डडेल्धुरा- सरकारले स्पेसल केयरका लागि पठाएका चिकित्सकलाई डा गोविन्द केसीले फिर्ता पठाइदिएका छन्।
डडेल्धुरामा १७औँ अनसन बसिरहेका डा केसीको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा कार्यरत फिजिसियन डा राजेश मण्डललाई डडेल्धुरा पठाएको थियो।
आजै बिहान डडेल्धुरा पुगेका डा मण्डललाई डा केसीले आफूलाई डडेल्धुरा अस्पतालम दरबन्दी अनुसारका थप चिकित्सक चाहिएको भन्दै फर्कन भनेका हुन्। डा केसीले फर्कन भनेपछि डा मण्डल आजै नेपालगञ्ज फर्कन लागेको बताइएको छ।
डेडल्धुरा अस्पतालमा २० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर २ स्थायी र एक करार गरी तीन जना चिकित्सक मात्र हाल कार्यरत छन्। डा केसीले अस्पतालमा पहिले नै फिजिसियन रहेको र उनीहरुले नै आफ्नो उपचार गर्ने भन्दै डा मण्डललाई फर्कन भनेका हुन्।
सोमबार थप उपचारका लागि काठमाडौँ ल्याउने सरकारको प्रयास असफल भएको थियो। काठमाडौं ल्याउन हेलिकोप्टर पठाए पनि स्थायीय जनताले जबर्जस्ती लैजान नदिने भन्दै विरोध गरेका थिए।
डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। डडेल्धुरा अस्पतालमा अहिले जनशक्ति र उपकरण अभाव छ। चिकित्सकले डा केसीको स्वास्थ्यको पारामिटर खस्कँदै गएको बताएका छन्।