काठमाडौं– फागुन २१ गते बुधबार। प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदै थियो। प्रत्यारोपणका लागि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार भर्ना भएका थिए।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको विषय आम जनमानसका बीचमा निकै चासो र चर्चाको विषय बन्यो। प्रत्यारोपणका लागि भर्ना भएको दिनदेखि आजसम्म प्रधानमन्त्रीको उपचारबारे चर्चा कायम छ। प्रधानमन्त्रीको उपचार हुने भन्नेबित्तिकै सबै बन्दोबस्त तुरुन्तै मिल्यो। न पालो कुर्नु पर्यो, न पैसाको जोहो गर्ने नै चिन्ता।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएकै दिन जटिल रोगसँग जुधिरहेका जनकपुरका अलिम कवाडीको पनि शल्यक्रिया हुँदै थियो।
प्रधानमन्त्री र नेता त उनी थिएनन् नै, पैसा भएका नागरिक पनि होइनन् उनी। मजदूरी गरेर साँझ–बिहानको छाक टार्ने सामान्य व्यक्ति हुन् अलिम कवाडी।
५ वर्षदेखि अनुहारमा पाँच किलो मासुको डल्लो (ट्युमर) बोकेर जीवन–मरणको दोसाँधमा छटपटिएका थिए, ४२ वर्षीय अलिम। पैसा नभएर उनी ५ वर्षदेखि रोग पालेर बसेका थिए।
उनी विपन्न परिवारका थिए। त्यसैले उनका बारेमा चासो केवल उनका परिवार र उपचारमा संलग्न चिकित्सकलाई मात्र थियो।
अलिम अस्पतालको शल्यक्रिया कक्षमा रहँदा घरमा उनकी श्रीमती प्रसव पीडामा छट्पटाइरहेकी थिइन्। यता, अलिमको मुहारमा पलाएको साढे पाँच केजीको ट्युमर झिक्दा जनकपुरस्थित अलिमकी श्रीमतीले छोरीलाई जन्म दिइन्।
श्रीमान्–श्रीमतीका पीडा फरक थिए। अलिमले पाँच वर्षदेखिको पीडा बिसाए। श्रीमतीले दिइन् सन्तानको सुख। भर्खरै जन्मिएकी छोरी र बाबुको भेट हुन अझै समय लाग्छ। तर, अलिमलाई ट्युमरले दिएको दुःख छोरीको जन्मले छोपिदियो।
६ वर्षअघि गालाको दाहिने भाग सुन्निएपछि सुरु भएको अलिमको समस्या बढेर शल्यक्रियाको अवस्थासम्म पुगेको थियो। मजदुरी गरेर दैनिकी चलाउने उनी समस्या बोकेर काठमाडौंस्थित वीर अस्पताल आए।
चिकित्सकले जाँचेर शल्यक्रिया गरिदिए। उनी केही दिनको औषधि बोकेर निको हुने विश्वासका साथ गाउँ फर्किए।
औषधि सकियो तर समस्या सकिएन। शल्यक्रिया गरेको भागमा फेरि मासु पलाउन थाल्यो। पलाएको मासुले पूरै मुहारै ढाक्यो। एक पटक जसोतसो काठमाडौं आएका उनी दोस्रो पटक आउन सकेनन्।
सुन्निएको भाग बढ्दै गएर मुहारको स्वरुप नै बदलियो। आँखा, कान, मुख समेत नदेखिने भयो।
अस्पताल जान नचाहेका पनि होइनन्। तर उपचार गर्न चाहिने रकम उनीसँग थिएन। दिनभरको कमाइले बेलुकाको छाक टार्नुपर्ने बाध्यताबीच पुनः काठमाडौं आउन सम्भव थिएन उनका लागि।
उनको सुन्निएको भाग (ट्युमर मासुको डल्लो)ले अनुहार ढाकियो। उनी बोल्न र खान नसक्ने अवस्थामा पुगे।
परिवारले उपचार गराउन चन्दा संकलन गर्न थाल्यो। दुई महिनाअघि चन्दा संकलन गरी जम्मा भएको केही पैसा बोकेर उनी काठमाडौं आए।
उनको अवस्था देखेर कति अस्पताल र चिकित्सकले उपचार गर्न नसक्ने बताए। केही चिकित्सकले उनलाई ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिर्सच सेन्टर हरिसिद्धी जान सुझाए।
