ललितपुरको पाटनमा जन्मेका डा सन्दीप शाक्य हाल जापानमा छन्। परम्परागत उपचार सेवा प्रदान गर्ने वैद्य परिवारका डा शाक्यलाई सानैदेखि बिरामीको सेवा गर्ने इच्छा थियो। विद्यालय शिक्षा अध्ययनका क्रममा उनलाई परम्परागत उपचार सेवाभन्दा पनि आधुनिक चिकित्सातर्फ आकर्षण बढ्यो। मानभवनस्थित एभिएम स्कुलबाट एसएलसी पास गरेपछि उनले विज्ञान विषय लिएर डनबस्को स्कुलमा प्लस टु पढे। त्यसपछि उनले छात्रवृत्तिमा एमबिबिएस शिक्षा जापानमा पढ्ने अवसर प्राप्त गरे। डा शाक्यले स्वास्थ्य खबरपत्रिकासँग उनको चिकित्सा शिक्षाको यात्रा, जापानमा नेपाली डाक्टरका अवस्था लगायतका विषयमा यसरी सुनाए :
प्लस टु सकेपछि म एमबिबिएस अध्ययनको तयारीमा थिएँ। नेपालकै मेडिकल कलेजमा पढ्ने मेरो सोच थियो। जापानमा अध्ययनका लागि आउँछु भन्ने सोच थिएन। त्यही वर्ष जापानमा एमबिबिएस पढ्नका लागि छात्रवृत्ति खुलेको रहेछ। पहिला त मलाई थाहा थिएन। तर, पछि थाहा पाएँ। परीक्षा दिएँ। नाम निस्कियो। त्यसपछि मेरो जापान यात्रा सुरु भएको हो। सन् २००१ मा म जापान अध्ययनका लागि आएको हुँ। टोक्यो मेडिकल एन्ड डेन्टल युनिभर्सिटीबाट मैले एमबिबिएस र त्यसपछिको पोस्ट ग्र्याजुयट कोर्ष गरेको हुँ।
मैले मुटु रोगका विषयमा पिजी अध्ययन गरेको हुँ। हाल म आशी जेनरल अस्पतालमा कार्यरत छु। यो अस्पताल टोकियोको मध्य सहरभन्दा छेउमा चिवा भन्ने स्थानमा छ। मैले काम गर्न थालेको ११ वर्ष भइसकेको छ। म बस्ने सहरमा त नेपाली नै छैनन् होला। मैले भेटेको छैन। यहाँ फिलिपिन्स र भारतका मानिसहरु भने धेरै भेटिन्छन्।
यहाँको लाइसेन्स लिएर डाक्टरको रुपमा काम गर्न पाउँदा निकै खुसी लागेको छ। डाक्टरलाई यहाँ निकै राम्रो सेवा सुविधा दिने गरिन्छ। जापानी र विदेशीमा फरक गर्ने काम हुँदैन। आम्दानी मात्र नभई सम्मान पनि उत्तिकै छ यहाँ।
यो अस्पतालमा काम गर्ने क्रममा मैले एक जना जापानी बिरामीको उपचार गरेको थिएँ। ती बिरामीले पछि नेपालमा महावीर पुनको आविष्कार सेन्टरलाई आर्थिक सहयोग गर्नुभयो। ती बिरामीको मुटुमा समस्या छ। उहाँले जापानमा अरु डाक्टरहरुले मुटुमा पेसमेकर राख्नुपर्छ भन्दा मान्नुभएको थिएन। तर मैले सम्झाएपछि उहाँले मान्नुभयो।
उहाँसँगको कुराकानीका क्रममा मैले नेपालको कुरा गरेको थिएँ। उहाँले नेपालको बारेमा धेरै चासो दिएर सोध्नुभएको थियो। पछि उहाँले नेपालमा सहयोग नै गर्नुभयो। मैले उपचार गरेको बिरामीले नेपालका लागि त्यस्तो काम गर्दा मलाई निकै खुसी लागेको छ। चिकित्सकीय अभ्यासका क्रममा मैले धेरै बिरामीको उपचार गरेको छु। तर, उहाँलाई भने सँधै सम्झिरहने छु।
छात्रवृत्तिमा जापानमा पढ्न आएको हुनाले सुरुदेखि नै मलाई यहाँ निकै राम्रो माया र सम्मान मिलेको छ। नेपालबाट यहाँ पढ्न आउने बेलामा बरु मलाई जापानी भाषाको समस्या परेको थियो। जापानिज भाषामा नै मेडिकल शिक्षा पढ्नु थियो। निकै डराएको थिएँ। तर, यहाँ आइसकेपछि भने सुरुमा केही गाह्रो परे पनि पछि निकै सहज भयो। जापानिज भाषामा नै पढेको हुनाले अहिले त मलाई भाषाको कुनै समस्या छैन। बिरामीसँगको कुराकानीका क्रममा कहिलेकाँही म नेपालको हुँ भन्दा आश्चर्यमा पर्छन्। उनीहरु विदेशी भएर पनि कति राम्रो जापानिज भाषा बोलेको भन्दै झन् प्रशंसा गर्छन्। खुसी हुन्छन्।
जापानमा काम नै गर्न भनेर नेपाली डाक्टर आउने संख्या नगन्य छ। तर, यहाँ हरेक वर्ष विशेषज्ञ तहको अध्ययनका लागि आउने नेपालीको संख्या भने क्रमशः बढ्दै गइरहेको छ। यहाँ आउनका लागि मुख्य कुरा भाषा नै सिक्नुपर्ने हुन्छ। यदि भाषामा पोख्त भएर आउने हो भने नेपाली डाक्टरले जापानमा दामसँगै सम्मान पाउँछन्।