काठमाडौं— शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले चीनमा तिव्र रुपमा देखिएको कोरोना भाइरस नेपालमा पनि देखिएको हल्लामा सत्यता नभएको जनाएको छ।
अस्पतालका निर्देशक डा बासुदेव पाण्डेले अहिलेसम्म उक्त भाइरस देखिएको पुष्टि भइनसकेको बताए। उनले नेपालमा कोरोना भाइरस देखिएको भन्ने समाचार सञ्चार माध्यम आइरहेको भन्दै त्यसले जनतामा त्रास सिर्जना गर्ने भन्दै चिन्ता व्यक्त गरे।
‘हामीले नेपालमा पनि कोरोना भाइरस देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षण गर्ने प्रविधि राख्नेबारे छलफल गरेका छौँ,’ उनले भने,‘तर नेपाल भाइरस देखिएको होइन।’
उनका अनुसार नेपालमा कोरोना भाइरस परीक्षण प्रविधि नभएकाले भाइरस भएको पुष्टि नभएको बताए।
केही दिन अघि चीनमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी काठमाडौं आएपछि रुघाखोकी र ज्वरो आएपछि उनी सरुवा अस्पताल पुगेका थिए। उनलाई विशेष निगरानीमा राखेर उपचार भने भइरहेको उनले बताए।
‘चीनमा यो भाइरस देखिएकाले ती विद्यार्थी जाँचका लागि अस्पताल आएका हुन्,’ उनले भने, ‘उनमा कोरोना भाइरस नै देखिएको भन्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन। यो हल्ला मात्र हो। हल्लाको पछाडि लाग्नु हुँदैन।’
उनका अनुसार ती विद्यार्थीलाई अस्पतालमा भर्ना गरी आवश्यक उपचार भइरहेको छ।
कोरोना भाइरसहरुको एउटा समूह हो। यसले मानिसलाई सामान्य रुघाखोकीदेखि लिएर घातक संक्रमणसम्म गराउन सक्छ। चीनमा यो तिव्र रुपमा फैलिन थालेको छ। जापानमा पनि एक जनामा यो भाइरस देखिएको खबर बाहिर आएको छ।
चीनमा ४४ जनामा यो भाइरसको संक्रमण पश्चात् निमोनिया भै अस्पतालमा उपचार गराइरहेका छन् भने त्यसमध्ये ११ जनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ। धेरैमा ज्वरो मात्र देखिएता पनि कसै–कसैलाई श्वास-प्रश्वासमा कडा समस्या आहेको देखिएको छ।
यो पनि :
चीनमा सार्सजस्तो अज्ञात भाइरस फैलियो, नेपाल कति जोखिममा?
केही दिन यता चीनको युहान प्रान्तमा अज्ञात भाइरस संक्रमणको कारणले तिब्र गतिमा बिरामीमा निमोनिया देखिने र मृत्यु गराउने क्रम जारी छ। यसले चीनमा कतै सन् २००३मा देखिएको सार्स कोरोना भाइरसको पुनरागमन भएको त होइन भनेर शंका गरिएको छ भने त्यसैअनुरुप ब्यापक सतर्कता अपनाइ सकेको छ। हालसम्म गरिएको परिक्षणले कुनै फ्लु वा बर्ड फ्लु भाइरस होइन भन्ने निश्चित गरेको त छ तर पनि त्यो तीव्र गतिमा निमोनिया गराउने अज्ञात भाइरस के हो भनेर पत्ता लगाउन आजको मितिसम्म सकिएको भने छैन।
अझै समय लाग्ने निश्चित प्राय देखिन्छ। केहि जस्तै सिंगापुर, ताइवान जस्ता देशहरुले चीनमा देखिएको अज्ञात रोग आफ्नो देशमा प्रवेश हुनसक्ने सम्भावनालाई मध्य नजर गर्दै विभिन्न पूर्व तयारीहरु सुरु गरिसकेका छन्। यो अझै फैलिँदै गए वा नरोकिए क्रमिक रुपमा अरु देशहरुले पनि सुरक्षाका उपायहरु अपनाउँदै जानेछन्।
चीनबाट नेपाल आउने पर्यटकहरुको संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ। सन् २०१८ मा नेपाल भित्रिनेमा पर्यटकको संख्या हेर्दा चीन दोस्रो ठूलो देश भएको देखिन्छ। यसमानेमा पनि नेपाल उच्च जोखिममा देखिन्छ।
