काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा पुष्पकमल दाहाल प्रचण्डले समेत आफू अनुकुलका व्यक्ति ल्याउने तयारी गरेका छन्।
प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिने १६ जना उम्मेदवारमध्ये प्रचण्डले बनाउन चाहेका व्यक्ति हुन् डा गुरु खनाल। डा खनाल हाल प्रतिष्ठानका कार्यबहाक उपकुलपति हुन्।
स्वास्थ्यखबरले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउन चाहेका बिएन्डसीमा कार्यरत डा गेहनाथ बराल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बनाउन चाहेका विराट मेडिकल कलेजमा कार्यरत डा ज्ञानेन्द्र गिरीको विषयमा दुई वटा श्रृंखला प्रकाशित गरिसकेको छ।
यो श्रृंखलामा प्रचण्डका उम्मेदवार डा खनालसहित बाँकी रहेका अन्य उम्मेदवारका विषयमा जानकारी दिने प्रयास गरेका छौं।
प्रचण्डले उपकुलपति बनाउन चाहेका डा खनाल बिपी प्रतिष्ठानकै पूर्व विद्यार्थी हुन्। सुनसरीमा प्रचण्डको बिश्वास पात्र रहेका मदन चुँडाल पनि खनाललाई उपकुलपती बनाउन लागिपरेका छन्।
हाडजोर्नी विशेषज्ञ डा खनाल तत्कालिन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको प्रस्तावमा प्रतिष्ठानमा रेक्टार नियुक्त भएका थिए। त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा भए पनि भाडवन्डाका क्रममा डा खनाल तत्कालिन माओवादी अध्यक्ष प्रचण्डको समर्थनमा रेक्टर बनेका हुन्।
प्रचण्डको समर्थनमा रेक्टरको जिम्मेवारी पाएका डा खनालले प्रशासनलाई चुस्त बनाउन नसकेको आरोप अहिले पनि लाग्ने गरेको छ। नयाँ संविधान अनुसार भएको चुनावपछि बनेको केपी ओली नेतृत्वको सरकारले देउवाका पालमा भएका नियुक्ती खारेज गर्ने निर्णय ग¥यो।
त्यसको विरोधमा डा खनालले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। सर्वोच्चले पुनर्वहाली गरेपछि उनी हौसिँदै प्रतिष्ठानमा पुगेका थिए। तर, तत्कालिन उपकुलपति डा राजकुमार रौनियारले उनको सम्पुर्ण अधिकारी खोस्दै आफूमा सिमित राखेपछि उनी आक्रोशित भएका थिए। त्यसको केही समयपछि तत्कालिन उपकुलपति डा रौनियार घुससहित रंगेहात पक्राउ परे।
त्यसको केही समयपछि तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा खनाललाई कार्यबहाक उपकुलपतिको जिम्मेवारी दिएका हुन्। त्यसयता उनले कार्यबहाक उपकुलपति सहित, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको अधिकार समेत आफैंमा सिमित गरेर राखेका छन्। यसले प्रतिष्ठानका कर्मचारी भने रुष्ट छन्।
प्रतिष्ठानका कर्मचारी उनलाई रजनीतिक रुपमा पहुँच भएका व्यक्ति भए पनि निर्णय गर्न सक्ने क्षमता नभएका र सबै अधिकार आफूमा मात्र सिमित गर्ने व्यक्तिका रुपमा चिन्छन्। प्रतिष्ठानका एक कर्मचारीले भने, ‘उहाँ विद्यार्थी, प्राध्यापक, कर्मचारी सबैको कुरा सुनेको जस्तो गर्नुहुन्छ तर संस्थाको हितका लागि भएका निर्णयमा अडिक भने रहन सक्नु हुन्न। उहाँमा निर्णय लिन सक्ने क्षमता समेत नभएका कारण उहाँले उपकुलपति चलाउँदा संस्थाको विकास हुन्छ भन्ने मलाई विश्वास छैन।’
उनले प्राज्ञिक संस्थामा राजनीतिक भागबन्डामा भन्दा पनि काम गर्न सक्ने दक्ष व्यक्तिलाई उपकुलपति लगायतका पदाधिकारी नियुक्त गर्नुपर्ने बताए।
उनका अनुसार डा खनालले गरेका निर्णय हालसम्म विवादित नभए पनि उनले पछिल्लो समय खस्किँदै गएको प्रतिष्ठानको शाखलाई जोगाउन भने कुनै पनि पहल गरेका छैनन्। कार्यवहाक उपकुलपति हुनभन्दा पहिला डा खनालले प्रतिष्ठानको आर्थिक अनियमितताको सुधारको प्रतिवेदन तयार पार्ने जिम्म पाएका थिए। तर उनले त्यसको कुनै पनि योजना अघि सार्न नसकेको भन्दै प्रतिष्ठानकै डाक्टरहरुले आलोचना गरिरहेका छन्।
डा खनालको पछिल्लो गतिविधीबाट स्वास्थ्य मन्त्री भानुभक्त ढकाल समेत खुसी छैनन्। मन्त्री निकट एक कर्मचारी भन्छन्, ‘कार्यबहाक उपकुलपतिको कार्यशैली मन्त्रीज्यूलाई मन परेको छैन।’
उपकुलपतिका अन्य उम्मेदवार को को?
