अनुसारका औषधि नियमित रुपमा नखाएमा, एक पटक सुरु गरेपछि पूरा औषधि नखाई बीचैमा छोडेमा, घर बाहिर यात्रा गर्नुपर्दा औषधि नलगी खान छुटाएमा यस्तो समस्या आउँछ। नेपालमा यस्तो खतरनाक मल्टी ड्रग रेसिस्टेन्ट टिबीको समस्या बढ्दै गइरहेको छ।
क्षयरोग र एचआइभी सह–संक्रमणः नेपालमा क्षयरोग र एचआइभी सँगसँगै संक्रमण समस्या बढ्दै गइरहेको छ। क्षयरोग र एचआइभी संक्रमितमा रोगसँग लड्नसक्ने क्षमता हराउँदै जान्छ र जुनसुकै रोगले पनि सजिलै संक्रमण गर्न सक्छ। त्यसकारण क्षयरोगीलाई एचआइभी संक्रमण हुन गएमा र एचआइभी संक्रमितलाई क्षयरोगको संक्रमण भएमा व्यक्तिको शारीरिक, आर्थिक, पारिवारिक र सामाजिक अवस्था समेत नाजुक बन्न सक्छ। अचेल एचआइभी संक्रमित व्यक्तिमा क्षयरोगको संक्रमण समेत बढेको छ र क्षयरोग÷एचआइभी संक्रमणको कारणले मृत्यु हुनेको संख्या पनि बढेकोले मुलुककै सामाजिक तथा आर्थिक अवस्थामा नकारात्मक असर परेको छ। एचआइभी संक्रमित व्यक्तिहरुमा क्षयरोगको संक्रमण हुने दर १० प्रतिशतभन्दा बढी हुन्छ।
क्षयरोगको सर्वेक्षणः क्षयरोगका नयाँ बिरामीको पहिचान गर्न, उपचार सुरु गरी नियमित गर्न र उपचारमा रहेका बिरामीलाई पूरा औषधि सेवनमा परामर्श दिनु नै क्षयरोग नियन्त्रणको महत्वपूर्ण कदम हो। तर मुलुकभरिका सबै क्षयरोगीको पहिचान, परीक्षण गरी उपचार गर्न सकिएको छैन भने पहिचान गरिएका बिरामीको ८५ प्रतिशत मात्र सफल उपचार हुने साथै १७ हजारभन्दा बढी नयाँ र छिपेर बसेका क्षयरोगीको खोजपड्ताल भएको छैन।
क्षयरोगको सफल उपचारः नेपाल सरकारले निःशुल्क वितरण गरिएका औषधि नियमित सेवन गरेको खन्डमा मात्र क्षयरोगको उपचार सफल मानिन्छ। तर ८५ प्रतिशत मात्र भएको क्षयरोगको सफल उपचार दर भएकोले पनि उपचारमा समस्या छ।
क्षयरोग तथा क्षयरोगीको व्यवस्थापनः मुलुकमा क्षयरोगको नियमित र पूर्ण रुपमा परीक्षण, परामर्श र उपचार गर्न ४ हजार ३ सय ४४ जति उपचार केन्द्र र उपकेन्द्र समेत सञ्चालित छन्। ती केन्द्रबाट क्षयरोगीलाई नियमित र पूरा अवधिसम्म औषधि खानुपर्ने, घर बाहिर कतै जानुपर्दा औषधि लिएर जानुपर्ने कुरामा राम्ररी परामर्श दिइएको पाइँदैन। क्षयरोग नियन्त्रण कार्यक्रममा स्वास्थ्य सञ्जाल लगायत समुदाय स्तरसम्म अभिमुखीकरण तालिम, शंकास्पद क्षयरोगीको परीक्षण, परामर्श तथा उपचार व्यवस्थापनमा कमी देखिन्छ।
सुपरिवेक्षण तथा अनुगमनः क्षयरोग नियन्त्रण कार्यक्रममा सबै सरोकारवालालाई अभिमुखीकरण, आधारभूत, पुनर्ताजगी तालिम दिइयो कि दिइएन? खोजपड्ताल, परामर्श, परीक्षण र उपचार गुणस्तरीय छ कि छैन? सुधारका लागि सुपरिवेक्षण तथा अनुगमन अत्यन्त फितलो देखिन्छ।
क्षयरोगका बिरामीको स्वास्थ्य प्रबर्धन
– दुई हप्तासम्म खोकी र ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्न जाने।
– क्षयरोग जटिल सरुवा रोग भएपनि स्वास्थ्यकर्मीको परामर्शमा निःशुल्क पाइने परीक्षण, परामर्श र औषधि नियमित रुपमा पूरा समय (६ देखि ८ महिना)सम्म सेवन गरेमा निको हन्छ।
– सूर्ति मिसाएर बनाइएका कुनै पनि पदार्थ, लागुपदार्थ वा औषधि र मादक पदार्थ सेवन नगर्ने, यदि सेवन गरेको भएमा तुरुन्तै छोडिदिने।
– घरबाट टाढा जानु परेमा पनि साथमा औषधि लगी नछुटाई खाने, बीचैमा औषधि खान छोडेमा मल्टी ड्रग रेसिस्टेन्ट टिबी हुनसक्छ, यो अत्यन्त जटिल अवस्था हो।
– सधैं खाने खानेकुरा, गेडागुडीको रस, दूध, फूल, नजिकै पाइने र मौसम अनुसारका फलफूल खाने
– क्षयरोगीले अनिवार्य रुपमा एचआइभी परीक्षण गर्नुपर्छ र एचआइभी संक्रमितले अनिवार्य रुपमा क्षयरोगको परीक्षण गर्नुपर्छ। यदि एचआइभी संक्रमण भएको यकिन भए एचआइभी एड्स र क्षयरोगको औषधि सँगसँगै खान सकिन्छ।
– निशुल्क परीक्षण, परामर्श र औषधि सेवन गरी क्षयरोगलाई अन्त्य गर्ने समय यही हो।
– दुई हप्तासम्म खोकी लागेमा नजिकको स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण, परामर्श र औषधि पाइन्छ।