केही वर्ष अगाडि पश्चिम अफ्रिकी देशहरुमा इबोला महामारी हुँदा नेपाल भित्रिने सम्भावना महसुस गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कको स्थापना गरिएको थियो, तर यसले पूर्ण क्षमतामा काम गरेको वा गर्न पाएको भने देखिँदैन। धेरै भन्दा धेरै पर्यटकहरु नेपाल भित्र्याउनु सके नेपाल देशको पहिचान फैलाउने सकिने र अर्थको हिसाबले राम्रो हुने भएता पनि विश्वमा देखिएका वा देखिँदै आइरहेका तर नेपालमा हालसम्म नदेखिएको प्राणघातक संक्रमणहरु उनीहरुसँगै भित्रिने सम्भावना अत्यधिक हुने गर्दछ। यस्तो घटनाहरु विश्वमा धेरै देखिसकेका पनि छन्। नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भ पारेर हाल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा रहेको हेल्थ डेस्कलाई अझ बिस्तार, चुस्त र प्रविधियुक्त बनाउनु पर्दछ।
आजको मितिसम्म चीनमा ४४ जनामा यो भाइरसको संक्रमण पश्चात् निमोनिया भै अस्पतालमा उपचार गराइरहेका छन् भने त्यसमध्ये ११ जनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ। धेरैमा ज्वरो मात्र देखिएता पनि कसै–कसैलाई श्वास-प्रश्वासमा कडा समस्या आहेको देखिएको छ।
हङकङको स्वास्थ्य विभागले उच्च ज्वरोसहित श्वास-प्रश्वासमा समस्या देखिए (वा निमोनिया भए) तथा यी लक्षणहरु चीनको युहान प्रान्तको भ्रमण गरेको १४ दिन भित्र देखिएको अवस्थामा त्यो अहिले फैलिएको अज्ञात भाइरल रोग हुनसक्ने भएकोले तुरुन्त विभागमा सूचना गर्नुपर्ने भनिएको छ।
नेपालले पनि चिनियाँ पर्यटकहरुको बढ्दो संख्या र नेपालीहरु स्वयम् पनि व्यापार, शैक्षिक वा भ्रमणको उदेश्यले चीन आवत जावत गर्ने क्रम पछिल्लो समयमा बढ्दो रहेकोले विशेष चनाखो हुनुपर्ने देखिन्छ। उनीहरुमा ज्वरो छ छैन, श्वास-प्रश्वासमा समस्या छ छैन जस्ता लक्षणहरु सोध्न सकिन्छ भने घर पुगेपछि पनि त्यस्ता लक्षणहरु देखिए सम्बन्धित अस्पतालमा सम्पर्क राख्न अनुरोध गर्न सकिने छ तर यसको लागि सम्बधित निकायले अस्पतालहरुलाई सधैं तयारी अवस्थामा रहन अनुरोध गर्नुपर्दछ।
हालसम्म विश्व स्वास्थ संगठनले चीनमा देखिएको घटनाक्रमलाई नजिकबाट नियालीरहेको भनेता पनि नेपाल आफैं उच्च जोखिममा रहेकोले चासो र योजना बनाउने पहल गर्नुपर्दछ।
नेपालमा बर्षेनी हजारौ निमोनियाको करणले अस्पताल भर्ना हुने गरेको तथ्यांक देखिन्छ, तर बिडम्बना यसको कारण भने कहिले पनि पत्ता लगाउने पहल वा चासो दिने गरेको पाहिदैन।यसको लागि अनुसन्धानलाई बिशेष महत्व दिनुपर्दछ। हाल चीनमा देखिएको सार्स भाइरस जस्तो देखिने संक्रमण मानिसबाट मानिसमा सहजै सर्ने नगरेको भनिएता पनि यो अति प्रारम्भिक निष्कर्ष मात्र हो।यस्ता आयातित हुनसक्ने प्राणघातक संक्रमणहरु वा देशभित्रै हजारौ संख्यामा देखिने गरेका ज्वरो तथा श्वास-प्रश्वासका संक्रमणहरु वा निमोनियाका बिरामीहरुको कारण पत्ता लगाउन सके मात्र यसको उपचार वा नियन्त्रणका उपायहरु अबलम्बन गर्न सहज हुनेछ।यसको लागि नेपाली सेन्टरस फर डिजिज कन्ट्रोल एण्ड प्रिभेनसंको अवधारणा विकास गरी स्थापना गर्न सके प्रकोप, महामारी नियन्त्रण गर्न अझ सजह हुनेछ।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)