काठमाडौं— चीनबाट ल्याइएका नेपालीलाई आफ्नो क्षेत्रभित्र नराख्न भन्दै नेता तथा जनप्रतिनिधीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दबाब दिन थालेका छन्।
नगरपालिकाभित्र नराख्न भन्दै नार्गाजुन नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाइसकेको छ भने नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेले मन्त्रालयमा फोन गर्दै दबाब दिइरहेका छन्।
नार्गाजुनले पत्र पठाएजस्तै नेपाल मजदुर किसान पार्टीका नेता बिजुक्छेले पनि आफ्नो क्षेत्रमा उद्दार गरि ल्याएका नेपाली नराख्न भन्दै मन्त्रालयमा फोन गरिरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारी भन्छन, ‘भक्तपुरमा नराख्न भन्दै नेता नारायणमान विजुक्छेले समेत फोन गर्नुभयो। उद्दार गर्ने, राख्ने माहोल मिलाउने कुरा राष्ट्रमात्र होइन जनप्रतिनिधिको पनि जिम्मेवारी हो।’
जनप्रतिनिधि नै यसरी उद्दार गरिएका व्यक्ति आफ्नो क्षेत्रभित्र नराख्न भन्दै अघि सरेपछि त्यसले जनताप्रतिको उनीहरुको जिम्मेवारीमा प्रश्न उब्जिएको भन्दै उनले आक्रोश व्यक्त गरे।
नार्गाजुन नगरपालिकाले बैठक बसि पत्रका साथै बैठकको माइनुटसमेत मन्त्रालयलाई पठाएको छ।
नार्गाजुनको माइनुट हेर्न हो भने त सरकारले सो क्षेत्रमा स्थान खोजिरहेको कार्यलाई अनुपयुक्त, असान्र्दभिक र अन्यायपूर्ण भएको बताइएको छ।
‘यदि ती उद्दार गरि ल्याइएका नेपाली ती नेताकै क्षेत्रका भए कहाँ राख्ने? उनीहरु प्रति नेपाल सरकार, नेता वा जनप्रतिनिधिको जिम्मेजारी हुँदैन?,’ ती कर्मचारीले पत्र देखाउँदै आक्रोश पोखे।
चीनमा कोरोना भाइरसको त्रास बढेपछि सरकारले त्यहाँ रहेका नेपाली नेपाल ल्याइ राख्नका लागि ठाउँ खोजिरहेको समयमा सो नगरपालिकाले आफ्नो पालिकामा नराख्न पत्र पठाएको हो।
नार्गाजुन नगरपालिकाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई बोधार्थ दिँदै नगर उपप्रमुख सुशीला अघिकारीले वडा १ मा रहेको भवन तथा शहरी विकास मन्त्रालयबाट निर्मित भवनहरुमा राख्ने चर्चाले ध्यानाकर्षण भएको भन्दै पठाएकी हुन्।
नगरापालिकाले मन्त्रालयमा पत्रमा भनिएको छ, ‘उल्लेख स्थान शहरी तथा घना मान वस्ती भएको शहरी क्षेत्रभित्र पर्ने भएकाले उक्त स्थानमा चीनबाट उद्दार गरि आउने व्यक्तिलाई नराख्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ।’
स्थान खोजीबारे सञ्चारमाध्यमा समाचार प्रकाशित भएपछि सो पालिकासँगै भक्तपुरका बासिन्दाले समेत उद्दार गरिएका व्यक्तिलाई आफ्नो जिल्लामा नराख्न भन्दै आपत्ति जनाएका थिए।
सरकारले चाँगुनारायण नगरपालिकाको खरिपाटीमा क्वारेन्टराइन राख्ने निर्णय चाँगुनारायण नगरपालिकामार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाइसका छन्।
‘चीनबाट ल्याउने व्यक्तिलाई जाँच गरिल्याउने हो। यदि कोही संक्रमित भएमा ल्याउन दिँदैन। यँहा कुरै नबुझेर त्रासमा विरोध भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका कर्मचारी भन्छन्।
यता, चीनको वुहानमा रहेका व्यक्तिका अभिभावकले भने आफ्ना परिवारका सदस्यलाई नेपाल ल्याइदिन भन्दै स्वास्थ्य, परराष्ट्रहुँदै प्रधानमन्त्रीसमेतलाई अपिल गरिरहेका छन्।
विश्वलाइ नै तर्साउने गरी चीनमा फैलिइएको कोरोना भाइरसबाट हालसम्म ८५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।
विभिन्न देशहरुले जोखिम हुँदै आफ्ना नागरिकलाई उद्दार गरिरहेका छन्।