घटना ५र६ वर्ष पहिलेको हो। त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा एक बालक आँखा जाँच गराउन धाइरहन्थे। प्रत्येक पटक अस्पताल आउँदा ती बालक आफूसँग पैसा नभएकोले निःशुल्क उपचार गराइदिन अनुरोध गर्थे। करिब १२ वर्षका बालक बारम्बार अस्पताल धाइरहेको देखेपछि नर्स निर्मला शाक्यलाई ती बालकबारे बुझ्ने उत्सुकता जाग्यो।
निर्मलाले बुझ्दा थाहा भयो, होटलमा काम गर्ने ती बालकको आँखामा संक्रमण भएको रहेछ। उपचार गरे निको हुन्छ भन्ने बालमस्तिष्कलाई ज्ञान त थियो तर उपचार गर्ने पैसा थिएन। आफ्नो समस्या निको हुन्छ भन्ने थाहा पाएर बालक बारम्बार अस्पताल धाइरहेका थिए।
सबै कुरा थाहा पाएपछि नर्स निर्मलाको मन भारी भयो। काठमाडौंमा एक्लै बसेर होटलमा भाँडा माझ्ने बालकको माया लाग्यो। उनले तुरुन्तै उपचारको व्यवस्था गरिन्। आफैंले औषधि किनिदिइन्। उपचार पाएपछि बालकमा आएको खुसी उनलाई अहिले पनि याद छ। ती बालकको खुसीले निर्मलालाई पनि खुसी बनायो। बालक त उपचार गरे, गए तर निर्मलालाई अहिले पनि उनको सम्झना आइरहन्छ।
अस्पतालमा देशभरका हरेक मानिस आउँछन्। दयालु र लुटेरा प्रवृत्तिका दुवैखाले मानिस उनले देखेकी छिन्।
स्वास्थ्य खबरपत्रिकासँग आफ्नो अनुभव सुनाउने क्रममा उनी २७ वर्ष अघि फर्किन्। नेपाल आँखा अस्पतालमा काम गरेको केही समय मात्र भएको थियो। धादिङका ७० वर्षीया वृद्ध उपचारका लागि भर्ना भएका थिए। ती बिरामीको रेखदेखको ड्युटी निर्मलाको थियो।
ती वृद्धको शल्यक्रिया गर्नुपर्ने थियो। उनीसँग एक युवा पनि थिए। ती युवाले वृद्धलाई गरेको स्याहारसुसार देख्ने जोकोहीले पनि आफ्न्त नै होला भन्ने अनुमान लगाउन सक्थे। तर, केही समयपछि नै ती वृद्ध रुँदै आए। होटलमा चिया खान लाने भन्दै युवाले वृद्धको साथमा भएको रकम लुटेछ।
वृद्धले उपचारका लागि ६ सय रुपैयाँ ल्याएका थिए। निर्मला भन्छिन्, ‘त्यो समयमा ६ सय धेरै रकम थियो। अहिलेजस्तो एटिएमको व्यवस्था थिएन। ती वृद्धलाई मैले पैसा दिन नसके पनि निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइदिएको थिएँ।’ घर जाने समयमा अन्य उपचार गर्न आएका बिरामीसँग पैसा मागेर बाटाखर्च दिएर पठाएको उनले बताइन्।
हुनत अहिले पनि यस्ताखाले घटना अस्पतालमा भइरहन्छन्। तर जागिरको सुरुवाती दिन भएर होला, पहिलेका घटना उनलाई सम्झना आइरहन्छन्।
भोजपुरमा जन्मेकी निर्मला शाक्यकी दिदी नर्स थिइन्। दिदीको काम र पाउने सम्मानले निर्मलाको मन नर्सिङतिर आकर्षित भएको थियो। ‘एलएलसीपछि म पनि स्वास्थ्य सेवामै लाग्छु भन्ने सोच बनाइसकेकी थिएँ। पास भएपछि पाल्पा नर्सिङ कलेजमा अनमी पढ्नका लागि २०४१ सालमा भर्ना भएँ,’ उनले विगत बताइन्, ‘दिदीले मेरो इच्छा जानेरै भर्ना गरिदिनुभएको थियो, त्यो बेला धेरै खुसी भएकी थिएँ।’
निर्मलाका दाजुभाइ छैनन्। तीन दिदीबहिनीमध्ये माइली हुन् उनी। त्यो बेला छोरीले पढ्न पाउनु ठूलो कुरा मानिन्थ्यो। गाउँलेहरु अर्काका घर जाने जातलाई पढाएको भनेर खिसी गर्थे। तर, उनका बुबाआमाले पढाइको महत्व बुझेका थिए। गाउँलेको आलोचना छोरीको पढाइभन्दा ठूलो थिएन। त्यसैले बेवास्त गरेरै निर्मलालाई पढाए।
‘छोरी मात्र भएकाले आमाबुबालाई छोरा छैनन्, छोरी अर्कोको घर जान्छन्, जति पढाए पनि के गर्नु, बुढेसकालमा कसले पाल्छ भनेर गाउँलेले व्यंग्य गर्दा निकै नरमाइलो लाग्थ्यो,’ उनले भनिन्, ‘गाउँले र आफन्तका कुरा सुनेपछि मनमनै पढेर आमाबुबालाई छोराले भन्दा सुखले राख्छु भन्ने अठोट गरेको थिएँ।’
