सन् २००४ तिर डा सञ्जीव सापकोटा फिनल्यान्डमा पब्लिक हेल्थ विषयमा मास्टर पढ्दै थिए। सोही क्रममा अमेरिकामा इआइएस अफिसर (एपिडेमिक इन्टिलिजेन सर्भिस अफिसर)को तालिम सञ्चालन हुन लागेको रहेछ। डाक्टर तथा पिएचडी गरेकाहरूले उक्त तालिम लिन पाउने रहेछन्। तालिमसँगै त्यसलाई प्रयोग गर्न अनुसन्धान पनि गर्नुपर्थ्यो।
उनले उक्त अवसर पाए अनि पुगे अमेरिका। उनी त्यस तालिममा पुग्ने पहिलो नेपालीसमेत थिए। अर्थात् जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने अमेरिकाको सरकारी निकाय ‘कन्ट्रोल फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ (सिडिसी)मा जाने पहिलो नेपाली डाक्टर।
तालिममा सहभागीहरू प्रायःले सरुवा रोगको अनुसन्धान गर्थे। प्रायः र उस्तै विषयमा अनुसन्धान गर्नु रुचिकर लागेन उनलाई। त्यसैले उनले केही नयाँ गर्ने सोच गरे। सञ्जीवले गर्न आँटेको अनुसन्धानको विषय अरुभन्दा भिन्न थियो। र कठिन पनि।
त्यतिबेला अमेरिकामा मेक्सिकोबाट सिमा पार गरेर आउने मान्छेहरू धेरै मरिरहेका हुन्थे। त्यसबारे कसैले गहन अध्ययन र खोज गरेको थिएन। त्यसरी सिमा क्रस गरेर आएका मान्छेहरू अमेरिकाको भूमिमा मरिरहेका हुन्थे।
सिडिसीले त्यो काम हेर्नुपर्थ्यो। उसको कामको प्राथमिकतामै पथ्र्यो मानिसलाई बचाउनु तथा स्वास्थ्य संरक्षण गर्नु। तर, त्यो त सामाजिक-राजनीतिक मुद्दा रहेछ।
सञ्जीवले त्यही विषयमा खोजी गर्न निर्णय गरे। सिमा काटेर आउने मानिसको मृत्युको कारण पहिचान गर्ने विषय अनुसन्धानको विषय बन्यो। त्यतीबेला ‘त्यो विषय हामी छुँदैनौं’ भनेर त्यहाँका मानिसहरु बसिरहेका रहेछन्। सञ्जीवले यस विषयमा कुरा गर्न थाले। तर, कसैले पनि यसबारे बोल्न खोजेन, पन्छिन खोज्थे उनीहरू।
लामै प्रयासपछि सञ्जीवले सिडिसीलाई कन्भिन्स गरे, ‘हामी जुन महामारी भन्छौं। त्यसभित्र यो पनि त पर्छ नि। यो पनि एउटा महामारी हो। उताबाट आएर मान्छे किन मरिरहेका छन्। यसको कारण खोज्नुपर्छ।’
उनले आफ्नो अडिग छाडेनन्। ३ महिनाको लगातारको प्रयासपछि सिडिसीबाट उनको प्रस्ताव पारित भयो। त्यसपछि उनी अमेरिकाको सीमामा पुगेर मृत्युको रहस्यमयी कथाको खोजी गरे।
कति जना मान्छे क्रस भएका छन्, कतिजना मान्छे मरे? उनले सूक्ष्म अध्ययन गरे। के कारणले मान्छे मर्छ भनेर विवरणात्मक अध्ययन गरे। लामो समयको अध्ययनपछि उनले धेरै कुरा पत्ता लगाए।
बोर्डरमा मान्छे मर्नुको पहिलो कारण रहेछ- मौसम र डिहाइड्रेसन। त्यहाँको बोर्डर खुला रहेछ। बोर्डर पार गरेपछि ३ सय माइल पर मरुभूमि नै रहेछ। ‘एक सय माइल हिँड्ने बित्तिकै मान्छे पानी खान नपाएर प्याकप्याक हुन्छन्। त्यसको कारणले धेरै मान्छे मर्दा रहेछन्,’ उनले कारण भेट्टाए।
