मुख्य समाचार

प्रसूति हिंसा : प्रसव व्यथाका बेला स्वास्थ्यकर्मीको व्यवहार कति सम्मानजनक?

अफ्रिका र एसियाका गरिब राष्ट्रका एक तिहाइभन्दा बढी महिलामाथि बच्चा जन्माउने समयमा शारीरिक यातनाका साथै अभद्र व्यवहार हुने गरेको पाइएको छ। अस्पतालमा प्रसूति हुँदा समेत महिलामाथि हुने यस्तो व्यवहारले प्रसूति हिंसा विश्वका धेरै स्थानमा अझसम्म पनि कायमै छ भन्ने हालै गरिएको एक अध्ययनले देखाएको छ।

नेपालमा पनि यस्ता घटना हुने गरेको छ।

काभ्रेकी रीता चौलागाईं यस्तै दुव्र्यवहार भोग्ने मध्येकी एक हुन्। शिर मेमोरियल अस्पताल बनेपामा बच्चा जन्माउँदा नर्सहरुले गरेको हप्कीदप्की उनलाई अझसम्म याद छ। ‘प्रसव व्यथा लागेका बेला निकै गाह्रो भइरहेको थियो,’ उनी २२ वर्षअघिको घटना सम्झिन्छिन्, ‘त्यही बेला ‘चुप लाग्नू’ भन्दै नर्सले थप्पड हानिन्। अहिलेका नर्सहरु त अलि ज्ञानी देख्छु, पहिले त साह्रै रुखो स्वभावका थिए।’ 

३० वर्षीया सञ्जु केसी पनि केही नर्स तथा डाक्टरको व्यवहार सम्मानजनक नपाएको बताउँछिन्। उनले आफूले त्यस्तो समस्या नभोगे पनि आफू सुत्केरी हुँदा अर्की एक महिलालाई नर्सले गाली गरेको देखिन्। ‘बच्चा पाउँदा गाह्रो हुन्छ, त्यो बेला कुनै पनि महिला अर्धबेहोसमै हुन्छन्,’ उनले भनिन्, ‘गर्भावस्था विशेष अवस्था हो भन्ने स्वास्थ्यकर्मीले बुझेका हुन्छन्, व्यवहारमा पनि कार्यान्वयन गरिदिनुपर्छ।’

भक्तपुरकी अनुष्का श्रेष्ठको भोगाइ भने फरक छ। गत जेठमा ललितपुरको किस्ट हस्पिटलमा बच्चा जन्माएकी उनले नर्स तथा डाक्टरबाट राम्रो व्यवहार भएको पाइन्। त्यसबेला श्रीमान् साथमा थिएनन्, उनले नर्सलाई बच्चाको फोटो सबैभन्दा पहिले श्रीमान्लाई ह्वाटस् एपमा पठाइदिन आग्रह गरेकी थिइन्। अस्पतालमा तीन दिनको बसाइमा ती नर्ससँग उनको राम्रो दोस्ती भइसकेको थियो। उनी ती नर्सलाई कहिल्यै भुल्न नसक्ने बताउँछिन्। 

त्यसैगरी, सिनामंगलकी प्रतीक्षा लामाले पनि आफूले बच्चा पाउँदा डाक्टर तथा नर्सबाट राम्रो व्यवहार गरेको सुनाइन्। उनले काठमाडौंकोथापाथालीस्थित प्रसूति गृहबाट प्रसूति गराएकी उनले राम्रो सेवा पाएको बताइन्।

माथि प्रस्तुत गरिएका उदाहरणमा प्रसव व्यथा लागेका बेला गर्भवतीले भोगेको अनुभव मिश्रित छ। (सबै घटना सत्य हुुन्, महिलाको नाम परिवर्तन गरिएको छ)। केहीले स्वास्थ्यर्मीबाट राम्रो व्यवहार गरेको बताएका छन् भने केहीले सम्मानजनक व्यवहार नदेखाएको गुनासो पोखेका छन्। 