पहिले घरबाट बाहिर नबसेकी निर्मलालाई पाल्पामा होस्टेल बस्दा निकै गाह्रो भयो। ‘घरको याद आए पनि अहिले जस्तो सञ्चारको साधन नभएकोले कुरा गर्न पाइँदैन्थ्यो,’ उनले भनिन्, ‘त्यतिबेला टेलिफोनको सुविधा त थियो तर कुरा गर्न घन्टौं लाइन बस्नुपथ्र्यो।’
घरमा टेलिफोनको सुविधा नभएकोले लाइन बसेरै पनि गाउँमा भएका आमा बुबासँग कुरा गर्न नपाइने उनले सम्झिइन्। भनिन्, ‘काठमाडौंमा भएकी दिदीसँग सन्चो–बिसन्चो सोध्थे। अरु दिन त पढाइमै बित्थ्यो। बिदामा आमाबुबाको यादले सताउने। अनि ढोका बन्द गरेर रुन्थेँ।’
जब पढाइ सकियो जागिर खाने कुरा भयो। पहिलो जागिर वीर अस्पतालबाट सुरु भयो। करारमा उनले त्यहाँ काम सुरु गरिन्। सरकारी जागिर अहिले मात्र होइन, त्यो समयमा पनि रोजाइमा पथ्र्यो। साथीहरुको लहलहैमा उनले पनि लोकसेवाको फारम गरिन्। परीक्षा दिइन्, नाम पनि निस्कियो।
नाम त निस्किए पनि उनको पहिलो पोस्टिङ महोत्तरीको जलेश्वरमा भयो। तर सरकारी जागिर खाने सपना भए पनि राजधानीबाहिर जानुपर्ने भएपछि मन लागेन उनलाई। ‘राजधानीबाहिर सरकारी अस्पताल असुरक्षित हुन्छन्। सुत्ने कोठाका झ्याल, ढोका पनि राम्रो हुँदैन। शौचालय बाहिर हुन्छ। अविवाहित महिला बाहिर जान हुँदैन भनेर घरबाट पनि जान दिनुभएन,’ उनले भनिन्।
सरकारी जागिरमा नगएपछि उनले समितिमार्फत त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा काम पाइन्। अनमी भएर काम गर्दा निकै रमाइलो लाग्थ्यो उनलाई। ‘सबै बिराम डाक्टरसाब भनेर सम्बोधन गर्थे, माया गर्थे। निको भएर घर जाने बेलामा खुसी हुँदै आर्शिवाद दिन्थे,’ उत्साहित हुँदै निर्मलाले सुनाइन्।
काम गर्न थालेको दुई वर्ष भएको थियो, निर्मलाले सोही समयमा बेतलबी बिदामा स्टाफ नर्स पढ्ने अवसर पाइन्। वीर अस्पतालको नर्सिङ कलेजमा भर्ना भइन स्टाफ नर्स पढ्न। उनी वीर अस्पतालको पहिलो ब्याजमा पढ्न पाउने मध्येकी एक हुन्।
‘हामीले पढ्ने बेलामा धेरै दुःख थियो,’ निर्मला भन्छिन्, ‘सबै कुरा पनि आफैंले व्यवस्था गर्नुपथ्र्यो। खाना पकाउनेदेखि पानीको व्यवस्था पनि आफैं गर्नुपर्ने। होस्टेलमा बस्दा सुत्ने खाट व्यवस्था नभएकोले भुर्इंमा म्याट्रेस ओछ्याएर सुत्थ्यौं।’
नेपाली माध्यममा पढेकी उनलाई अंग्रेजी माध्यममा पढ्न पनि समस्या भएको थियो। टेक्निकल शब्द बुझे पनि लेख्न भने निकै गाह्रो हुन्थ्यो। त्यसमाथि शिक्षकले पढ्नुपर्ने कोर्षभन्दा पनि बढी पढाउने हुँदा परीक्षामा फेल हुने डरले सताउने गरेको उनले सम्झिइन्।
‘शिक्षकले पढ्नुपर्नेभन्दा पनि बढी (भास्ट) पढाउँदा के पढ्ने के थाहै नहुने। त्यसैले फेल हुने डरले परीक्षा आउने समयमा अन्य कलेजका साथीहरुको नोट मागेर पढ्थ्यौं,’ उनले भनिन्।
२७ वर्षअघि अनमीबाट सुरु भएको उनको यात्रा अहिले ओपिडी इन्चार्जसम्म पुगेको छ। पहिला नर्स भएर काम गर्दा र अहिले इन्चार्ज भएर काम गर्दा उनले धेरै भिन्नता पाएकी छन्।
उनी भन्छिन्, ‘जुनियर भएर काम गर्दा जिम्मेवारी कम हुन्थ्यो। ड्युटी सकिएपछि घर जान पाइन्थ्यो। अरु मतलब हुन्थेन। इन्चार्ज भएपछि जिम्मेवारी बढी हुन्छ। अरुले गरेको गल्ती पनि आफूले जिम्मा लिनुपर्ने हुन्छ,’ इन्चार्ज हुँदा बढी सर्तक हुनुपर्ने उनको अनुभव छ।
अस्पतालका सबै वार्डमा कामको अनुभव बटुलेकी निर्मलालाई सबै वार्ड चुनौतीपूर्ण लाग्छन्। आँखा अस्पतालमा काम गरिरहेकी उनले स–साना हेलचेक्र्याइँले आँखामा गम्भीर समस्या हुने देखेकी छिन्। ‘आँखा भनेको संवेदनशील अंग हो। कहिलेकाहीँ नर्सको सानो गल्तीले पनि आँखामा गम्भीर समस्या हुनसक्छ। सेवा गर्दा निकै होसियार हुनुपर्छ।’
आँखामा काम गर्ने नर्सले कुनै पनि समस्यालाई सामान्य समस्या हो भनेर हेलचेक्र्याईं गर्न नहुने उनको भनाइ छ।