लुकेर क्रस गर्दा वा प्रहरीलाई छल्न खोज्दा मान्छेहरू मृत्युको मुखसम्म पुग्दा रहेछन्। थाहा पाउनेहरू सबै कुरा तयार गरेर आउँदा रहेछन्। थाहा नपाई आउनेहरू भने त्यो जञ्जालमा फस्दा रहेछन्।
उनले अध्ययनका क्रममा त्यहाँ निकै ‘बर्बरता’ देखे। लासहरू कति त छरपस्ट अवस्थामा थिए। मृत्युको अर्को कारण रहेछ- बोर्डर क्रस गर्दा त्यहाँका सुरक्षाकमर्मीको आक्रमण।
यी यस्तै थुप्रै मृत्युको कारणका विषयमा अध्ययन गरिसकेपछि उनको रिपोर्ट प्रकाशित भयो। प्रकाशित गर्ने क्रममा निकै चुनौती खेपेका थिए। अन्ततः अमेरिकाको एउटा मुख्य जर्नलमा प्रकाशित भयो प्रतिवेदन। प्रकाशित हुनेबित्तिकै त्यसले राम्रो कभरेज पायो।
उनको अनुसन्धानले त्यहाँ एउटा माहोल नै खडा ग¥यो। एउटा नेपालीले गरेको यो निकै ठूलो काम भनेर थुप्रैले प्रोत्साहन गरे। प्रदिवेदनको प्रभाव ठूलो थियो। प्रतिवेदन हेरेपछि अमेरिकाको एउटा सांसदले ‘बोर्डरमा किन यस्तो भयो’ भनेर सम्बन्धित निकायसँग जवाफ मागे।
पछि यसको रेकर्ड त्यहाँको सम्बन्धित संस्थासँग सरकारले माग्यो। तर, थिएन। कोहीसँग थिएन। उनीहरूले सरकारलाई भने, ‘सिडिसीमा काम गर्ने एउटाले रिसर्च गरेको छ। ऊसँग छ।’
त्यसपछि त्यहाँको सरकार आएर सञ्जीवको अन्तर्वार्ता लियो। सञ्जीवले निकै कुरा प्रस्ट्याए। त्यसपछि त्यहाँ सञ्जीवको छवि नै बदलियो। उनलाई खोजी गर्नेहरू बढ्न थाले। उनीप्रति त्यहाँको सरकार निकै सकरात्मक बन्यो।
डा सञ्जीवको महत्वपूर्ण अध्ययन थियो। उसो त उनी क्रियाशील मान्छे। थुप्रै उदाहरणीय काम गरेका छन् जीवनमा। विदेश बसेर पनि नेपालप्रति उनको छुट्टै अपनत्व छ। र, त जहाँ गए पनि नेपालको लागि सोचिरहन्छन्।
केही समयअघि नेपाल आएको बखत उनले आफ्ना जीवनका क्रियाशील समयबारे स्वास्थ्यखबरसँग खुलेर कुरा गरे।
०००
डा सञ्जीवको जन्म काठमाडौंमा भयो। प्रारम्भिक शिक्षा विराटनगरबाट सुरु गरे उनले। कक्षा ३ मा पढ्दै थिए। बुढानीलकण्ठ स्कुलमा राष्ट्रियव्यापी रुपमा विद्यार्थी छनोट गर्ने क्रममा उनी छनोटमा परे। संयोग पनि के थियो भने त्यस बेला उनका सहपाठी थिए, तत्कालीन युवराज दीपेन्द्र शाह।
सानैदेखि घरबाहिर नै घुलमिल बढी भए डा सञ्जीव। त्यसैले नयाँ सिक्ने र जान्ने मौकाको सदुपयोग गरिरहे।
बुढानिलकण्ठ स्कुलमा ब्रिटिसको सहयोग थियो। वातावरण पनि सोही किसिमको। उनले सानैमा पाश्चात्य मुलुकका कुरादेखि लिएर विभिन्न तालिमहरू प्राप्त गरे त्यहाँ। ‘यसले भविष्यमा केही गर्छ,’ आफन्त र आमा-बाले पनि सधैं भन्ने गर्थे।
