डा गुरुप्रसाद मैनाली
३१ डिसेम्बर २०१९ देखि चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमण हाल विश्वका धेरै देशमा द्रूत गतिमा फैलिरहेको छI कोरोनाको उद्गमस्थल चीन हाम्रो छिमेकी राष्ट्र भएकोले र महामारीकै बीच चिनियाँ पर्यटक नेपाल आउने क्रम नरोकिएकोले नेपाल कोरोना भाइरसको उच्च जोखिममा छ।
उच्च जोखिममा हुँदाहुँदै पनि कोरोनाप्रति सरकारी निकायको उदासिनता आश्चर्यलाग्दो देखिन्छ। विदेशमा जस्तै यदि नेपालमा कोरोना देखा परेर फैलन थाल्ने हो भने यहाँको मृत्युदर निकै बढी हुने अनुमान सजिलै गर्न सकिन्छ।
विश्व स्वास्थ्य संगठनले चाँडै नै कोरोना संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गर्नेबारे चर्चा चुलिएको अवस्थामा नेपालमा पनि पर्याप्त अन्तारिक पूर्वतयारी हुन जरुरी छ।
महामारीको बेला सरकारको मात्रै मुख ताक्नु भन्दा हरेक नागरिक जागरुक हुनु जरुरी छ।
सरकारी तहबाट गरिनुपर्ने पूर्वतयारी
- एयरपोर्ट/बोर्डर मार्फत आवत-जावतमा कडा निगरानी
- व्यापक जनसचेतना कार्यक्रम सञ्चालन
- आवश्यक दक्ष जनशक्ति व्यवस्थापन र परिचालन
- आमनागरिकका साथै स्वास्थ्यकर्मीको सुरक्षाको प्रतिवद्धता
- आवश्यक मेडिकल सामग्री, औषधि लगायत भेन्टिलेटरसम्मको व्यवस्था र त्यसबारे स्पष्ट जानकारी
- आइसोलेसन वार्डको उपलब्धता र विस्तार
- लकडाउनको स्थितिमा पर्याप्त खाद्य (साथै अन्य आधारभूत) सामग्री व्यवस्थापन
हरेक नागरिकले व्यक्तिगत तथा पारिवारिक सन्दर्भमा आफू अनुकूल तयारीमा जुट्नु पर्छ; जस्तै:
- यदि कसैको घरमा साना बालबालिका/वृद्धवृद्धा छन् भने आपतकालीन अवस्थामा उनीहरुको विशेष ध्यान कसले राख्ने।
- नियमित औषधि सेवन गर्ने कोही छन् भने औषधिको जोहो कसरी गर्ने।
- घरबाट टाढा भएकाहरु बीचको तनाव कम गर्न केकस्ता उपाय अपनाउने; सम्भव भएसम्म सँगै बस्ने, नभए छिमेकी या नजिकको नातेदारको सहयोग लिने।
- आफूसँग घरमा भएको भान्साको सामान पर्याप्त हुने-नहुनेबारे आवश्यकता अनुसार निर्णय लिने।
- इमर्जेन्सी किट तयार गर्ने, महामारीको बेला अति आवश्यक औषधि व्यवस्थापन गर्ने।
- साबुन-पानीले नियमित हात धुने अथवा सेनिटाइजर प्रयोग गर्ने।
- धेरै भीडभाड हुने ठाउँमा नजाने; जान नदिने।
- आफ्नो वरिपरि कसैलाई असाधारण स्वास्थ्य समस्या भएको देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजाने।
(डा मैनाली प्याथोलोजिस्ट हुन्)