स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ। यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ। गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ।
आहार विशेषज्ञका अनसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी आवश्यक हुन्छ। तर गर्भावस्थाका दौरान यतिले मात्र पुग्दैन। फुड एण्ड न्युटिसन विशेषज्ञका अनुसार गर्भावस्थामा महिलालाई ३५० अतिरिक्त क्यालोरी आवश्यक हुन्छ। अर्थात् गर्भवतीले आफ्नो खानाबाट २३०० सम्म क्यालोरी प्राप्त गर्नुपर्छ। पर्याप्त मात्रामा भिटामिन, खनिज, फाइबर, आइरन, जिंक र क्याल्सियम लिनुपर्छ।
गर्भावस्थाको सुरुवाती महिना
गर्भावस्थाको पहिलो तीन महिनामा फोलिक एसिडयुक्त खाद्यपदार्थ सेवन गर्नुपर्छ। यसका साथै आइरनयुक्त पदार्थ बढी नै सेवन गर्नुपर्छ। यसले शिशुको राता रक्तकोष निर्माणमा मद्दत गर्छ। यो समयमा बिहान शरीर असामान्य महसुस हुने समस्या हुन्छ। यसको समाधानका लागि भिटामिन बी ६ लिनुपर्छ। क्याफिनयुक्त चिज सेवन कम गर्नुपर्छ। सामान्यतः डाक्टरहरुले पहिलो तीन महिनामा दिने डाइट चार्ट आवश्यक पोषक तत्वलाई ध्यानमा राखेर बनाउछन्।
यी चिजबाट नडराउनुस्
गर्भावस्थाका दौरान कारणविना नै थकान महसुस हुन्छ। यसको मुख्य कारण हर्मोनमा आउने परिवर्तन नै हो। यस्तो अवस्थामा आरामको जरुरत हुन्छ। यसका अलावा पटक¬पटक पिसाब लाग्ने र बान्ता आउने समस्या पनि हुन्छ। जुन सामान्य मानिन्छ।
कस्तो खाने ?
ब्रेकफास्टमा ब्राउन ब्रेड, एक कचौरा ओट्स, दाल, साबुदाना, दुध, दही, अण्डाको सेतो भाग, डाइजेस्टिभ बिस्कुट खान सकिन्छ। यस्तै, डिनरमा ओमेगा थ्रि फ्याटी एसिड, भिटामिन डी, बिटा क्यारोटिन, क्याल्सियमयुक्त खानाहरु डाइट चार्टमा राख्न सकिन्छ। ओमेगा थ्रि फ्याटी एसिडयुक्त खाद्यपदार्थ शिशुको मष्तिष्क विकासका लागि फाइदाजनक हुन्छ भने क्याल्सियम र भिटामिन डीले शिशुको दाँत र हड्डीको विकासमा भूमिका खेल्छन्। आइरन पुरै ९ महिना आवश्यक हुन्छ। आइरनयुक्त खाद्यपदार्थसँगै कफी या चिया सेवन गर्नुहुन्न। किनकि, चिया र कफीमा भएको टेनिन नामक तत्वले आइरन शरीरमा शोसिन दिँदैंन।
शिशुको तन्तुहरुको विकासका लागि नियमित रुपमा दूध पिउनु आवश्यक हुन्छ। दैनिक नास्ता र बेलुकीको खानापछि गरेर दिनभरमा ७५० मिलिलिटर दूध पिउनुपर्छ। यस्तै विकसित भइरहेको शिशुका लागि पानीका अलावा तरल पदार्थ सेवन गर्नुपर्छ।
तौलमा ध्यान दिनुपर्छ
गर्भावस्थाका दौरान १० देखि १३ किलो तौल बढ्नु पर्छ। हरेक तीन महिनामा एक देखि दुई किलो तौल बढ्नु उपयुक्त मानिन्छ। विज्ञहरु गर्भवती महिलाले दिनहुँ हिडडुल गर्ने र गहिरो श्वास लिने अभ्यास गर्ने सल्लाह दिन्छन्।