सञ्जीव आफू फरक हुनुको श्रेय हजुरबुबालाई पनि दिने गर्छन्। हजुरबुबा थिए साहित्यकार महानन्द सापकोटा। जसलाई नेपाली साहित्यको एउटा उचाई समेत मान्छन्।
सञ्जीवको बुबा पनि सरकारी कर्मचारी। ‘पारिवारिक वातावरणले पनि मेरो करिअरको लागि ठूलो सहयोग गर्यो,’ सञ्जीव भन्छन्। पढाइमा तेज सञ्जीवले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगञ्ज क्याम्पसबाट एमबिबिएस गरे।
एमबिबिएस पढ्ने क्रममै उनी सामाजिक काम र स्वास्थ्यका सञ्जालहरूमा क्रियाशील थिए। सोही क्रममा नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एनएमएसएस)को अध्यक्ष भएर पनि काम गरे। यो १९९८ सालको कुरा हो। मेडिकल विद्यार्थीको प्रतिष्ठित संस्था हो यो।
सोसाइटीको अध्यक्ष हुँदा सञ्जीवले धेरै काम गरे। विभिन्न ठाउँमा हेल्थ क्याम्प गर्ने, स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रमहरू गाउँ-गाउँमा गएर गर्ने लगायतका थुप्रै कामहरू गरे।
एनएमएसससँग मिलेर काम गर्थ्यो मेडिकल विद्यार्थीहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल फेडरेसन अफ मेडिकल स्टुडेन्ट एसोसियसन (आइएफएमएसए)। त्यही बेला नै उनले अन्तर्राष्ट्रिय यात्राहरूमा जाने मौका पाए।
विभिन्न देशमा मेडिकल कार्यक्रम हुँदा ती देशमा घुम्ने मौका पनि पाए। ‘१०/१२ वटा देशमा गएर सम्मेलनमा भाग लिन पाउँदा धेरै कुरा बुझ्ने मौका पाएँ,’ सञ्जीवले भने, ‘मेडिकल एजुकेसनमा नेपालीको स्वास्थ्यमा कसरी सुधार गर्न मिल्छ भन्ने कुरामा त्यहाँ सिकेको कुराबाट मैले नेपालमै परिचालन गर्न थालेँ।’
१९९८ कै कुरा हो। त्यस बेलामा सञ्जीव एनएमएससबाट इजिप्ट गए। त्यहाँ इन्टरनेसनल फेडेरसन अफ मेडिकल एसोसिएसनको अन्तर्राष्ट्रिय कन्फ्रेन्स थियो। कन्फ्रेन्समा उनले पब्लिक हेल्थ डाइरेक्टरको रुपमा चुनावमा आफ्नो उम्मेदवारी दिए।
उनलाई ‘पहिलोपल्ट आएको मान्छेले जिम्मेवारी पूरा गर्न सक्दैन’ भनेर कतिपयले विरोध गरे। चुनाव जित्दैन भनेर अफवाह पनि फैलाइयो। तर, सञ्जीवले चुनाव जिते।
‘त्यसपछि त्यहाँ मैले २ वर्षको कार्यकालसम्म एकदम राम्रो काम गरेर देखाएँ,’ सञ्जीवले भने। उनको मेडिकल एजुकेसन पनि चलिरहेको थियो। बीचमा साथीहरूले उनको काम धेरै मन पराए। संगठनको क्षमता वृद्धि र कार्यक्रम ल्याउने जस्ता काम गरे उनले। यात्रामा गएर तालिमहरू दिने काम पनि गरे।
सन् २००० मा पोर्चुगलमा भएको सम्मेलनमा आइएफएमएसको प्रेसिडेन्टको लागि आवेदन दिए। त्यहाँ पनि ठूलो संघर्षका साथ सफल भए उनी।
