स्वास्थ्य सेवा प्रणालीमा दक्ष मानव संसाधन महत्वपूर्ण पाटोको रुपमा रहन्छ। नेपालमा नर्सिङ शिक्षा यसको एउटा ज्वलन्त उदाहरण हो। विगत केही दशक यता नर्सिङ शिक्षाको आकर्षण आन्तरिक तथा अन्तर्राष्ट्रिय मागले बढाएर लगेको छ। तर बढ्दो मागसँगै नर्सिङ शिक्षा र पेसामा चुनौती थपिँदै गएको देखिन्छ।
विगतमा नर्सिङ शिक्षा केवल सरकारी विश्वविद्यालयको आंगिक क्याम्पसहरुमा मात्र सीमित थियो। उपयुक्त सैद्धान्तिक र प्रयोगात्मक ज्ञानबाट बजारमा उपलब्ध नर्सिङ पेसाकर्मीहरुको सिप दक्षता र क्षमतामा प्रश्न उठाउने ठाउँ सायदै थिएन।
बढ्दो जनसंख्यासँगै शिक्षा क्षेत्रका प्राविधिक जनशक्तिको उपलब्धता एकै पटक बढेर गयो। फलस्वरुप आन्तरिक बजार मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा समेत उपलब्ध हुन सम्भव भयो। नर्सिङ शिक्षा तथा बजारमा आएको विविधीकरणसँगै यसका अवसर तथा चुनौतीहरु पनि बढेर गएका छन्। हाल च्याउ झंै उम्रिएका नाफामुखी नर्सिङ कलेज तथा प्राविधिक शिक्षालयको गुणस्तर बजारमा उपलब्ध जनशक्तिको अत्यधिक श्रम शोषण तथा आन्तरिक बजारमा माग हुँदाहँुदै प्रतिभा पलायन पनि विकराल समस्याको रुपमा रहेको देखिन्छ।
विश्वव्यापी रुपमा हेर्ने हो भने विश्वभरका मानिसको ३ दशमलव ४ प्रतिशत आफू जन्मेको देशभन्दा बाहिर बस्ने गर्छन्। विकसित मुलुकका विदेशी शिक्षा हासिल गरेका स्वास्थ्यकर्मीहरु ६० प्रतिशतले बढेको छ। त्यसमध्ये २० दशमलव ७ मिलियन नर्स र मिडवाइफ छन्।
सन् २०१३ देखि २०१८ को तथ्याङ्क हेर्दा अविकसित देशमध्ये ९८ प्रतिशत देशमा प्रति दस हजार जनसंख्यामा ४० नर्स र मिडवाइफ रहेका छन्। नेपालको तथ्याङ्क हेर्दा प्रति एक हजार जनसंख्यामा शून्य दशमलव ६७ डाक्टर र नर्स छन्। जुन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार २ दशमलव ३ प्रति एक हजारभन्दा धेरै कम हो।
सूचना प्रणालीको कमीका कारण नर्सहरु नेपालमा कति छन्, कति नर्सहरु देशबाट बाहिरिएका छन् अनि बाहिरिएका नर्सहरु कति कामका लागि गएका छन् र कति पढ्नका लागि भन्ने तथ्याङ्क अनुमान पनि गर्न गाह्रो छ। कति बेरोजगार छन् भन्ने पनि पूर्ण अनुमान गर्न नसकिने अवस्था छ।
मंसिर २०७६ सम्म ५६ हजार ४०६ नेपाली नर्सहरु र ८४४ विदेशी नर्सहरु नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन्। तीमध्ये १३ हजार ८८६ ले वैदेशिक रोजगार अथवा वैदेशिक शिक्षाका लागि भेरिफिकेसन लेटरको लागि आवेदन दिएको तथ्याङ्क देखिन्छ। नेपालमा वार्षिक ७ हजार नर्स उत्पादन हुन्छन् र यहाँ माग र आपूर्तिको अनुपात नमिलेको र देशको आवश्यकता कति र कति नर्सहरु वास्तविक रुपमा नेपालमा छन् भन्ने तथ्याङ्क छैन।
नर्सहरु किन विदेशिएका छन्?