कतिपय नर्सहरू भने बिरामीलाई नराम्रो व्यवहार गरिएको भन्ने कुरा झुठो भएको दाबी गर्छन्। प्रसुतिगृहको बर्थिङ सेन्टरमा कार्यरत नर्स बसन्ती पञ्च भन्छिन्, ‘हामीले बिरामीलाई नराम्रो होस् भनेर कहिल्यै चाहेका हुँदैनाँै, प्रसूति गराउँदा भनेको मानेनन् भने रिस उठे पनि चुप बस्छौँ तर गाली गर्दैनौं।’ कतिपय बिरामीका कुरुवा झगडालु हुने गरेको उनको अनुभव छ।

त्रिवि शिक्षण अस्पतालकी नर्सिङ मेट्रोन कविता देवकोटा आफूहरूबाट त्यस्तो व्यवहार नभएको बताउँछिन्। ‘हामी त डेलिभरी गराउँदा श्रीमान्लाई पनि सँगै राख्ने गरेका छौं। हाम्रो सेवाबाट सन्तुष्ट नै भएको पाएका छौँ,’ उनले भनिन्, ‘यहाँ डेलिभरी रुममा त्यति चाप हुँदैन, नर्स पनि प्रेसरमा छैनन्, त्यसैले त्यस्तो अमानवीय व्यवहार हामीकहाँ भएको छैन।’ 

विश्वको अवस्था
द ल्यान्सेट मेडिकल जर्नलको अध्ययनअनुसार नाइजेरिया, म्यानमार, घाना, गिनियाका महिलाहरुले पनि आफ्नो अनुमति बिना नै उच्च मात्रामा सिजेरियन सेक्सन र सर्जिकल कट गरेको बताएका थिए। धेरैले पेनकिलर बिना नै त्यस्तो अनुभव गरेको बताएका थिए। 

अध्ययनमा भनिएको छ, ‘प्रसवका बेला हुने यस्ता दुव्र्यवहार एकातिर मानवअधिकारको उल्लंघन हो भने अर्कातर्फ सुविधासहितको सुत्केरी सेवा लिन चाहनेको पैसाको खर्चमात्र।’ 

विश्व स्वास्थ्य संगठनको नयाँ अध्ययनमा २ हजारभन्दा बढी महिलासँग प्रसवका बेला तथा २६ सय महिलासँग बच्चा पाइसकेपछिको अवस्थामा अन्तर्वार्ता लिइएको थियो। त्यसमा ४२ प्रतिशत महिलाले बच्चा जन्माउने समय शारीरिक/मौखिक दुव्यर्वहार तथा विभेद गरिएको बताएका थिए। केही महिलालाई मुक्का हानिएको, गाली गरेको र जबर्जस्ती सुताउने गरिएको अध्ययनले उल्लेख गरेको छ। अध्ययनअनुसार कम उमेरका महिला तथा कम शिक्षितमा यस प्रकारका दुव्र्यवहार बढी हुने गरेको पाइएको छ। यसमा स्वास्थ्यकर्मीको गल्ती र उपेक्षा देखिन्छ भने प्रक्रियामा पनि बलजफ्ती गरेको पाइन्छ। 

