काठमाडौं- फागुन १५ अर्थात् स्वास्थ्यकर्मीका लागि विशेष दिन। देशभरका स्वास्थ्यकर्मी परिचालन गर्ने स्वास्थ्य मन्त्रालयका लागि त झन् यो दिन अझ विशेष हुने नै भयो।
आजकै दिन स्वास्थ्य सेवा दिवस पर्ने भएकाले सम्पूर्ण सरोकारवालाका लागि विशेष दिन बन्ने नै भयो। नेपालमा स्वास्थ्य सेवा ऐन आएको दिन पारेर हरेक वर्ष फागुन १५ लाई स्वास्थ्य सेवा दिवसको रूपमा मनाइने गरिएको पनि थियो। हरेक वर्ष यो दिवस मनाउन विशेष नारा तय हुनुपर्ने हो। तर यसपटक दिवसबारे मन्त्रालय वा मातहतका निकायलाई नै यो दिवसबारे सम्झना भएन। सम्झना नभएपछि नारा तय हुने पनि कुरै भएन।
यसवर्षको फागुन १५ आठौँ स्वास्थ्य सेवा दिवस हो। गत वर्ष पनि समायोजनसम्बन्धी विभिन्न आन्दोलनका बहानामा यो दिवस मनाइएको थिएन। अहिले पनि यो दिवसमा केही पनि कार्यक्रम नहुने निश्चित भइसकेको छ।
राष्ट्रिय स्वास्थ्य सेवा दिवसको प्रमुख उद्देश्य नै स्वास्थ्यकर्मीको मनोबल बढाउनु, सेवा गर्ने भावना विकास गर्नु, उत्कृष्ट कर्मचारी, स्वास्थ्यकर्मीहरूलाई पुरष्कृत गर्नु, स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धिका कार्यक्रम गर्नुलगायत हुन्। तर पछिल्लो दुई वर्ष यो दिवसमा यस्ता उद्देश्य पूर्तिमा सहयोग हुने गरी कुनै कार्यक्रम भएनन्। कार्यक्रम त परकै कुरा, मन्त्रालयलाई नै यो दिनबारे सम्झना नै भएन।
समायोजनको प्रक्रियाको किचलोका कारण कर्मचारीको मनोबल जागिरे जीवनकै सबैभन्दा कमजोर बनाएको मन्त्रालयका जिम्मेवार कर्मचारीको भनाइ छ।
000
मन्त्रालयमा भर्खरै १२औं तहको बढुवा गर्ने काम र केही कर्मचारीको स्तरवृद्धि गर्ने काम भएको छ। तर, जुन ऐनमा टेकेर मन्त्रालयका हरेक दिनका कामकारबाही हुन्छन्, त्यही ऐनको सम्झनामा मनाइने दिवसबारे मन्त्रालयका जिम्मेवार कर्मचारी भने स्वास्थ्य सेवा दिवसबारे बेखबर छन्।
मन्त्रालयका एक कर्मचारीले त ऐनकै सिँडी चढेर माथिल्लो पदमा पुगेकाहरूले नै स्वास्थ्य दिवस वास्ता नगरेको भन्दै टिप्पणी गरेका छन्। कतिपयले सरोकारवालाले मन्त्रालयले नै दिवस मनाउन बिर्सिएको प्रतिक्रिया गरेका छन्।
000
बिहीबार नै अर्को, संयोग पनि जोडिएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालको मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको छ। उनले सय दिनमा के के काम गरे भन्नेबारे पनि कुनै विवरण सार्वजनिक गरेका छैनन्। गतिविधिबारे बिहीबार दिनभरमा जानकारी सार्वजनिक हुन पनि सक्लान्। वा मन्त्रीलाई आफ्ना काम सार्वजनिक गर्न आवश्यक नलाग्न पनि सक्ला? तर, मन्त्रालय र मातहतका कर्मचारीले गरेका कामकारबाहीबारे जानकारी पाउने जनताको अधिकार पनि हो।
मन्त्रालयले यी दुबै विषयलाई किन महत्व दिएको छैन। तर हरेक वर्ष कर्मचारीको मनोबल बढाउन विभिन्न कार्यक्रम गर्दै शुभकामना दिन पनि कन्जुस्याईं गर्नुको कारण के होला?
000
स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमणको व्यवस्थापन लाग्नुपरेकोले दिवस मनाउन नपाएको प्रतिक्रिया दिएको छ। स्वास्थ्य खबरले स्वास्थ्य सेवा दिवसमा हुने कार्यक्रमबारे स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा विकास देवकोटासँग जिज्ञासा राखेको थियो। कोरोना संक्रमणको जोखिम व्यवस्थापनमा केन्द्रित हुनुपर्ने भएकाले दिवस मनाउन नसिकएको डा देवकोटाको भनाइ छ।
‘औपचारिक रुपमा मन्त्रालयले कुनै कार्यक्रम नराखेको भएपनि मातहतका स्वास्थ्य संस्था दिवस मनाउँछन्,’ डा देवकोटाले भने, 'मन्त्रालयले स्वास्थ्य सेवा दिवस बिर्सिएको भन्नु भन्दा पनि कोरोना संक्रमणको व्यवस्थापनमा केन्द्रित भएकाले कार्यक्रम नराखिएको हो।'
मुख्य विषय भने बहाना जेसुकै भएपनि यसपटक स्वास्थ्य मन्त्रालयले यो दिवसलाई बिर्सेको छ। दिवस मनाउने कुनै तयारी वा पहल भएनन्। मन्त्रालयका एक कर्मचारीले भने यसपटक दिवसबारे मन्त्रालयमा कसैले कुरै उठाएनन्। मन्त्रालय यतिबेला जिम्मेवारी हेरफेर, कहाँ कसलाई राख्ने भन्ने विषयमै अल्झिएको छ। यो बिचमा फागुन १५ गते स्वास्थ्य सेवा दिबस हो भन्ने कसैलाई हेक्का भएको देखिएन।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका माथिल्लो निकायका कसैलाई पनि यो दिवस याद भएन। यसबारे जानकारी दिनका लागि मन्त्रलायका महाशाखा मातहतका सबै प्रमुखसँग जिज्ञासा राखिएको पनि थियो। तर, कर्मचारीले प्रतिक्रिया दिन इन्कार गरेका छन्।