केही दशकयता नेपाली नर्सको आकर्षण अत्यधिक रुपमा विदेशतिर भएको छ। नेपाली नर्स विदेश पलायन हुनुका धेरै कारणहरु छन्। पारिवारिक आर्थिक भारका मुख्य कारणले विदेशिएका छन्। हाम्रो जस्तो मुलुकको नर्सहरुले बाहिरी विकसित देशमा गएर आफ्नो देशमा भन्दा औसत १० देखि २० गुणा बढी कमाउने गरेको छन्। दोस्रो, मुख्य विदेशिनुको कारण उच्च शिक्षा हासिल गर्नका लागि विदेशिएका छन् नर्सहरु।
त्यस्तैगरी आवश्यक दक्षताको विकास, गुणस्तरीय जीवन, पेसागत विकास, सुरक्षा, व्यवस्थित सामाजिक सुरक्षा, परिवारको लागि अवसर रहेका छन्। नेपालमा बसेका नर्सलाई पेसाको मान्यता दिईंदैन। नर्सिङ क्षेत्रको उच्च शिक्षाको लागि सीमित अवसर काम गर्नका लागि उपयुक्त स्रोतहरुको कमी, उच्च कामको लोड, काममा पदोन्नति नहुने, वर्षांैसम्म काम गर्दा पनि त्यही पदमा हुनुपर्ने, निजी क्षेत्रमा काम गर्नेलाई मान्यता नदिने, अवकाशपछिको सुरक्षा नहुने, पेसामा राजनीतिकरण हुनु, पेसागत स्वास्थ्य जोखिमबाट पनि प्रभावित छन्।
नर्सिङमा कमजोर नेतृत्व पनि एउटा कारक तत्व बनेको छ। जुनियर नर्स बिरामी र बिरामीका आफन्त तथा कुरुवाबाट मात्र नभएर नर्सिङ नेतृत्वबाट पनि हिंसा खप्नुपरेको छ। अधिकांश नर्स महिला र नेपालमा धेरैजसो महिलाले नै पारिवारिक व्यवस्थापन र बालबच्चाको जिम्मेवारी बहन गर्नुपर्ने र सँगै कार्यक्षेत्रको अत्यधिक कामको चाप हुने हुँदा नर्सका बालबालिकालाई सुरक्षित स्याहार केन्द्र नहुँदा स्वस्तःस्फूर्त तरिकाले काम गर्न पाएका हुँदैनन्। यस्ता विविध कारणले नेपालका नर्सहरु विदेश पलायन भएका छन्।
नेपालमा नर्सिङ शिक्षा
नेपालको नर्सिङ शिक्षा प्रणाली सिटिइभिटी, त्रिवि, पूर्वाञ्चल, पोखरा र काठमाडौं विश्वविद्यालयद्वारा सञ्चालित छन्। यहाँको नर्सिङ शिक्षा प्रणालीलाई परम्परागत शिक्षा प्रणाली भन्न सकिन्छ। विदेश नर्सिङ पढ्नका लागि नेपालमा भन्दा ५ देखि १० गुणा बढी खर्च लाग्छ। र, पनि नेपाली नर्सहरु विदेशी भूमिमा गएर प्रतिस्पर्धा गर्दा सफल पनि भएका छन् तर पनि नेपाली नर्सिङ शिक्षा पद्धतिमा सुधार भने गराउनुपर्ने आवश्यकता छ। नेपाली नर्सिङ शिक्षा प्रणालीमा परिवर्तन निम्न कुराहरुमा देखिन्छ। जसका कारण नेपालीहरु नर्सिङ पढ्न विदेश पलायन हुनु पर्दैन।
१. नर्सिङका पाठ्यक्रममा अति विशिष्ट विषय राखिनुपर्छ।
२. सामान्य नर्सिङमा पनि समयअनुसार परिमार्जन गर्नुपर्छ।
३. पिसिएल नर्सिङलाई अन्तर्राष्ट्रिय मान्यता नभएका कारण खारेज गर्नुपर्ने छ।
४. पोस्ट बेसिक ब्याचलर इन नर्सिङमा व्यावसायीकरण भएको छ। धेरै विद्यार्थी सर्टिफिकेटका लागि भर्ना गर्ने, काम गर्दै पढ्नुपर्ने बाध्यता अनि अस्पतालको उच्च बिरामी चापमा काम गर्ने र पढ्ने हँुदा विद्यार्थीको अनुपस्थिति धेरै छ। र परीक्षामुखी अध्ययनले सिप दक्षतामा कमी भएको छ। इसलाई वैकल्पिक उपाय बनजाउनुपर्छ।
५. विद्यार्थीले क्लिनिकल अभ्यास पर्याप्त मात्रामा गर्न नपाउने।
६. कलेजमा स्किल ल्याब भए पनि त्यसमा अभ्यास नगराउँदा विद्यार्थीलाई क्लिनिकल अभ्यासमा आत्मविश्वास नहुने।
७. नर्सिङ कलेजमा शक्षकहरु क्लिनिकल अभ्यासमा दक्ष नभएकोले विद्यार्थीलाई पर्याप्त सिकाउन नसक्नु।
८. सिटिइभिटी र पूर्वाञ्चल विश्वविद्यालयका सबै कलेजमा शिक्षा प्रणालीमा एकरुपता नहुनु।
९. च्याउ झैं उम्रिएका पोस्ट बेसिक ब्याचलर इन नर्सिङ र बिएससी नर्सिङ भए पनि मास्टर्स र पिएचडीमा पढ्नका लागि निकै थोरै मात्र अवसर।
नर्सिङको कार्य क्षेत्र
– नर्सिङ सबैभन्दा सस्तो पेसा भएको छ। न्यून तलबमा काम गर्ने बाध्यता नर्सहरुलाई छ। पिसिएल पढेर ब्याचलर पढ्नका लागि अनुभव आवश्यक पर्ने भएका कारण अत्यधिक कम तलबमा पनि काम गर्नुपर्ने बाध्यता छ।
– बिएस्सी नर्सिङ पढेर पनि नर्सिङ अधिकृत तहमा काम गर्ने अवसर नहुनु।
– अस्पतालमा कामको लोड। बिरामी र नर्सको अनुपात नमिलाउनु।
– तथ्यमा आधारित अभ्यासमा नर्सहरुले काम गर्ने वातावरण नहुनु।
– काममा नर्सिङ नेतृत्व र सिनियर, बिरामी र कुरुवाबाट हिंसा तथा आक्रमण र दुव्र्यवहार हुनु।
– अन्तर्राष्ट्रिय श्रम संगठनले मापदन्ड बनाएअनुसार सेवा–सुविधा नपाउनु।
– पेसामा राजनीतिकरण हुनु।
– कार्यक्षेत्रको मूल्यांकन सही नहुनु।
– पदोन्नति नहुने।
– अध्ययन बिदा र अन्य बिदा सुविधाहरु पर्याप्त नहुनु।
– सेवामा रहँदा थप शिक्षा, निरन्तर नर्सिङ शिक्षा र अन्य तालिम नपाउनु।
– बेरोजगारी
समाधान के?