बच्चा जन्मने समयभन्दा १५ मिनेट अगाडि र बच्चा पाउँदाको समयमा धेरैजसो दुव्र्यवहार हुने गरेको देखिएको छ। मिडवाइफ र चिकित्सकहरु त्यस समय असहयोगी हुने र धेरैले यसलाई शारीरिक तथा मौखिक दुव्र्यवहार तथा सजायका रुपमा रहेको अध्ययनले देखाएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार बच्चा पाउने क्रममा हुने दुव्र्यवहार विश्वभर नै देखिन्छ। विकसित देशमा समेत यो समस्या छ। यस्ता घटना भने थोरै मात्रामा बाहिरिन्छन्। महिलाहरु पनि खुलेर बोल्न चाहँदैनन्। अध्ययनले यस प्रकारका शारीरिक दुव्र्यवहार पूर्वी युरोपमा पनि पाइएको बताउँछ। रोम खानदानमा सुत्केरी महिलालाई आफ्नो नवजात शिशुसँग कयौँ दिनसम्म बिछोड गराइने उदाहरण छन्। त्यसैगरी ल्याटिन अमेरिका पनि सुत्केरी स्याहारका बेला अपमानजनक अभ्यास हुने गरेको देखिएको थियो। 

२ हजार १६ महिलामा गरिएको अध्ययनअनुसार १३ प्रतिशतको सिजेरियन सेक्सन र ७५ प्रतिशत योनीमा सर्जिकल कट अनुमतिबिना गरिएको पाइएको छ। त्यसैगरी ५९ प्रतिशत भजाइनल एक्जामिनेसन अनुमति बिना गरिएको पाइएको छ। कलिलो उमेरका र अविवाहित महिलामा अनुमति बिना भजाइनल एक्जामिनेसन गरिएको पाइएको छ। त्यसैगरी बच्चा जन्माइसकेका २ हजार ६ सय ७२ महिलामा गरिएको अध्ययनमा आधाभन्दा बढी वा ५७ प्रतिशत महिलामा दुखाइ कम गर्ने औषधि नदिइएको अध्ययन बताउँछ। केही महिलालाई बिल तिर्न नसक्दा अस्पतालमै राखिएको घटना पनि छन्। अध्ययन क्रममा महिलाहरुले आफ्नो रोजाइ, अनुमति लिने प्रक्रिया राम्रो बनाउने, प्राइभेसी मेन्टेन गर्नका लागि म्याटरनिटी वार्ड राम्रो बनाउने सुझाव दिएका थिए। 

समस्यामा कमी
भरतपुर अस्पतालका प्रसूति तथा स्त्री रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेलका अनुसार विगतका तुलनामा अहिले समस्या कम छ। ‘सरकारी अस्पतालमा जनशक्तिको कमीले गर्दा स्वास्थ्यकर्मीलाई कामको प्रेसर भइराखेको हुन्छ। जसले गर्दा कहिलेकाहीँ त्यस्तो हुन्छ होला,’ उनी भन्छन्, ‘एउटा डेलिभरीका लागि एउटा नर्स भन्ने मापदण्ड हो, त्यसमा हाम्रो अवस्था एकदम नाजुक छ। चापले कहिलेकाहीँ रुखो बन्नु स्वाभाविक हो तर त्यस्तो अभ्यास अहिले छैन।’

त्यसैगरी, स्त्रीरोग विशेषज्ञ डा गणेश दंगाल पनि डा पोखरेलका कुरामा सहमत छन्। कानुन र विभिन्न तालिमका कारण नर्सहरू निकै सचेत भइसकेको उनको बुझाइ छ। ‘पहिले बच्चा जन्माउने बेला धेरै दुव्र्यवहार हुने गरेको सुन्थ्यौँ, तर अहिले सरकारी अस्पतालमा पनि यस्तो कार्य हुँदैन,’ उनले भने।

नेपालको सन्दर्भमा स्वास्थयकर्मीले यस्तो व्यवहार नगरेको स्त्री रोग विशेषज्ञ डा ज्वाला थापा बताउँछिन्। ‘बच्चा पाउनु सजिलो काम होइन। स्वास्थ्यकर्मी तथा महिला दुवैलाई गाह्रो भइराखेको हुन्छ,’ उनी भन्छिन्, ‘प्रसूतिका बेला भनेको नमान्ने महिलालाई सजिलो गराउन केही कुरा कडा स्वरमा भनिएको हुन सक्छ, त्यसलाई गाली गरेको भन्न मिल्दैन। कोही बिरामी नै रिसाहा प्रवृत्तिका पनि हुन्छन्।’ 