नेपालको इतिहासमा पहिलो रेकर्ड थियो आइएफएमएसको प्रेसिडेन्ट हुनु। कोही नेपाली त्यसरी चुनाव जितेर आएका थिएनन्। र, अहिलेसम्म पनि सञ्जीवबाहेक कोही पुगेका छैनन्। उक्त संस्थाले संयुक्त राष्ट्रसंघका विभिन्न इकाईहरूसँग मिलेर काम गर्छ। स्वास्थ्यसँग सम्बन्धित भएको हुनाले बढी काम विश्व स्वास्थ्य संगठनसँग हुने गर्छ।
भर्खरै एमबिबिएस अध्ययन सकेको युवाले चुनाव जित्नु अधिकांशको लागि अनौठो कुरा पनि भयो। त्यसमाथि नेपालजस्तो विकासोन्मुख देशबाट आएको युवा। त्यसभन्दा पहिला २ वर्षअघि पब्लिक हेल्थको डाइरेक्टर भएर काम गर्नु नै उनको निम्ति ठूलो आधार भयो। त्यसै बेलामा उनले एउटा माहोल सबैतिर बनाइसकेका थिए। उनको काम र नेतृत्वबाट सबैजसो प्रभावित थिए।
‘अध्यक्ष जस्तो पदमा पाश्चात्य मुलुकले आफ्नै फेबरको बनाउन प्रयास नगरेको होइन। त्यसमा मलाई ठूलो चुनौती पर्योध,’ उनले भने। जित्ने सम्भावना राम्रो हुँदाहुँदै पनि गाह्रो थियो। क्यानडाको अर्को बलियो क्यान्डिडेट थियो। ‘अल्पविकसित र विकसित’ देशको बीचमा फाइट परेजस्तो अवस्था भयो।
उता युरोप र पाश्चात्य मुलुक क्यानडालाई सहयोग गर्थे भने अफ्रिका र एसियाका मुलुकहरूले नेपाललाई सहयोग गर्थे। चुनावको माहोलमा राजनीतिकरण पनि भयो। यद्यपि, चुनाव जिते सञ्जीवले। तर, मतान्तर धेरै कम थियो।
सञ्जीव अध्यक्ष भएपछि त्यहाँ एक किसिमको क्रान्ति नै आयो। मेडिकल स्टुडेन्टको संस्था भएको हुनाले उनले विद्यार्थीको हितमा थुप्रै काम गरे।
संगठनको हेडक्वार्टर फ्रान्समा थियो। उनी फ्रान्समा गएर संठगनको लागि काम गर्न थाले। यसको कार्यकाल एक वर्षको हुन्थ्यो। काम एकदमै तीव्र हुनुपर्थ्यो।
उनी अध्यक्ष बन्दासम्म संस्थाका सदस्य राष्ट्रहरू ८० वटा थिए। आफ्नो पालामा सञ्जीवले २० वटा थप देशलाई सदस्य बनाए। संस्थालाई अफ्रिका र एसियामा बढी नै फिजाउनुपर्छ भन्ने उनको मनसाय थियो। त्यतिबेला चाइन सदस्य थिएन। उनले चाइनालाई सदस्य बनाए।
संगठनको कोषलाई बलियो बनाउन पनि उनले ठूलो भूमिका निभाए। उक्त संस्थामार्फत नेपालमा पनि धेरै काम गरे। नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय कन्पे्रmन्स पहिलो पटक उनकै पहलमा भएको थियो। त्यो सम्मेलन निकै विशाल थियो।
त्यतिबेला मेडिकल कलेज ५/७ वटा थिए। पहिलापहिला मेडिकल कलेजका विद्यार्थी विदेशमा एक्सचेन्जमा जान्थे। नेपालले ४ वटा युरोपका विद्यार्थीलाई ल्याएर मेडिकल एक्सचेन्ज एजुकेसन गराउने गथ्र्यो भने यताबाट पनि त्यहाँ गएर गर्ने गर्दथे।
त्यो किसिमको पार्टनरसिप नेपालको स्विडेनसँग मात्र थियो। पछि उनले ५ वटा देशमा त्यस किसिमको पार्टनरसिप गर्न सफल भए। सोही कारण नेपालका विद्यार्थीहरूले धेरै पटक एक्सचेन्जमा गएर काम गर्ने मौका पाए।
