काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप एक जना युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ। उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत छन्।
अस्पताल स्रोतका अनुसार उनी युनाइटेड अरब इमिरेट्स (युएई)बाट आएका ३२ वर्षिय नेपाली हुन्।
नेपाल आएको पाँचौं दिन मात्र उनी अस्पताल पुगेका थिए। स्वास्थ्यखबरलाई प्राप्त जानकारी अनुसार उनी चैत ६ गते (मार्च १९) मा युनाइटेड अरब इमिरेट्स (युएई)बाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए।
त्यसपछि उनी कहाँ गए? कति जनालाई भेटे? घरमा सेल्फ क्वारेन्टाइनमा बसे वा बसेनन्? यो विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक विवरण संकलन गरिरहेको छ।
स्रोतका अनुसार उनी १० गते सोमबार सरुवा रोग अस्पतालमा भर्ना भएका हुन्। अस्पतालमा भर्ना भएका उनको मंगलबार राती नमुना परीक्षणका क्रममा कोरोना संक्रमण भेटिएको हो।
अस्पतालले उनको लक्षण र संक्रमित देशबाट आएको आधारमा आइसोलेसनमा राखि कोरोना परीक्षणका लागि नमुना पठाएको थियो।
उनी नेपाल आएर अस्पताल पुग्नबीचको समयमा कहाँ कहाँ पुगे,को कोसँग भेट गरे भन्नेबारे मन्त्रालयले सोधखोज गरिरहेको बताइएको छ।
उनी एयर अरेवियाको उडानबाट युएईको सारजाँहबाट नेपाल आएको बताइएको छ।
सोही दिन नेपालमा दुबईबाट तीनवटा विमान आएको थियो। फ्लाई दुबईको दुई वटा र नेपाल एयरलाइन्सको एक वटा विमान नेपाल आएको थियो। फ्लाई दुबईको एफजेट ५७१ बिहान ८ बजेर १५ मिनेटमा र एफजेट ५७५ साँझ ६ बजेर १५ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो। यस्तै नेपाल एयरलाइन्सको फ्लाइट नम्बर आरए २३० विमान बिहान ९ बजेर ५५ मिनेट जाँदा अवतरण गरेको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार बेलुका नमुना परीक्षणमा कोरोना संक्रमण देखिएको जनाएको छ। यद्यपी यो जानकारी बुधबार मात्र सार्वजनिक गरिएको हो।
योसँगै नेपालमा कोरोना संक्रमण ३ जनामा देखिएको छ। गत माघ ८ गते चीनको बुहानबाट आएका विद्यार्थीमा संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।
दोस्रो चैत ९ गते फ्रान्सबाट आएकी १९ वर्षिया युवतीमा संक्रमण देखिएको थियो। हाल उनको टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।