कोरोना भाइरस हो कि रुघा-खोकी? यो प्रश्नको उत्तर अहिले स्वास्थ्य क्षेत्रमा सबैभन्दा चुनौतीपूर्ण बनेको छ। पहिचान गर्नको लागि प्रयोगशाला निदान अनिवार्य हुन्छ। धेरैलाई ज्वरो र खोकी लागे रुघा-खोकी/फ्लु हो की भनेर सोच्नेभन्दा पनि यो कतै नोबेल कोरोना भाइरसको संक्रमण त होइन? भन्नेहरु बढी त्रास र जिज्ञासाले अस्पताल आइपुगेका देखिन्छन्। यसको मुख्य कारण भनेको यी दुई भाइरसबीचको खासगरी प्रारम्भिक लक्षणहरु समान हुनु नै हो।
अहिले रुघाखोकी अथवा फ्लुको सिजन पनि सुरु भइसकेको छ। केही समय अगाडि एक बाल गृहमा एकैपटक धेरै बालबालिकामा कडा ज्वरो, खोकी, जीउ दुख्ने, नाकबाट पानी बग्ने आदि लक्षणहरु लिएर बालगृह नजिकैको अस्पतालमा गएका र सो अस्पतालले पनि थप जाँच गर्न भनेर यो अस्पताल पठाएको थियो। यहाँ आउनुको मुख्य कारण कोरोना भाइरसको त्रास नै रहेछ।
कोरोना भाइरसको त्रासको कारण भनेको त्यहाँ चिनियाँ नागरिकको आवतजावत हुनु, यही समयमा चीनमा पनि यो भाइरसको महामारी देखिनु र सञ्चार माध्यममा पनि यसको व्यापक प्रचारप्रसार हुँदाको प्रभाव रहेछ। तर प्रयोगशाला जाँचपछि इन्फ्लुएन्जा 'ए' एचवानएनवान पिडिएम ०९ प्रमाणित भयो। यसलाई सर्वसाधारणले स्वाइन फ्लुको नामले पनि चिन्ने गर्छन्।
उनीहरुलाई यो त मौसमी फ्लु पो रहेछ भन्ने बित्तिकै अनुहारमा उज्यालोपन देखिन्छ। तर पनि विश्वास गर्न गाह्रो भएर होला 'कोरोना भाइरस त होइन नि?' भन्दै दोहोर्यातएर प्रश्न गर्छन् र थप परामर्शपछि ढुक्क भएर फर्कन्छन्। यसलाई हाम्रो समाजमा देखिएको 'कोरोना फोबिया'को बलियो उदाहरण मान्न सकिन्छ।
यस्ता समस्यासँग जुध्न सही जानकारी विशेषज्ञमार्फत सर्वसाधारणको पहुँचमा पुग्ने गरी अभियानकै रुपमा अगाडि बढाउनुपर्छ। किनभने यस्ता समस्याहरु आगामी दिनमा पनि निरन्तर देखिन सक्छ। यसमा विशेषज्ञ मात्र नभई समाजका अगुवाहरुले पनि सक्रिय भूमिका खेल्न सक्छन्।
कस्तो अवस्थामा नोबेल कोरोना भाइरस शंका गर्न सकिन्छ?
अस्पताल भर्ना हुनुपर्ने अवस्थाको कडा श्वासप्रश्वास समस्या हुनुको अरु कारण नभए/नदेखिए र त्यो व्यक्ति चीनको वुहानमा लक्षण देखिनु १४ दिन पूर्व भ्रमण/बसोबास गरेको अवस्था अथवा त्यस्ता बिरामीहरुको उपचारमा खटिएको वा त्यस्ता व्यक्तिसँग (वुहानबाट फर्केका) नजिकको सम्पर्क भएको १४ दिनभित्र लक्षणहरु देखिएमा नोबेल कोरोना भाइरसको शंका गर्न सकिन्छ। मुख्य लक्षणहरुमा ज्वरो १००.४ डिग्री फरेनहाइट वा सोभन्दा माथि देखिनु, श्वासप्रश्वासमा कठिनाइ र रुघा-खोकी पर्दछ।
कस्तो अवस्थामा फ्लुको शंका गर्न सकिन्छ?
