पछिल्लो समय नेपालमा जंकफुड अर्थात् पत्रु खाना खाने क्रम ह्वात्तै बढेको छ। जंकफुडका कारण मानिसहरुमा रोगको भार पनि बढ्दो क्रममा छ। जंकफुडका कारण सबैभन्दा धेरै असर बालबालिकामा परिरहेको छ। जंकफुडले बालबालिकाको स्वास्थ्यमा पार्ने असरका विषयमा जनस्वास्थ्यविद् डा अरुणा उप्रेतीसँग बिन्दु शर्माले गरेको कुराकानी :
जंकफुडमा बालबालिकाहरु आर्कषित हुनुको खास कारण के होला?
जंगफुडमा बालबालिकाको आकर्षण बढ्नुमा मुख्य दुई कारण छन्। पहिलो कारण, अभिभावकले आफ्ना छोराछोरीलाई भन्सामा पाक्ने खानेकुराको महत्वबारे नसिकाउनु र घरमा पकाएको खानेकुरा भन्दा प्याकेटका खानेकुरामा बानी पारिदिनु हो।
आमाबुबाको मानसिकता कस्तो छ भने, खाना खान नमान्ने बच्चाले चाउचाउ, कुरमुरे, चाउचाउ जस्ता प्याकेटका खानेकुरा मिश्रण गरेर ख्वायो भने खान्छ।
शिशु अवस्थादेखि नै बजारमा पाइने प्याकेजिङ खानेकुरा खुवाउने बानी बसालेपछि छोराछोरीमा पछिसम्म त्यो लत हट्दैन। बाबुआमाले साना नानीहरुलाई स्कुल जाँदा खाजाका रुपमा चाउचाउ, बिस्कुट, कुरमुरे जस्ता पत्रु खाना पठाउने गरेको देखिन्छ। अभिभावककै सोचाइ यस्तो भएपछि बालबच्चाको आकर्षण जंगफुडमा हुने नै भयो।
दोस्रो कारण, सरकारको गलत नीति हो। किनभने टोलटोलमा राखिएका होडिङबोर्ड र विभिन्न स्थानमा राखिएका प्रचार सामग्रीले बालबालिकालाई जंगफुडप्रति आकर्षित गरिरहेको छ। यस्तो प्रचारलाई सरकारले नियन्त्रण गर्न सकेको छैन। जंकफुडको असरको बारेमा अभिभावकमा चेतना जगाउन सकिरहेको छैन। त्यसले पनि बालबालिकालाई जंगफुडप्रति आकर्षित गर्न मद्दत गरिरहेको छ।
जंकफुडले बालबालिकामा कस्तो असर पारेको छ?
जंकफुडको असर तत्काल त नदेखिएला तर भविष्यमा भयावह स्थिति ल्याउनेमा शंका छैन। भन्सामा पाक्ने दाल, भात, तरकारी, रोटी, आलु, भटमास, मकै, बारीमा फलेको मौसम अनुसारका फलफूल हामीले बिर्सिएका छौं।
जंकफुडले बालबालिकालाई चाहिने पौष्टिक तत्वमा कमी ल्याउँछ। घरवरपर पाइने खानेकुरा छोडेर बाहिरी प्याकेजिङ खानेकुराले क्याल्सियम, भिटामिन, मिनरल्स जस्ता तत्वहरु नपुग्ने हुँदा बच्चा कुपोषित भई शारीरिक, मानसिक र संवेगात्मक विकासमा रोकावट आउँछ। प्याकेजिङ खानेकुरामा अत्यधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुने हुनाले बालबालिकामा मोटोपन मात्रै देखिने तर भित्र पौष्टिक तत्व नहँुदा सानै उमेरमा उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुने जस्ता समस्या देखिन्छन्।
बच्चालाई जंकफुड खुवाउन रुचाउने अभिभावकलाई के सल्लाह दिनुहुन्छ?
घरको खाना नदिएर पिज्जा, बर्गर, चाउचाउ, बिस्कुट, केक लगायतका खानेकुरा दिने अभिभावकले सम्झनुहोस्, तपाईं आफ्ना बालबालिकालाई श्राप दिँदै हुनुहुन्छ। ‘तँ जिन्दगीभर बिरामी भएर बाँचेस्, कहिल्यै स्वस्थ नभएस्, तेरो बुद्धि भ्रष्ट होस्, मुटु कमजोर होस्। हड्डीहरु मक्किएर जाओस्, शारीरिक र मानसिक रुपमा पनि तँ सधैं सुस्त रहेस्,’ छोराछोरीलाई यस्तो श्राप दिँदै हुनुहुन्छ।
परिवारका सदस्यले सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि, घरको खाना खाएन भनेर बालबालिकालाई खानामा जंकफुड मिसाएर खुवाउने, त्यति गर्दा पनि मानेन भने मोबाइल दिएर खुवाउने बानी कहिल्यै गर्नुहुँदैन। उनीहरुलाई आफूसँगै राखेर घरकै खाना खुवाउने गर्नुपर्छ।
अर्को कुरा, बच्चाले हातले भात उठाएर खाँदा हात र मस्तिष्कको सञ्चारमा पनि भूमिका खोलेको हुन्छ। बच्चाले खाना खाँदा पोख्छ, फोहोर गर्छ। तर त्यो उसको सिकाइको प्रक्रिया हो। परिवारमा सबै जना सँगै बसेर खाँदाको आनन्दले पनि बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। त्यसकारण बालबालिकालाई जसरी सकिन्छ, जंकफुडको बारेमा बानी नपार्न र परिसकेको बानी हटाउन अभिभावकले भूमिका खेल्नुपर्छ।
बच्चालाई स्कुल पठाउँदा होस् वा घरमा खाजा खुवाउँदा होस्, घरकै खाजा चिउरा, चना, अन्डा, आलु, भटमास, मकै भुटेर खुवाउने बानी पार्ने हो भने बालबालिको स्वास्थ्यमा समस्या नै आउँदैन।
जंकफुडको विषयमा बाबुआमा आफ्ना सन्तानका लागि केही पनि कडा बनिदिनुपर्छ, ताकी उनीहरुलाई घरकै खाना खुवाउन सकियोस्।
जंकफुड नियन्त्रणमा व्यक्ति, समाज र राष्ट्रबाट के गर्नुपर्ला?
सबैभन्दा पहिले स्कुलका शिक्षकहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। बालबालिकाले आमाबुबाको भन्दा पनि शिक्षकले भनेका कुराहरु मनन गर्छन्। घरमा खाजा बनाउने प्रक्रियामा पनि छोराछोरीलाई सामेल गराउने गर्नुपर्छ, जसले गर्दा उनीहरुलाई कुन खानेकुराको महत्व कस्तो हुन्छ भनेर जानकारी होस्।
स्कुल र समुदायबाट नै जंकफुडलाई निरुत्साहित गर्ने खालको नीति सरकारले ल्याउनु जरुरी छ। बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै आमसञ्चारबाट पनि जंकफुडको बारेमा सूचना प्रवाह गर्नुपर्छ। ताकि बालबालिकालाई जंकफुड होइन, घरकै खानामा आकर्षित गर्न सकियोस्।
भिडियो