उपकुलपतिका लागि आवेदन दिने १६ उम्मेदवारमा ८ जना प्रतिष्ठान भित्रका र ८ जना प्रतिष्ठान बाहिरका छन्।
प्रा डा सन्जिब शर्मा
डा शर्मा मुटु तथा मिर्गौला रोग विशेषज्ञ हुन्। उनी प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका प्रमुखका रुपमा कार्यरत छन्। प्राज्ञिक हिसाबमा उनी निकै अब्बल र दक्ष चिकित्सकका रुपमा चिनिन्छन्। प्रतिष्ठानमा उनी पारदर्शी र स्वच्छ छबि भएका व्यक्तिका रुपमा चिनिन्छन्। उपकुलपतिको दौडमा रहेका अन्य उम्मेदवारको तुलनामा राजनीतिक रुपमा उनको पहुँच भने निको कमजोर छ।
विश्व स्वास्थ्य संगठन सर्पदंस सम्बन्धी विशेषज्ञ टोलिका सदस्य समेत रहेका डा शर्मा खोज तथा अनुसन्धानमा नेपाल मात्र नभइ अन्तरास्ट्रिय स्तरमा समेत ख्याति प्राप्त छ्न्।
प्रा डा पारस पोखरेल
काङ्ग्रेस निकट मानिए पनि पोखरेल अवसरको खोजीमा छ्न्। कम्युनिटी मेडिसिनका प्राध्यापक उनी नेतृत्व गर्ने कुरामा भने कमजोर नै छ्न्। डा रौनियार उपकुलपति हुँदा प्रतिष्ठानमा सकृय भुमिकामा रहे पनि अहिले पनि निष्क्रिय प्राय नै छन्। उनले विराटनगरमा आफ्नै निजी अस्पताल पनि स्थापना गरेका छ्न्। उनको अस्पतालमा डा बद्री बडुको पनि लगानी रहेको छ। डा बडुको नाम पनि १६ जनामध्येमा छ। तर, उनले सार्वजनिक रुपमा आफूले आवेदन नदिएको बताएका छन्।
डा जिपी रौनियार
डा जिपी रौनियार प्रतिष्ठानका सिनियर प्राध्यापक हुन्। तर उनलाई प्रतिष्ठानमा धेरैले रुचाउँदैनन्। प्रतिष्ठानमा उनलाई समर्थन गर्नेको संख्या एकदम कम भएको एक कर्मचारीले जानकारी दिए।
डा प्रल्हाद कार्की
प्रतिष्ठानका सिनियर प्राध्यापक कार्की पनि काङ्ग्रेस निकट मानिन्छ्न्। उनलाई शेखर कोइरालले उपकुलपति छाडिसकेपछिको उत्तराधिकारको रुपमा हेरिए पनि उनले प्रतिष्ठानमा पदाधिकारीको जिम्मेवारी भने पाएका छैनन्। हक्की स्वभावका कार्कीले २० बर्षसम्म मेडिसिन विभागको प्रमुख भएर काम गरेका छन्। तर, उनले अब केही समयपछि अनिवार्य अवकास पाउन लागेका छन्। प्रतिष्ठानको स्थापना कालदेखी नै कार्यरत डा कार्किलार्इ प्रतिष्ठानको उपकुलपति हुने रहर भए पनि काङ्ग्रेस निकट उनलाइ अहिले नै उपकुलपती छनौट गर्ने सम्भावना न्युन छ।
डा विक्रम प्रसाद श्रेष्ठ
भुतपुर्व रेक्टर श्रेष्ठले सिमित व्यक्तिको घेरामा मात्र रमाउने व्यक्तिका रुपमा चिनिन्छन्। यसअघि आफ्नो कार्यकालमा केही नयाँ कामहरु गर्न खोज्दाखोज्दै पनि आफ्ना केही सिमित मानिसहरुको मात्र कुरा सुन्ने र अरु अरुलाइ पेलेरै जान खोजेका कारण प्रतिष्ठानका कर्मचारीले उनलाई रुचाउँदैनन्।
डा सिएस अग्रवाल
प्रतिष्ठानको स्थापनाकलादेखी नै कार्यरत डा अग्रवालसँग सर्जरीको विभागिय प्रमुख, डिन, लगायत विभिन्न पदमा रहि काम गरेको अनुभव छ। डा अग्रवाल विद्यार्थीहरुमाझ प्रिय छन्। प्रतिष्ठानबाट अवकास पाएपछि उनी निजी संस्थामा काम गर्दै आइरहेका छन्। डा अग्रवाल प्रतिष्ठानमा हुँदा सर्वाधिक पेइङ उपचार गर्ने सर्जनमा पर्थे।
प्रा डा बिएन यादव
फरेन्सिक मेडिसिनका प्राध्यापक यादव हाल राप्ती प्रतिष्ठानको रेक्टर हुँदा हुँदै पनि मन्त्रालयमा हाजिर लगाउँदै छन्। यस अघि पनि विभिन्न पदमा इच्छुक दिखिएका डा यादव उपकुलपतिको दौडमा रहे पनि उनलाइ प्रतिष्ठान भित्रबाटै राम्रो समर्थन छैन।
डा नारायण विक्रम थापा
डा थापा हाल नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष हुन्। डा थापा नेपाली कांग्रेस निकट छन्। उनलाई कांग्रेसले प्रतिष्ठानको उपकुलपति बनाउन चाहेको छ। डा थापाले प्रतिष्ठानमै अध्ययन गरेका थिए।
डा अनिल मिश्र
डा मिश्र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बनाउनु पर्छ भन्ने मध्येका एक हुन्। सरल स्वभावका डा मिश्र न्याम्सको उपकुलपति समेत हुन चाहन्थे। डा मिश्र कलेजो रोग विशेषज्ञ हुन्।
-इटहरीबाट विनय बाह्रकोटीको सहयोगमा
यो पनि