यदि कुनै व्यक्ति १० दिन भित्रमा ज्वरो १००.४ डिग्री फ़ोरेनहाइटभन्दा माथि देखिएको र खोकी लागेको अवस्था (आइएलआई ) भएमा वा यी भनिएका लक्षणहरु सहित अस्पताल भर्ना हुनुपर्ने अवस्था (एकएआरआई) सिर्जना भएमा फ्लुको शंका गर्न सकिन्छ।
तर यी दुवैको निश्चित निदान भने प्रयोगशाला जाँचबाट मात्र गर्न सकिने छ।
यी दुवै माथि वर्णन गरिएका अवस्थाहरु विश्व स्वस्थ संगठनका परिभाषा अन्तर्गतका हुन्। फ्लुमा विशेषगरी ज्वरो र खोकी लाग्ने गर्छ भने नोबेल कोरोना भाइरसमा मुख्यतया ज्वरो र श्वासप्रश्वासमा जटिलता देखिनुका साथै छाती कस्सिएको महसुस हुने गरेको हालसम्म भएका बिरामीको स्वस्थ इतिहासले देखाउँछ। यध्यपि जानकारीहरु आउने क्रम भने अझै जारी नै छ।
हाल नोबेल कोरोना भाइरसको लक्षणमा रुघाखोकीलाई पनि मुख्य लक्षणको रुपमा लिएकोले नै त्यस्ता लक्षण भएका बिरामीहरु आफूलाई नोबेल कोरोना भाइरसको संक्रमण नै भएको होकी भनेर त्रास लिएर सो भाइरसको निश्चित प्रयोगशाला निदान गरिदिन आग्रह गर्दै आउने गरेका छन्। तर ज्वरो र श्वासप्रश्वासमा जटिलता देखिनु वा छाती कस्सिएको जस्तो महसुस भए यस भाइरसको संक्रमण हुने सम्भावना बढी हुनसक्छ भनेर बुझाउन सकेको भए नाकबाट पानी बग्ने वा हाच्छिउँ गर्ने बित्तिकै उनीहरु यो नयाँ कोरोना भाइरसको त्रास लिएर आउने थिएनन् होला।
सबैभन्दा पहिले हामीले के बुझ्नु पर्छ भने नोबेल कोरोना भाइरसको उपस्थिति हाल नेपालमा व्यापक छैन तर फ्लु भाइरस वर्षेनी दुई पटकसम्म नेपालमा देखिँदै आइरहेको छ। हाल फ्लुको सिजन पनि भएकोले यसको संक्रमण फैलँदो क्रममा छ। यसर्थ ज्वरो तथा खोकी लागेमा फ्लुको सम्भावना सबैभन्दा बढी हुने देखिन्छ।
तर कोही व्यक्ति चीनको भ्रमण र त्यसमा पनि विशेष गरेर नोबेल कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहान भन्ने ठाउँबाट फर्किएको १४ दिनभित्र वा सो व्यक्तिसँग नजिकको सम्पर्कमा रहेको वा सो भाइरसको उपचारमा खटिएको अवस्थामा लक्षणहरु उच्च ज्वरो, श्वासप्रश्वासमा जटिलता देखिनु वा छाती कस्सिएको जस्तो महसुस भएको छ भने जतिसक्दो चाँडो सरकारले तोकेको अस्पतालका चिकित्सकको सम्पर्कमा जानु/रहनु पर्छ। आवश्यक परामर्श, जाँच पड्ताल वा उपचारमा लाग्नु पर्छ। यसबाट संक्रमित भएको अवस्थामा रहेछ भने संक्रमण अरु फैलन सक्ने सम्भावनालाई तत्काल रोक्न मद्दत गर्छ।
हाल नोबेल कोरोना भाइरससँग सम्बन्धित जानकारीहरु अति सीमित छन्। वैज्ञानिकहरुको भनाइ अनुसार यो तीब्र गतिमा फैलिरहेको छ र यसको क्षमता भनेको पनि यही हो। तर यसको मृत्युदर भने आजको मितिसम्ममा हेर्दा विगतमा देखिएका सार्स तथा मर्स कोरोना भाइरसभन्दा कयौ गुणा कम देखिन्छ तर पनि यो भाइरस विल्कुल नयाँ भएकोले धेरै तथ्य आउन बाँकी नै छ र आउने क्रम जारी पनि छ।
यसर्थ नोबेल कोरोना भाइरसको नाम सुनेर वा संक्रमित भएँ की भनेर आत्तिनुभन्दा पनि सजगता र सतर्कता भने अपनाउनु अहिलेको लागि सबैभन्दा उत्तम हुने छ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)