मुख्य समाचार

भिडियो रिपोर्ट - सुत्केरीको मृत्युपछि तनावग्रस्त नेपाल मेडिकल कलेज [फोटो फिचरसहित]

काठमाडौं– जोरपाटी, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आफन्तहरुले अस्पताल तोडफोड गरेका छन्।

भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते बुधबार राति ११ बजे स्वस्थ बच्चालाई जन्म दिएकी थिइन्। तर, बच्चा जन्मिएको केही समयपछि उनको उपचारका क्रममा नै मृत्यु भएको छ।

सुत्केरी राईको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड र नाराबाजी गरेका छन्। आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड र नाराबाजी गरेपछि अस्पतालको अवस्था तनावग्रस्त बन्न पुगेको छ। 

मृतक राईका आफन्तले लापरबाहीको आरोप लगाएका छन्। उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। 

सुत्केरी भइसकेपछि भ्याकुम लगाएर साल तान्ने क्रममा लापरबाही भएको मृतककी दिदी फूलमाया राईको आरोप छ। 

अस्पताल तोडफोड भएपछि अस्पतालमा कार्यरत कर्मचारीले भने सुरक्षाको माग गरेका छन्। उनीहरुले आइतबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन्। कर्मचारी युनियनले सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा दिन नसकिने बताएका छन्।

घटनाको विषयमा अस्पताल प्रशासनले कुनै पनि प्रतिक्रिया दिएको छैन।

शनिबार आफन्त र अस्पताल निर्देशक डा राजेशकिशोर श्रेष्ठबीच घटनाका विषयमा छलफल भएको थियो। सो क्रममा ७ सदस्यीय छानबिन समिति समेत बनाइएको छ। प्रहरीको रोहबारमा भएको छलफलमा अस्पताल निर्देशक श्रेष्ठले बोर्ड मिटिङ बसेपछि मात्र घटनाका विषयमा बोल्न मिल्ने प्रतिक्रिया दिएको मृतकका आफन्तको भनाइ छ। 

आफन्तले दोषीलाई कारबाहीसहित मृतकका दुई बच्चाको पालन–पोषणको जिम्मा अस्पतालले लिनुपर्ने, नवजात शिशुको उपचार गर्नुपर्ने माग पनि राखेका छन्।

भिडियो

फोटो फिचर

 

सबै तस्बिर र भिडियो: निमेष जंग राई

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने