डडेल्धुरा- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन अन्तर्राष्ट्रिय उडान बन्द गर्नुपर्ने बताएका छन्। उनले चीन र भारतसँगका सबै नाका केही समयका लागि बन्द गरिनुपर्ने समेत बताए।
स्वास्थ्य बिमा लागू भएको औपचारिक रुपमा घोषणा गर्न डडेल्धुरा पुगेका मन्त्री रावतले बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय मन्त्रिपरिषदबाटै गरिनुपर्ने बताए।
कोरोनाको संक्रमण संसारभरि नै फैलिरहेको अवस्थामा नेपालमा भित्रिन नदिन नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले योजना बनाएको पनि उनको भनाइ थियो। ‘चीनमा रहेका नेपालीलाई काठमाडौं पुर्याएपछि आफैं अनुगमनमा गई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका दुई वटा चेकजाँच स्थल (हेल्थ डेस्क) बाट बढाएर ६ वटा पुर्याएका छौं। नयाँ आधुनिक प्रविधिबाट चेकजाँच भइरहेको छ,’ उनले भने।
सबै सरकारी लगायत निजी अस्पताललाई कुनै पनि घटना हुँदा वा कुनै पनि समस्या पर्दा तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयले निर्देशन गरिसकेको उनले बताए।
यस वर्षदेखि डडेल्धुरामा पनि स्वास्थ्य बिमा लागू भएको छ। सस्तो र सुलभ तवरबाट जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सदूरपश्चिम प्रदेशको कैलालीबाट सुरुवात भएको बिमा कार्यक्रम डडेल्धुरामा लागू भएको मन्त्री रावतले बताए । स्वास्थ्य बिमामा आबद्ध भएर लाभ लिन उनले सबैलाई आग्रह समेत गरे। उनले डडेल्धुरा अस्पतालको निरीक्षण समेत गरेका छन्।