उनी त्यहाँ पुगे। त्यहाँ हेड एन्ड नेक अंकोलोजी विभागमा कार्यरत डा प्रवीण जैसवाललाई भेटे। उनको जटिल अवस्था देखेपछि डा जैसवालले विभागीय प्रमुख डा प्रभातचन्द्र ठाकुरसँग कुरा गरे।
हेड एन्ड नेक अंकोलोजी विभाग प्रमुख डा प्रभातचन्द्र ठाकुर भन्छन्, ‘अलिमलाई अस्ट्रियो सार्कोमा (हड्डीबाट निस्कने क्यान्सर) भएको हो। तर यो क्यान्सर अलि कम उमेरका व्यक्तिमा देखिन्छ। अलिमका उमेरका मानिसमा निकै कम देखिन्छ।’
खान नसक्ने भएकाले अलिम निकै कमजोर भइसकेका थिए। उनको जटिल खालको शल्यक्रिया थियो। जसका कारण शल्यक्रिया गर्न निकै लामो समय लागेको थियो।
‘जटिल शल्यक्रिया त्यसमा पनि मासु काटिएको स्थानमा प्रत्यारोपण पनि सँगै गर्नुपर्ने भएकाले १२ घन्टा लागेको थियो। शल्यक्रियापछि केही समस्या आउन सक्छ भनेर हाम्रो टिम अस्पतालमै बस्यो,’ डा ठाकुरले भने।
चिकित्सकले त्यो क्यान्सर नै हो वा अरु केही रोग हो भनेर थप जाँच पनि गरिरहेका छन्। डा ठाकुरले केही दिनमा रिपोर्ट आएपछि अस्ट्रियो सार्कोमा हो वा अरु केही भन्ने टुंगो लाग्ने बताए।
बिरामीसँग उपचार खर्च नभएकोले अस्पताल प्रशासन र चिकित्सकले निःशुल्क उपचार गरिदिएको हो।
अस्पतालले विपन्न नागरिकको उपचारमा सहयोगका लागि स्थापित भएको नेपाल क्यान्सर सपोर्ट गु्रपले पनि सहयोग गरेको थियो। भने सरकारले विपन्न नागरिकलाई कडा रोग उपचारमा दिने रु एक लाख बराबरको सहयोग पनि थियो।
डा ठाकुरले विभिन्न संस्थासँग सहयोगका लागि कुरा गरे। नेपाल इन्जिनियर श्रीमती संघले पनि उपचारका लागि आर्थिक सहयोग गरेको थियो। अहिले पनि विभिन्न संघसंस्थासँग सहयोगका लागि अपिल गरिरहेको उनले बताए।
बुधबार बिहान ८ बजे डा ठाकुरको नेतृत्वमा अलिमको जटिल शल्यक्रिया भयो। उनको टिममा डा प्रवीण जैसवाल, ट्युमर निकालेको भागलाई बनाउने काममा प्लास्टिक सर्जन डा सुरेन्द्र बस्नेत, डा कृष्ण नगरकोटी र डा सुदीपले उनलाई सघाएका थिए।
साढे पाँच केजीको ट्युमर निकाल्दा झन्डै एक लिटर रगत बगेको डा ठाकुरले बताए।
कुनै पनि ट्युमर बढ्यो भने रगत प्रवाह बढ्दै जान्छ। जसलाई चिकित्सकीय भाषामा भास्कुलर भनिन्छ। जसको कारणले शल्यक्रिया गर्दा रगत धेरै बग्ने सम्भावना हुन्छ। अलिमको ट्युमर पनि लामो समयदेखिको भएर शल्यक्रिया गर्दा धेरै रगत बगेको चिकित्सकले बताए।
‘अहिले बिरामीको अवस्था राम्रो छ। प्रत्यारोपण गरिएको मासु पनि सामान्य रहेको छ। तर उहाँलाई मुखबाट खाना खान र बोल्नका लागि भने केही समय लाग्छ,’ उनले भने।
यदि त्यो जाँचमा अस्ट्रियो सार्कोमा नै देखियो भने उनी छिट्टै निको हुनेछन्। जाँचमा अन्य समस्या देखिए थप उपचार गर्नुपर्छ। वा उनलाई क्यान्सरको अवस्था हेरी केमो थेरापी पनि आवश्यक पर्न सक्छ। केमो थेरापी दिनुपर्ने भएमा ४ महिना जति कुर्नुपर्ने हुनसक्छ।
शल्यक्रिया गर्दा अलिमको दाहिने आँखा, नाकको आधा भाग, तालु र पिनास हड्डी गुमेको छ। दाहिने गालामा तिघ्राको छाला झिकेर प्रत्यारोपण गरिएको छ। खानाको लागि पेटबाट दिन मिल्ने व्यवस्था गरिएको छ।