नेपालबाट ठूलो संख्यामा नर्सहरु बाहिरिएका छन्। कोही कामको लागि त कोही उच्च शिक्षा हासिल गर्नका लागि। उच्च शिक्षाको लागि एसियन मुलुकमा गएका विद्यार्थी नर्सहरु स्वदेश फर्कने गरेका छन् भने युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायत गएका कम मात्रामा फर्कने गरेका छन्। टर्की र जर्मनीको इतिहास हेर्ने हो भने टर्की लिटेरी क्रपले गर्दा अधिकांश दक्ष मानिसहरु जर्मनीमा बसाइसराइँ भए र फेरि टर्कीमा राजनीतिक स्थिरता र विकास हुँदै गर्दा आफ्नो देश फर्कनेको संख्या बढ्दै गयो। यही उदाहरणलाई हेर्दा नेपालबाट विदेशिएका नर्सहरु पनि स्वदेश फर्कने सम्भावना देखिन्छ। तर ती नर्सलाई स्वदेश फर्काउन विभिन्न आधारको विकास आवश्यक छ।
१. नेपाल फर्किएका नर्सका लागि र नेपालमा उच्च नर्सिङ शिक्षा हासिल गरेका नर्सका लागि आफ्नो अध्ययनका क्षेत्रमा काम गर्ने अवसर उपलब्ध गराउने।
२. नेपालमा नर्सको पदोन्नति आन्तरिक रुपमा अत्यधिक हुने गरेको पाइन्छ। हरेक तहमा खुला प्रतिस्पर्धा गरासनुपर्छ। यसो गर्दा उनीहरुले अवसर पाउने छन्।
३. वैदेशिक अध्ययलाई मान्यता दिने।
४. पेसामा राजनीतिकरण नगर्ने।
५. नर्सिङ पेसामा कुशल नेतृत्वको खाँचो छ र हालसम्म राजनीतिक इशारामा रहेको पाइन्छ। यसलाई न्यूनीकरण गर्नुपर्छ।
६. नेपालको पोलिसी लेभलदेखि नै आइएलओले निर्धारण गरेका आधारहरुको पालना गरेर नर्सहरुलाई सेवा–सुविधा दिनुपर्ने छ।
७. इच्छा अनुसारको आवश्यक तालिम, शिक्षा आदि उपलब्ध गराउने, नर्स र बिरामीको अनुपात पालना गर्ने।
८. उच्च शिक्षाका लागि आवश्यक सिट हुनुपर्ने जस्तैः ब्याचलर तहमा अत्यधिक रुपमा उत्पादन गरिन्छ तर त्यसको तुुलनामा मास्टर र पिएचडीमा नर्सहरुलाई त्यो अवसर प्रदान गराउनु पर्छ।
९. कार्यस्थल सुरक्षित बनाउनु पर्ने छ।
१०. सुपर स्पेसियालिटी कोर्षमा विश्वविद्यालयहरुले विभागहरु खुलाउनु पर्ने छ।
११. अनुसन्धान र इभिडेन्स बेस्ड अभ्यासमा नर्सहरुलाई दक्ष बनाउनु पर्ने छ।
आउँदो पुस ९ गते हुने नेपाल नर्सिङ संघको चुनावमा निर्वाचित समूहलाई यी सबै चुनौतीको सामना गर्नुपर्ने छ। पेसामा भएको बेतिथिलाई व्यावस्थापन गर्नुपर्ने क्रिटिकल समयमा नर्सिङ नेतृत्वका लागि ठूलो चुनौती हुने छ।