काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई अनिवार्य रुपमा ज्वरो (फिबर) क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ।
फिबर क्लिनिक चलाउँदा अन्य बिरामीसँग सम्पर्क नहुने र भीडभाड कम हुने भएकाले छुट्टै क्लिनिक चलाउन भनिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले क्लिनिकमा आएका मानिसमा ज्वरो देखिए उनीहरुलाई तुरुन्त आइसोलेसनमा राखि कोरोना परीक्षणका लागि नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने,‘ज्वरोको बिरामीलाई प्रयोगशाला होइन, परीक्षणका लागि नमुना पठाउने हो। बिरामीलाई भने आइसोलेसन राख्न निर्देशन दिइएको छ।’
मन्त्रालयले अस्पतालमा शल्यक्रियाका लागि मिति र समय लिएका बिरामी जसको शल्यक्रिया केही समयपछि गर्दा समस्या हुँदैन भने यस्ता शल्यक्रिया स्थगित गर्न पनि अनुरोध गरेको छ।
समय र मिति लिइएका शल्यक्रियालाई चिकित्सकीय भाषामा इलेक्टिभ सर्जरी भनिन्छ।
‘शल्यक्रिया गरेपछि आइसियुमा राख्नुपर्ने हुन्छ। तत्काल नगर्दा फरक नपर्ने शल्यक्रिया रोक्दा आइसियु खाली हुन्छ र यदि संक्रमण फैलिहालेमा उपचार गर्न सहज होस भनेर यस्तो अनुरोध गरिएको हो,’ प्रवक्ता देवकोटाले भने।
उनले नियमित फलोअपका लागि अस्पताल आउने बिरामी वा यो महिना फलोअपको समय पाएका बिरामी जो तत्काल नआएमा समस्या हुँदैन उनीहरुलाई पनि सकेसम्म केही समयपछि मात्र अस्पताल आउन अनुरोध गरे।
औषधि गराइरहेका बिरामी संक्रमण उच्च जोखिममा हुन्छन्। उनीहरु अस्पताल आउँदा भीडभाड बढ्ने भएकाले यस्तो अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अस्पतालले नियमित ओपिडि पछि सञ्चलन गर्दै आएको पेइङ ओपिडी बन्द गर्न, नियमित होलबडी चेकअप रोक्न पनि अस्पताल, स्वास्थ्य संस्था र सर्वसाधारणलाई सुचित गराएको छ।
त्यसैगरी, बाहिरी देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा १४ दिन घरमा क्वारेन्टाइन बस्न पनि अनुरोध गरेको छ।
प्रवक्ता देवकोटाले भने,‘बाहिरी देशबाट आएको व्यक्तिले घरमा १४ क्वारेन्टाइन बस्नुपर्छ। उसलाई संक्रमण भएको भए अन्यमा फैलन नपाउआृस भने त्यसो गर्नु उसको जिम्मेवारी हो। त्यसो नगरी बाहिर निस्कनु भनेको अपराध जस्तै हो।’