अस्पतालले शल्यक्रिया, औषधि निःशुल्क गरिदिएको हो भने बिरामी र एक जना कुरुवालाई खानाको पनि व्यवस्था गरिदिएको छ।
अलिमका दिदी र भिनाजुले उनको रेखदेख गरिरहेका छन्।
अलिमका भिनाजु फरमान नदाफले स्वास्थ्यखबरसँग भने, ‘डा ठाकुर हाम्रा लागि भगवान् हो। उहाँले मृत्युको मुखमा पुगेको मेरो सालोलाई निःशुल्क उपचार गरेर नयाँ जीवन दिनुभयो।’
उनले अलिमका दुई छोरा उपचार नपाएर बितेको स्मरण गर्दै घरमा छोरी जन्मिएको खबरले अलिम निकै खुसी भएको सुनाए।
‘के गर्ने सबै कुरा पैसा रहेछ। पैसा भएको भए, ती छोरा पनि बाँच्थे। अलिमको उपचार निःशुल्क नभएको भए यसलाई पनि हामीले गुमाइसकेका हुन्थ्यौँ,’ उनले भावुक हुँदै भने।
सबै निःशुल्क हुँदाहुँदै पनि खर्च भइरहेकै छ। थप एक व्यक्तिले खानुपर्यो। घरमा अलिमकी बुढी आमा र श्रीमती मात्र छन्। छिनछिनमा फोन गरेर खबर भन्नुपर्छ। डिस्चार्ज पछि पनि आलम फलोअपका लागि अस्पताल आइरहनु पर्छ।
फरमानले भने, ‘मजदुरी गर्नेसँग कहाँ पैसा हुन्छ र। आएको २ महिना भयो। गरिबलाई बाँच्न पनि गाह्रो छ, मर्न पनि गाह्रो छ।’
के हो अस्ट्रियो सार्कोमा?
अस्ट्रियो सार्कोमा हड्डीबाट पलाउने क्यान्सरकै एउटा रुप हो। यो सार्कोमा धेरै प्रकार हुन्छन्।
यो रोग विशेषगरी कम उमेरका व्यक्तिमा देखिन्छ। सामान्यतः यो रोग घुँडा वा हातमा धेरै देखिन्छ। अर्थात लामो हड्डी हुने ठाउँमा धेरै देखिन्छ। कान, कान र घाँटीमा हुने सम्भावना निकै कम हुन्छ। तर नहुने भन्ने होइन।
विकसित देशमा गरिएको अध्ययनले कान, कान र घाँटीमा हुने अस्ट्रियो सार्कोमा एक लाखमा २ वा ३ जनामा देखिन सक्ने देखाएको छ।
डा ठाकुरले आफ्नो ८ वर्षे चिकित्सकीय अभ्यासमा नाक, कान र घाँटीमा अस्ट्रियो सार्कोमा भएका ४ जना बिरामीको शल्यक्रिया गरेको बताए। तर सबैभन्दा बढी उमेरका बिरामी अलिम नै हुन्। हेर्न त सार्कोमा अन्य ८ बिरामी पनि हेरेका थिए तर ती शल्यक्रिया गर्न नमिल्ने अवस्थामा पुगिसकेका थिए।
यो रोग घुँडा नजिक तिघ्राको हड्डी, काँध नजिकको हड्डीमा धेरै देखिन्छ। तर अनुहार, गिजा, कानको पछाडिको भागमा देखिन सक्छ। यो निकै कम व्यक्तिलाई हुन्छ। कानको पछाडिबाट आउने सम्भावना बच्चामा धेरै हुन्छ।
अस्ट्रियो सार्कोमा हड्डीको तीव्र विकास वा वंशाणुगत कारणले पनि हुने सम्भावना हुन्छ।
अस्ट्रियो सार्कोमाको सुरुवाती लक्षण
– गिजा वा तालु सुन्निने,
– दाँत हल्लिँदै जाने,
– गाला सुन्निने, मासु पलाउने,
– रगत बग्ने,
सुरुवाती लक्षणका कारणले समयमै रोग पत्ता लगाउन समस्या हुने चिकित्सक बताउँछन्। धेरै बिरामी रोग बढिसकेको अवस्थामा अस्पतालमा आउँछन्।
अलिममा देखिएको अस्ट्रियो सार्कोमा विरलै देखिने डा ठाकुर बताउँछन्। अनुहारमा त्यो पनि ४२ वर्षको उमेरमा देखिनु निकै दुर्लभ मानिन्छ।
उपचार
रोग पत्ता लागेपछि उपचार गर्दा यो निको हुने रोग हो। ट्युमर अन्य भागमा फैलिएको छैन भने उपचार पनि सहज हुन्छ।
फैलिँदै जाँदा कलेजो, फोक्सोमा फैलियो भने शल्यक्रिया गर्न सकिँदैन। त्यस्तो अवस्थामा केमोथेरापी दिनुपर्ने हुन्छ।