काठमाडौं– ‘मेरा नर्स बहिनीहरुले करारमा काम गरेको १८ वर्ष भयो, अब उनीहरुको स्थायी व्यवस्थापन गरिदिन् पर्यो।’
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निरिक्षणका लागि थापाथली पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल समक्ष अस्पतालकी नर्सिङ प्रमुख आशालक्ष्मी प्रजापतिले कार्यरत नर्सहरुको व्यवस्थापन नभए नर्सहरु पलायन हुने क्रम अझ बढ्ने दुखेसो पोख्दै थिइन।
उनीले भनिन् ‘हामीले पटकपटक अस्पतालमा कार्यरत बहिनीहरुलाई स्थायी गर्न माग गर्दै आएका छौँ सुनुवाई भएको छैन, उनीहरु यहाँ कुनै व्यवस्थापन नभएपछि विदेश पलायन हुने, अन्यत्र जाने क्रम बढेको छ। यसरी त हामीले सेवा दिनै सक्दैनौँ।’
हाल प्रसूति गृहमा १८२ जना नर्सिङ स्टाफ कार्यरत छन्।
अस्पतालमा हरेक २४ घन्टामा ६० जनाको डेलिभरी हुने गरेको छ, त्यसका लागि पर्याप्त मात्रामा नर्सिङ जनशक्तिको कमी छ। भएका नर्समा पनि ६० जना पनि स्थायी छैनन्।
अस्पताल कार्यरत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा शान्ति श्रेष्ठले अस्पतालमा स्पेशल विशेषज्ञ चिकित्सकको अभाव भएकाले जनशक्ति बढाउनुपर्ने माग राखिन्।
नेपालमा स्त्रीरोग उपचारमा ल्याप्रोस्कोपीको सेवा सुरु गरेको बताउँदै न्यून जनशक्ति भएकाले मन्त्रालयले अन्य चिकित्सकका लागि दक्षता अभिवृद्धि बढाउने तालिमको व्यवस्था गर्न आग्रह गरिन्।
एकसाता अघि प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी हेरफेर गर्दा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि उनी कानुन मन्त्रीका रुपमा जिम्मेवारीमा थिए।
प्रधानमन्त्रीले कानुन जिम्मेवारी सकेपछि स्वास्थ्य मन्त्रालय सरुवा गरेको बताउने मन्त्री ढकाल विभिन्न स्वास्थ्यका संरचना र अस्पतालहरुको स्थलगत निरिक्षण र बिफ्रीङ लिइरहेका छन्।
सोही क्रममा उनी बुधबार दिउसो प्रसूति गृह पुगेका थिए। अस्पतालका निर्देशक डा जागेश्वर गौतमले अस्पतालको अवस्था, सेवा, समस्या र अगामी योजनाबारे मन्त्रीलाई जानकारी गराएका थिए।
अस्पतालका निर्देशक गौतम र अन्य कर्मचारीको कुरा सुनेपछि मन्त्री ढकालले आवश्यकता अनुसार दरबन्दी थप्ने र जनशक्ति व्यवस्थापन गर्ने बताए।
उनले सबैतिरको अवस्था बुझेपछि प्राथमिकताका आधारमा गर्नुपर्ने कार्यको योजना बनाउने स्पष्ट पारे।
उनले भने, ‘सबैभन्दा भन्दा ठूलो समस्या समयोजनको छ। जसले मन्त्रालयमा जाँदा मान्छे पन्छाउँदै हिँडनुपर्ने अवस्था छ। सबै समस्या लिएर आएका छन्, त्यसको पनि उचित र न्यायपूर्ण व्यवस्थापन गर्नुपर्ने छ।’
आफु भन्दा अघिल्ला कार्यकालको अयोग्यताले समायोजनमा समस्या आएको उनले बताए। उनले ठूला कुरा गर्नुभन्दा काम गरेर देखाउने भन्दै विषयगत रुपमा सुझाव लिई हिजोका कामहरु पूर्ण गराउनेतर्फ अगुवाई गर्ने बताए।
मन्त्रीसँगै राज्यमन्त्री नवराज रावत, सचिव खगराज बराल पनि प्रसति पुगेका थिए। मन्त्री ढकाल र राज्यमन्त्री रावतले बुधबार बिहान बाँसबारीस्थित सहीद गंगालाल हृदय केन्द्रको पनि निरिक्षण गरेका थिए।