काठमाडौं– कानून तथा न्याय मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल मन्त्रीमण्डलमा समेटिएका हुन्। मन्त्री मण्डल पुनर्गठनका क्रममा बहालवालामध्ये जिम्मेवारी हेरफेर हुनेमा उनी परेका छन्।
सत्ता साझेदार समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधान मन्त्री उपेन्द्र यादवसँग उनको जिम्मेवारी साटफेर भएको हो। मन्त्री ढकाललाई स्वास्थ्य मन्त्री बनाउनुमा उपप्रधान मन्त्री यादवलाई कारबाही गर्नु एउटा कारण हो तर त्यति मात्रैले उनि स्वास्थ्य मन्त्री भएका होइनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मध्येमा पर्ने उनको रुचिको मन्त्रालय हो स्वास्थ्य। परिवारका सदस्यहरुको उपचारका क्रममा स्वास्थ्य संस्था धाइरहनु पर्ने भएकाले मन्त्री ढकाल यस क्षेत्रका समस्यासँग साक्षात्कार गरिरहन्छन्। स्वास्थ्यमा आफूलाई महशुस भएका विषयमा उनी शिर्ष नेताहरुसँग कुरा गरिरहन्छन्।
नेपालीमा उखान छ- कि परेर जानिन्छ क पढेर। उनले आफूलाई परेर स्वास्थ्यका विषयमा जानकारी लिएका छन्। एक तहसम्म स्वास्थ्य क्षेत्रका समस्या पहिचान गरेका उनी सुधारमा केही काम गर्न सक्छन् भन्ने अपेक्षा प्रधानमन्त्री ओलीको छ।
ढकाल ओली निकटस्थ मात्रै होइनन्, ओलीले आफ्नो टिममा अघि बढ्न सघाइरहेका अर्को पुस्ताका नेतामध्ये एक हुन्। त्यसैले जनतामाझ चर्चा हुने मन्त्रालय दिँदा उनको राजनीतिक करियर अझै उँभो लाग्न सक्ने आंकलन गरेका छन्। जनताले प्रत्यक्ष प्रभाव महशुस गर्ने मन्त्रालय भएका कारण स्वास्थ्यमा भएको परिवर्तनको जश सरकारले प्राप्त गर्नेछ।
प्रधानमन्त्री ओली आफैं स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। यसकारण उनको स्वास्थ्यका विषयसँग एक प्रकारको सामिप्यता छ। त्यसैले स्वास्थ्य मन्त्रालयले लिने निर्णयमा उनी चनाखो भएर हेर्छन्। जसका कारण पूर्व स्वास्थ्य मन्त्री यादवले हस्तक्षेप महशुस गरेका थिए। यही कारण प्रधानमन्त्री ओलीसँग सम्बन्ध बिग्रिएर बोलचाल बन्दको अवस्थासम्म पुग्यो। आफू निकटस्थ नेतालाई स्वास्थ्य मन्त्री बनाउँदा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका निर्णय आफू अनुकुल गराउन सक्नेछन्।
ढकाल कानून मन्त्री भएपनि मन्त्री भएको अनुभूति नभएको आफू निकटस्थ नेताहरुलाई बताइरहन्थे। जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको अपेक्षा उनले प्रधानमन्त्री ओलीलाई पनि दर्शाइसकेका थिए। पुनर्गठनको निहुँमा उनको अपेक्षा पूरा भएको हो।
स्वास्थ्य संयोग
मन्त्री ढकालले स्वास्थ्य क्षेत्रमै लगानी गरेर चर्चित बनेका चिकित्सा पृष्ठभूमीका सुनिल शर्मालाई मोरङ ३ मा पराजित गरेर सांसद बनेका हुन्। पूर्वकै चर्चित नोबेल मेडिकल कलेजका सञ्चालक हुन् शर्मा।
स्वास्थ्य शिक्षासँग जोडिएको विषयमा भएको विवादले ढकाललाई मन्त्री बन्ने अवसर मिलेको हो। चिकित्सा शिक्षासँग जोडिएको विषयमा विवादित अभिव्यक्ति दिएपछि कानून मन्त्रीबाट शेरबहादुर तामाङले राजिनामा दिए। उनले मन्त्री बन्ने अवसर पाए।
यतिबेला उपप्रधानमन्त्री समेत रहेका यादवलाई स्वास्थ्यमन्त्रीबाट विस्थापित गर्ने संयोग उनलाई मिलेको छ।
को हुन् ढकाल?
२०१८ साल कात्तिकमा तेह्रथुमको ओख्रेमा जन्मेका स्थानीय सिंहवाहिनी व्यवसायिक माध्यमिक विद्यालय, म्याङ्गलुङ्गमा अनेरास्ववियूको प्राक अध्यक्षबाट राजनीतिक सुरु गरेका हुन्।
ढकालले अनेरास्वियुको तेह्रथुम जिल्ला कमिटीको उपाध्यक्ष, अध्यक्ष, काठमाडौं जिल्ला कमिटीको कोषाध्यक्ष र अध्यक्ष हुँदै केन्द्रीय महासचिव भएर २०५३ माघ १६ गतेबाट बिदा लिएका थिए। २०७० समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका ढकालले संविधान मस्यौदा समिति सदस्य र संसदभित्र एमालेको प्रमुख सचेतको जिम्मेवारी समेत प्राप्त गरेका छन्।