परिवार कल्याण महाशाखाका अनुसार अहिले नेपालमा करिब १८ सय बर्थिङ सेन्टरहरु छन्। नेपालमा २०७५/७६ मा ४ लाख २० हजार ९३३ डेलिभरी भए जसमा शल्यक्रियाबाट ७५ हजार ९ सय ९९ डेलिभरी गरिए भने ‘नर्मल’ डेलिभरी हुनेको संख्या ३ लाख ३५ हजार ३ सय १० छ। 

प्रसूति हिंसा कानुन
प्रसूति हिंसासम्बन्धी कानुनमा नै व्यवस्था गर्ने देश भेनेजुएला हो। भेनेजुएलाले सन् २००७ मा प्रसूति हिंसासम्बन्धी कानुनमा नै व्यवस्था गरेको हो। भेनेजुएलाले पहिलो पटक कानुनी व्यवस्था गरेको प्रसूति हिंसा कानुन नयाँ शब्द हो। 

भेनेजुएलाको प्रसूति हिंसाको धारा १५ मा १९ प्रकारका प्रसूति हिंसाबारे उल्लेख छ। प्रजनन अधिकारका साथैआफ्नो शरीरमाथि सम्पूर्ण निर्णय गर्ने अधिकार सम्बन्धित महिलामा नै हुने सो कानुनमा व्यवस्था छ। प्रसूति हिंसा कानुन उल्लंघन गरेको ठहरिए २५० देखि ५०० ट्याक्स युनिटसम्म जरिवाना तिराइने व्यवस्था छ। 

नेपालको सन्दर्भमा
नेपालको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा २९ मा कुनै पनि महिलालाई भेदभाव गर्न नपाइने उल्लेख छ। दफामा भनिएको छ, ‘कसैलाई निजको उत्पत्ति, धर्म, वर्ण,जात, जाति, लिङ्ग, समुदाय, पेशा, व्यवसाय, यौनिक तथा लैङ्गिक पहिचान, शारीरिक वा स्वास्थ्य अवस्था, अपाङ्गता, वैवाहिक स्थिति, गर्भावस्था, वैचारिक आस्था, कुनै रोग वा जीवाणुबाट संक्रमित भएको वा हुने जोखिममा रहेको अथवा प्रजनन स्वास्थ्यको रुग्णता (मर्बिडिटी)को अवस्था, व्यक्तिगत सम्बन्ध वा यस्तै अन्य कुनै आधारमा परिवार नियोजन, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, आकस्मिक प्रसूति तथा नवजात शिशु, प्रजनन स्वास्थ्य रुग्णतालगायतका महिनावारी सेवा प्राप्त गर्ने अधिकार माथि कुनै किसिमले भेदभाव गर्न पाइने छैन।’ 

त्यसैगरी, सोही ऐनको दफा ६ को उपदफा (२) मा ‘नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाले सम्मानजनक प्रसूति सेवा प्रदान गर्नुपर्नेछ’ भनी उल्लेख छ। 

स्त्रीरोग विशेषज्ञ तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा जागेश्वर गौतमका अनुसार २०–२५ वर्षअघिसम्म नर्सहरुले ‘गाली गर्छन्, पिट्ने गर्छन्’ भन्ने गुनासा सुनिन्थे। अहिले सम्मानजनक मातृत्व सुरक्षा, एसबिए तालिमका कारण नर्सहरू प्रशिक्षित भइरहेका छन्। ‘बिरामीलाई सम्माजनक व्यवहार गर्नुपर्छ भन्ने सिकाइन्छ। तालिमले अहिले स्वास्थ्यकर्मी सुधारिएका छन्। सुरक्षित मातृत्वविरुद्ध गए प्रशासनले कारबाही गर्छ,’ उनले भने। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने