काठमाडौं– नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा पास गराइदिने भन्दै काउन्सिल सदस्य जीता बरालले तीन लाख रुपैयाँ मागेको फेसबुक कुराकानी सार्वजनिक भएपछि नर्सिङ क्षेत्र तरंगित भएको छ।
काउन्सिल सदस्य बरालको फेकबुक म्यासेन्जरमा लाइसेन्समा सहभागी हुने एक विद्यार्थीसँग तीन लाख रुपैयाँ मागेको कुराकानीको स्क्रिनसट सामाजिक सञ्जालमा बाहिरिएको छ। जीताले तीन लाख रुपैयाँ दिए पास गराइदिने र विद्यार्थीले आइएमई मार्फत पैसा पठाइदिएको विवरणसहितको कुराकानीको स्क्रिनसट सार्वजनिक भएको हो।
यही फागुन २४ गते काउन्सिलको २४औं लाइसेन्स परीक्षा भएको थियो। परीक्षामा सहभागी ५ हजार नर्समध्ये ४ हजार ३ सय ९० जना र ८ मध्ये ७ मिडवाइफ उत्तीर्ण भएका थिए।
परीक्षा सकिएपछि बाहिरिएको कुराकानीमा काउन्सिलका रजिस्ट्रार बिन्दा घिमिरेको नाम समेत जोडिएको छ। सामाजिक सञ्जालमा आइरहेको कुराकानी विवरण अनुसार सदस्य जीताले ती विद्यार्थीसँग बार्गेनिङ गरेको देखिन्छ। रजिस्ट्रारलाई समेत पैसा दिनुपर्ने भएकाले तीन लाख दिनुपर्ने र जसरी पनि पास गराइदिने कुरा बरालले गरेको देखिन्छ।
विद्यार्थीले दुई पटक गरेर दुई लाख ५० हजार रुपैयाँ आइएमई गरी नम्बर पठाएकी छन््। बाँकी ५० हजार पास भएपछि दिने बताएकी छिन्। तर सामाजिक सञ्जालमार्फत बाहिरिएको कुराकानीमा पैसा बुझाएको भनिएकी नर्सको परिचय भने लुकाइएको छ।
सामाजिक सञ्जालमा सो कुराकानी बाहिएपछि रजिस्ट्रार बिन्दा घिमिरे र सदस्य जीता बरालले बिहीबार आफ्नो फेसबुक ह्याक गरी कसैले बदनाम गर्न खोजेको भन्दै नर्सिङ काउन्सिलमा छुट्टाछुट्टै निवेदन दिएका छन्। उनीहरुले कानुनी उपचार खोज्ने समेत काउन्सिलमा जानकारी गराएका छन्।
सो घटनाका सम्बन्धमा रजिस्ट्रार घिमिरेले आफ्नो नाम जोडेर गलत फाइदा उठाउन खोजेको बताइन्।
उनले भनिन्, ‘बाहिर मेरो नाम जोडेर यस्तो कुरा आइरहेको रहेछ। जुन विषयमा म संलग्न छैन। यस विषयमा कानुनी रुपमा समाधान खोज्न छलफल गरिरहेकी छु।’
उनले सदस्य जीता बरालको फेसबुकबाट कुराकानी भएको भन्दै भनिन्, ‘उहाँ (जीता बराल)ले के गर्नुहुन्छ म हेर्दै छु। त्यसपछि के गर्ने कदम चाल्छु। त्यसपछि मानहानिको मुद्दा हाल्ने भनेर पनि कुरा गरिरहेकी छु।’
काउन्सिलमा बिहीबार सो सम्बन्धमा बोर्ड बैठक समेत बसेको छ। काउन्सिलका अध्यक्ष प्रा गोमादेवी निरौलाले दुवैको व्यक्तिगत विषय भएकाले व्यक्तिगत रुपमै अघि बढ्नुपर्ने बताइन्।
उनले भनिन्, ‘ती कुराकानी व्यक्तिगत रुपमा भएका छन्। काउन्सिलले कसैसँग पैसा खाएर पास गराउँदैन। दुवैले आज निवेदन समेत दिनुभएको छ। त्यस के गर्ने भनेर छलफल गर्दैछौँ’
बरालले पास्कल रोकाया नाम गरेको व्यक्तिले आफ्नो फेसबुक ह्याक गरी ती विद्यार्थीसँग पैसा मागेको बताइन्। उनले त्यस विषयमा आफूले साइबर क्राइममा समेत उजुरी दिएको बताएकी छिन्।
यस्तो छ फेसबुक च्याट