आइएफएमएसमा आफ्नो कार्यकाल सकिएपछि सञ्जीव डब्लुएचओमा बसेर काम गर्न थाले। २ वर्ष त्यहाँ काम गरेपछि सञ्जीवले मास्टर इन पब्लिक हेल्थ गरे। त्यहीँबाट उनी अमेरिकाको सिडिसिमा पुगेका हुन्। त्यसपछि लगातार उनी सिडिसीमै बसेर काम गरिरहेका छन्।
यही बीचमा उनी अन्य काममा पनि क्रियाशील भए। त्यहाँको एउटा संस्था छ- साउथ एसियन नेपाली एसोसियसन, अमेरिकामा बस्ने नेपालीको संस्कृतिमा काम गर्ने संस्था। त्यसको अध्यक्ष भएर काम गरे उनले।
पछि विस्तारै एनआरएनको अभियानमा पनि सक्रिय भए। हेल्थ कमिटीको चियरपर्सन भएर काम समेत गरे। ‘अहिले ग्लोबल एनआरएनको चियरपर्सन भएर काम पनि गरेँ,’ उनले भने।
०००
उनी बीचमा नेपाल आउँदा धेरै काम गरे। क्याम्पहरू गर्ने कुरामा पहल गरे। भूकम्पको बेलामा पनि उनले सक्रियतापूर्वक सहयोग गरे नेपालमा। बारामा हुरी आउँदा डा सञ्जीवहरूको टिमले स्वास्थ्यको तर्फबाट सहयोग गरेको थियो। विभिन्न दैवी प्रकोपको समयमा उनको टिमले आएर सहयोग गरिरहेकै छ नेपालमा।
दुई महिनाअघि उनीहरूले अमेरिकामा पहिलो नेपाली विश्व सम्मेलन गरे। नेपालीको स्वास्थ्यमा सरोकार राख्ने सबैलाई जोड्ने अवसर थियो त्यो। नेपालभित्र र बाहिर भएका नेपालीका स्वास्थ्यलाई कसरी जोड्न सकिन्छ भन्ने भन्ने प्रमुख कुरा थियो।
सम्मेलनबाट उनीहरूले २५ बुँदे घोषणा पत्र बनाए। ‘हामी त्यही कार्यान्वयनका लागि लागि परेका छौं,’ सञ्जीव भन्छन्।
कामको दौरानमा सञ्जीवलाई लागेको थियो- हामी नेपालीको लागि एउटा सञ्जाल चाहिन्छ। उनले आफ्नो कमिटीमा यो कन्सेप्ट राखे। तर, यो असम्भव छ भन्ने कुरा छलफलका क्रममा आयो। तर, उनले मूर्त रुप दिन सकिन्छ भन्नेमा जोड दिए। यही प्रोजेक्टमार्फत दैवी प्रकोपको बेला नेपाल धेरै काम गर्ने योजनामा छन् उनी।
अब उनीहरूको अर्को योजना छ- विश्वभरका डाक्टरलाई एउटै सञ्जालमा जोड्ने। अनि अर्को, विश्वभरमा छरिएका नर्सलाई एउटा सञ्जालमा जोड्ने। त्यसपछि उक्त सञ्जालले विश्वभरका नेपालीको स्वास्थ्यमा काम गर्ने। उनले उक्त अभियान सुरु भइसकेको बताए। भन्छन्, ‘ठूलो अभ्यास चाहिन्छ यसका लागि।’
खाडी मुलुकमा भएका नेपालीको स्वास्थ्यको समस्यालाई पनि यसले ठूलो सहयोग गर्ने उनको ठम्याइ छ। आगामी दुई वर्ष भित्रमा एउटा बलियो नेकवर्क बनाउन उनी लागिपरेका छन्। यो सञ्जालमा स्वास्थ्यमा सरोकार राख्ने विश्वभर छरिएका व्यक्ति आउन सक्ने उनी बताउँछन्।
यी सबैलाई एउटा सञ्जालमा राख्ने र हरेक वर्ष विश्व नेपाली स्वास्थ्य सम्मेलन गराउन उनी दत्तचित्त छन्। यसमा सबै संस्था र व्यक्तिलाई सक्रिय भएर जोडिन उनको आग्रह पनि छ।